Comments Add Comment

डोल्पालीलाई सडक नासो बुझाउँदै सेनाः केही दिनमै उद्घाटन गरिने

दुनैसम्म राष्ट्रिय सडक जोड्न ३ किलोमिटर बाँकी

१ माघ, डोल्पा । दुर्गम हिमाली जिल्ला डोल्पाको दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिन अब तीन किलोमिटर मात्रै बाँकी रहेको छ ।

जाजरकोट-डोल्पा सडकखण्ड अन्तर्गत श्रीविण्डे-त्रिपुराकोट खण्डको निर्माण कार्य नेपाली सेनाले तीब्र रुपमा अघि बढाएपछि डोल्पालीको सडक सपना पूरा हुने भएको हो ।

जाजरकोट-डोल्पा सडकखण्डको कुल लम्बाई ११७ दशमलम ७ किलोमिटर सडकखण्ड मध्ये ११४ दशमलव ७ किलोमिटर सडकको निर्माण कार्य सम्पन्न भइसकेको छ ।

डोल्पाको दुनैसम्म सडक जोड्नको लागि श्रीविण्डे-त्रिपुराकोट खण्डको तीन किलोमिटर मात्रै निर्माण कार्य बाँकी रहेको जाजरकोट-डोल्पा सडक निर्माण कार्यदलका प्रमुख, कर्णेल विश्वबन्धु पहाडीले जानकारी दिए ।

‘अहिले जाजरकोट-डोल्पा सडकखण्डको श्रीविण्डे-त्रिपुराकोट खण्डमा सडक निर्माण कार्य भइरहेको छ,उक्त खण्डमा भीर पहरायुक्त भएकाले निर्माण कार्यमा चुनौती भएपनि सेनाले ज्यानको बाजी लगाउँदै काम गरिरहेको छ ।’ पहाडीले भने ।

उक्त खण्डका श्रीविण्डे,सिउरेनी,चिप्ले,चुँ गाड लगायतका दर्जनौ स्थानहरुमा कम्प्रेसर मेसिन राखेर काम तीब्र पारिएको कर्णेल पहाडीले बताए ।

सडक खण्डकै धाउनेमा निर्माणबेश खडा गरेर सेनाले युद्धस्तरमा काम गरिहेको भन्दै कर्णेल पहाडीले अब छिट्टै डोल्पाली जनतालाई सडक कोसेली बुझाउने बताए ।

‘अब माघ दोस्रो साता भित्रै रुकुम-डोल्पा सिमानामा पर्ने त्रिवेणी बजारदेखि त्रिपुरासुन्दरी नगरपालिकाको श्रीविण्डेसम्मको सडकखण्ड उद्घाटन गर्ने तयारीमा छौँ,उद्घाटन लगत्तै जीप,ट्रयाक्टर लगायतका हलुका यातायातका साधन सञ्चालन गरेर जनतालाई राहत दिने लक्ष्य छ ।’ उनले भने ।

नागरिक भन्छन्ः सेनाले कहिल्यै नबिर्सने नासाे दियो

सडक निर्माणपछि यातायातको असुविधामा दैनिक उपभोग्य सामग्री ढुवानीदेखि बिरामी पर्दा उपचारका लागि सुगममा लैजान समेत सहजहुने डोल्पालीको विश्वास छ ।

त्रिपुरासुन्दरी नगरपालिका-५ का मोती उपाध्यायले सदरमुकाम दुनैसम्म गाडी पुर्‍याउने काम अन्तिम चरणमा पुगेको भन्दै खुसी व्यक्त गरे ।

ज्यान धरापमा पार्दै विशाल चट्टान छिचोलेर सेनाले डोल्पालीका लागि कहिल्यै नभुल्ने नासोका रुपमा सडक बुझाउन लागेको भन्दै उपाध्यायले खुसी व्यक्त गरे ।

‘सदरमुकाम दुनैदेखि छ घण्टामा खदाङ पुगिन्छ,अव तराई झर्नका लागि हप्तौसम्म जहाज कुर्नु पर्ने बाध्यता पनि हट्दै छ,’ उपाध्यायले खुसी व्यक्त गर्दै भने,’खदाङसम्म यातायात सञ्चालनमा ल्याइएपछि दुई दिनमै नेपालगञ्ज पुगिन्छ, डोल्पालीको लागि सबैभन्दा ठूलो खुसीको कुरा हो, यो सबै श्रेय नेपाली सेनालाई जान्छ ।’

जाजरकोट-डोल्पा सडकखण्डको रुकुम डोल्पा सिमानामा पर्ने त्रिवेणी बजारसम्म गत ०७३ साउमा प्रधान सेनापती राजेन्द्र क्षेत्रीद्वारा उद्घाटन गरेर यातायात सञ्चालनमा ल्याइएको थियो ।

गोतामकोटदेखि त्रिवेणीसम्म यातायात सञ्चालनमा ल्याइएपछि तल्लो डोल्पाका जनताहरु प्रत्यक्ष लाभान्वित भएका छन् भने दैनिक उपभोग्य वस्तुहरु ढुवानीमा समेत सहज भएको मुड्केचुला गाउँपालिकाका स्थानीय सरोज थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment