Comments Add Comment

यी हुन् विश्वमा सबैभन्दा धेरै स्मार्टफोन बेच्ने ५ कम्पनी

विश्वमा अहिले यस्ता मानिसहरु निकै कम होलान् जसले स्मार्टफोन प्रयोग गर्दैनन् । अपवादबाहेक स्मार्टफोन आज विश्वका अधिकांश मानिसहरुका लागि आधारभूत आवश्यकता जस्तै बनेको छ । प्रविधिको विकास सँगसँगै मोबाइल फोन अब फोन मात्र रहेन, स्मार्टफोन बनेको छ ।

यस्तोमा स्मार्टफोन कम्पनीहरुले चम्किलो व्यापार गरिरहेका छन् र अर्बौँ कमाई गरिरहेका छन् । विश्वमा सबैभन्दा धेरै स्मार्टफोन व्यापार गर्ने टप फाइभ कम्पनीहरु चाहिँ यी हुन्ः

१. सामसुङः दक्षिण कोरियाली कम्पनी सामसुङले विश्व स्मार्टफोन बजारमा पहिलो नम्बर ओगटेको छ । आफ्ना स्मार्टफोन बनाउने मात्र होइन सामसुङले विश्वमा उत्पादित धेरै स्मार्टफोनहरुका लागि चिप तथा स्क्रिन समेत निर्माण गरिदिन्छ ।

विश्व स्मार्टफोन बजारमा सामसुङको २३.३ प्रतिशत हिस्सेदारी छ । सन् २०१७ मा सामसुङले आफ्नो कारोबार अघिल्लो वर्षभन्दा १.४ प्रतिशतले बढोत्तरी गर्यो ।

सामसुङले एस सिरिज, नोट सिरिजका फ्लागसीप स्मार्टफोनका साथै ए सिरिज र जे सिरिजलगायतका मध्यम मूल्यका स्मार्टफोन उत्पादन गर्छ । सन् २०१७ मा सामसुङले ७ करोड ९८ लाख गोटा स्मार्टफोन बेच्न सफल भयो ।

२. एप्पलः सामसुङपछि विश्वमा सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनी चाहिँ एप्पल हो । विश्व स्मार्टफोन बजारमा एप्पलको १२ प्रतिशत हिस्सा रहेको छ । कम्पनीले गत वर्ष विश्व बजारमा ४ करोड १० लाख आइफोन बेच्यो भने अघिल्लो वर्षभन्दा डेढ प्रतिशत बढि स्मार्टफोन बेच्न सफल भयो ।

आइफोन मात्र होइन, एप्पलले उत्पादन गरेका ल्यापटप, म्याकबुक, आइप्याड सबै उच्चस्तरीय तथा महंगो मूल्यका हुने गरेका छन् । एप्पलले गत नोभेम्बरमा आफ्नो पछिल्लो स्मार्टफोन आइफोन एक्स लञ्च गरेको थियो । जुन यति धेरै लोकप्रिय भएको छ की एप्पलले माग अनुसार उत्पादन गर्न नै सकिरहेको छैन ।

३. हुवावेः चिनिया स्मार्टफोन कम्पनी हुवावेले विश्व स्मार्टफोन बजारको ११.३ प्रतिशत हिस्सा ओगटेको छ । सन् २०१७ मा उसले ३ करोड ८५ लाख स्मार्टफोन बेच्यो । कम्पनीका प्रियिमम स्मार्टफोन पी १० सँगै मध्यम मूल्यका स्मार्टफोन निकै बिक्री हुने गरेका छन् । कम्पनीले स्मार्टफोनसँगै कम्प्युटर, ट्याबलेट तथा ब्रोडब्याण्ड डिभाइस पनि बनाउँदछ ।

४. ओप्पोः स्मार्टफोन बिक्रीको मामिलामा चौथो नम्बरमा छ, चिनियाँ स्मार्टफोन ओप्पो । गत वर्ष कम्पनीले विश्व बजारमा २ करोड ७८ लाख स्मार्टफोन बेचेको छ ।

विश्व बजारमा यसको हिस्सा ८ दशमलब १ प्रतिशत रहेको छ । यो कम्पनीले आफ्नो बजार तीव्र गतिमा विस्तार गरिरहेको छ ।

५. शाओमीः चिनिया कम्पनी शाओमी स्मार्टफोन बिक्रिको हिसाबले पाचौ स्थानमा रहेको छ । गत वर्ष यसले विश्व बजारमा २ करोड १२ लाख गोटा स्मार्टफोन बेचेको छ । यसको बजार हिस्सा ६.२ प्रतिशत रहेको छ । शाओमीले स्मार्टफोनका अलावा ल्यापटप तथा अन्य उपभोक्रा इलेक्ट्रोनिक्स सामानहरुको पनि उत्पादन गर्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment