Comments Add Comment

मोरङका अगुवा किसानको लक्ष्य-तरकारी खेतीबाटै कार

विचौलियाको कमिसन खेल अन्त्य गर्ने अभियानमा

१ माघ, विराटनगर । मोरङ कटहरीका कोपिन्द्र सिंहले स्नातकसम्म पढेका छन् । ३४ वसन्त पार गर्दै गर्दा उनले सरकारी/निजी कुनै क्षेत्रको जागीरमा आफूलाई अल्झाएनन् । बरु, तरकारी खेतीको स्वरोजगारीले सिंहलाई लखपति बनाएको छ ।

उनले व्यावसायिक खेती थालेको पाँच वर्ष बित्यो । त्यसअघिका चार वर्ष उनले मलेसियामा बिताए । फर्केपछि दुई कठ्ठामा तरकारी खेती थाले । गत वर्ष आठ लाख कमाए, यस वर्ष १० लाखको ‘टार्गेट’ बनाएका छन् । खेतीको क्षेत्रफल पनि चार बिघा पुर्‍याएका छन् ।

उनले बनाएको एक तले पक्की घर व्यावसायिक खेतीकै उपज हो । र, आफ्ना उत्पादन बजार पुर्‍याउन गाडी खरिद गरेका छन् ।

टमाटरको एउटै लहरामा २५ किलो र एउटै बन्दाकोबी साढे चार किलोसम्म फल्छ । पूर्वाञ्चल र जिल्लास्तरीय राष्ट्रपति पुरस्कार पाइसकेका छन् । टमाटर खेतीमा जिल्लाकै उत्कृष्ट किसानको उपाधि तीन पटक जितिसकेका छन् ।

गत साउन अन्तिम साताको बाढीले उनको तरकारी खेती नष्ट गरिदियो । तैपनि, उनले हरेस खाएका छैनन्, गत वर्षभन्दा बढी आम्दानी लिने योजनामा दृढ देखिन्छन् ।

उनी मोरङका अगुवा कृषक भएको प्रमाण खोज्न टाढा जानु पर्दैन । उनकै पहलमा जिल्ला कृषि विकास कार्यालयले निर्माण गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका ब्लक हेरे पुग्छ ।

एक सय १० हेक्टरको ब्लकमा दुई सय ४० किसानले सामूहिक तरकारी खेती गर्छन् । टमाटर, बन्दाकोबी, मुला, आलु, मकै, साग, बैगुनलगायत उत्पादन हुन्छन् ।

‘विदेशमा अत्यधिक दुःख गरियो,’ उनी भन्छन्, ‘तर, पैसा कमाउन सकिएन । यहाँ त्यसभन्दा कम दुःखमै राम्रो कमाइ भइरहेको छ ।’

हुन पनि, मलेसिया बसाइका चार वर्षले नै उनलाई मिहिनेत सिकाएको/बुझाएको हो । त्यही सिकाइको उपज हो, उनी आफूजस्तै किसानलाई व्यावसायिक खेतीका लागि संगठित गर्दैछन् । र, राज्यलाई किसानमैत्री बन्न दबाब दिइरहेका छन् ।

‘यहाँ दुई दिन पनि जग्गा खाली बस्दैन,’ उनी भन्छन्, ‘केन्द्रीयस्तरबाटै सरकारले यस क्षेत्रलाई माया गरे मोरङ तरकारीमा आत्मनिर्भर बन्ने पक्का छ ।’

अब उनको एउटै सपना छ, तरकारीकै कमाइबाट कार चढ्ने । भन्छन्, ‘तर, यहाँ बिक्रीको समस्या छ, विचौलियाका कारण किसानले उचित मूल्य पाएका छैनन् । विचौलियाको कमिसनको खेल अन्त्य गर्न पाए हरेक किसानले कार चढ्ने हैसियत राख्छन् । हामी त्यही अभियानमा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment