Comments Add Comment

तारूकामा गाेरू जुधार्इ, हेर्नुस् १५ तस्वीर

१ माघ, नुवाकोट । माघे संक्रान्ति पर्वका अवसरमा सोमबार स्थानीय तारुका, वेत्रवाती र पञ्चकन्यामा चालीस हल गोरु जुधाइएको छ ।

हरेक वर्ष किसानले पालेका गोरु प्रतिस्पर्धाअन्तर्गतको ‘गोरु जुधाई प्रतियोगिता’लाई यस वर्ष पनि निरन्तरता दिइएको हो । हिउँदमा फुर्सदका समयमा खेतबारीमा गोरु जुधाइने पुरानै रीति भए पनि बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएका बेला भाञ्जालाई मनोरञ्जन दिलाउन गोरु जुधाइएको भनाइ छ ।

बझाङ्गी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर तारुकास्थित मामाघरमा आउँदा विसं १८८७ मा गोरु जुधाएर मनोरञ्जन दिएको बताइन्छ ।

‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा २० हल गोरु प्रतिस्पर्धा गराइएको माघे संक्रान्ति गोरु जुधाइ संरक्षण संस्थाका अध्यक्ष शिवबहादुर अधिकारीले जानकारी दिए । प्रतिस्पर्धामा विजेता भएका गोरुधनीलाई पाँच हजार र उपविजेतालाई तीन हजारसहित प्रमाणपत्र दिइयो ।

गोरु जुधाइ प्रतियोगिताको एमाले महासचिव ईश्वर पोखरेलले उद्घाटन गरेका थिए । उनले सस्कृति र परम्पराका लागि स्थानीयवासीबाट चलाउँदै आएको मेलालाई आगामी दिनमा सरकारको पहलमा सञ्चालन गरिने बताए ।

 

मकर संक्रान्तिका अवसरमा नुवाकोट र रसुवाको संगमस्थल वेत्रावती र पञ्चकन्या, घलेभञ्ज्याङमा पनि दश-दश हल गोरु जुधाइएको छ ।

नेपाल र भोटबीच भएको युद्धअन्तर्गत विसं १८४९ मा वेत्रगंगाको नदी किनारमा भएको वेत्रावती सन्धिपछि नेपाली पक्षको जीतको उत्सवमा तत्कालीन समयमा गोरु जुधाइएको स्मरणमा सामरिक महत्व कायम राख्न स्थानीयवासीको पहलमा जोरु जुधाइलाई निरन्तरता दिइएको गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुरज लबटले बताए ।

 

पञ्चकन्यामा जुधाइने गोरु बाइसे चौबीसे राज्य सञ्चालनका समयमा घले राजाहरुले मनोरञ्जन लिन ‘वान भर्सेज वान’को आधारमा नछुट्टिएसम्म जुधाइने गोरुको बीमासमेत गरिएको थियो । अघिल्ला वर्षको तुलनामा गोरु पाल्ने किसानको संख्या घट्दै गए पनि प्रतियोगितामा भने गोरुको संख्या बढ्दै गएको छ ।

वर्षभरी खेती गर्न समेत गोरु पाल्न छाडेका किसानले मकर सक्रान्तिमा प्रतिष्पर्धा गराएर उत्कृष्ट गोरुधनी बन्न पौष्टिकयुक्त दाना, कुखुराको अण्डा, चना खुवाएर गोरु जुधाइमा सहभागी हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment