Comments Add Comment

राष्ट्रपतिमा दोहोरिने भण्डारीको इच्छा, खनाल पनि लविङमा

पूर्ण साक्षर जिल्लामा ल्याप्चे नै ल्याप्चे, पुनर्निर्माण थालिएकै बस्तीको बिजोग

२ माघ, काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित सबैजसो पत्रिकाहरुमा कांग्रेसभित्रको किचलो सम्वन्धी समाचारले नै प्राथमिकता पाएको छ । नयाँ पत्रिका, अन्नपूर्ण, राजधानी र जनतापोष्ट दैनिकले फरक फरक शीर्षकमा देउवा र पौडेल पक्षबीचको तिक्ततालाई समाचार बनाएर छापेका छन् ।

त्यसबाहेक चुनाव सम्पन्न भएको ४० दिन वितेपनि अझैसम्म परिणाम सार्वजनिक नभएको, पुनर्निर्माण महाअभियान थालिएकै बस्तीको विजोक रहेको, राष्ट्रपति उपराष्ट्रपति बन्न नेताहरुले लबिङ थालेका समाचारहरु पनि आजको पत्रिकाका पहिलो पृष्ठका समाचार हुन् ।

अन्नपूर्ण पोष्ट दैनिक ‘कांग्रेसमा तिक्तता’ शीर्षकको समाचारमा लेख्छ- आसन्न राष्ट्रियसभा चुनावको रणनीतिबारे छलफल गर्न बसेको सत्तारुढ दल कांग्रेसका शीर्ष नेताहरूको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्न दबाव दिएको समाचार लेखेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार कांग्रेस शीर्ष नेताबीच राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामबारे छलफल गर्न बसेको बैठकमा आफूले कांग्रेस विधानविपरीत गठन भएको संसदीय समिति र कार्यसम्पादन समिति खोरजीको माग गरेको वरिष्ठ नेता पौडेलले बताएका छन् ।

‘मलाई विश्वास छ, सभापतिजीले यो कार्य चाँडोभन्दा चाँडो गर्नुहुनेछ’, पौडेलले अन्नपूर्णसँग भनेका छन्, ‘मेरो माग केन्द्रीय समिति बैठक तत्काल बोलाएर कांग्रेसलाई एकढिक्कामा राख्नुपर्ने पनि छ ।’

कांग्रेस विधानमा संसदीय समिति बढीमा १४ सदस्यीय हुने प्रावधान रहे पनि अहिले २४ जना र कार्यसम्पादन समितिमा २९ जना छन् ।

रामचन्द्र र शशांककै सहमतिमा सदस्य थपः देउवा

यसैगरी नयाँ पत्रिकासँग पौडेलले भनेका छन्, ‘निर्वाचनको परिणामपछि कांग्रेसका करेक्सन जरुरी देखिएको छ, यस विषयमा गम्भीर रुपमा कदम चाल्नुपर्ने विषय सभापतिसँग राखेको छु । कार्य सम्पादन समिति र संसदीय समिति दुबै विधानविपरित भयो । यसलाई सके सुधार गरौं होइन भने विघटन गरेर अर्कैै बनाऊँ भन्ने प्रस्ताव राखेको छु ।

तर कांग्रेस सभापति देउवाले भने पौडेल र महामन्त्री शशांक कोइरालाकै सहमतिमा कार्यसम्पादन समिति तथा संसदीय समिति सदस्य थप गरिएको जवाफ फर्काएको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ । नयाँ पत्रिकाका अनुसार देउवाले भनेका छन्, ‘तपाईंहरुकै समेत सहभागीतामा सदस्य थपिएको हो । तपाईंहरुले पनि थपौं भन्नुभयो अनि थपिएको हो ।’

कान्तिपुरका अनुसार पौडेलको कुरा सुनेर देउवा झोक्किएका थिए । समाचारका लेखिएअनुसार पौडेलको आक्रोशपछि देउवाले झोक्किँदै भनेका थिए, ‘तपाईं नै यसलाई पनि राखिदे, अर्कोलाई पनि राखिदे भन्ने, अनि मलाई विधानविपरित भनेर आरोप लगाउने ?’

देउवाविरुद्ध पौडेल, सिटौला र सिंहको एलाइन्स !

जनता पोष्टले भने तेह्रौं महाधिवेशनका बेला फरक फरक गुटमा रहेका नेतात्रय रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसी एक भएर पार्टी सभापति शेरबहादुर देउवालाई एक्लाउन खोजेपछि कांग्रेसभित्र राजनीतिक तरंग पैदा भएको समाचार छापेको छ । पार्टीभित्र कमजोर प्रतिपक्षका रुपमा रहेका रामचन्द्र पौडेलसँग आफ्ना दुई बलिया आधार सिटौला र केसीको काँध मिल्ने छलफल भएपछि देउवा कमजोर बनेको समाचारमा उल्लेख छ ।

समाचारमा लेखिएको छ, ‘आफ्नै र इतरगुटका नेताले घेराबन्दी गर्न थालेपछि सभापति देउवाले पनि आफ्नो सहज परिस्थिति सृजना गर्ने रणनीतिक अभ्यास थालेका छन् ।’

राष्ट्रपति उपराष्ट्रपतिको लबिङ

राजधानी दैनिकले राष्ट्रपतिमा दोहोरिने विद्या भण्डारीको इच्छा रहेको र एमाले वरिष्ठ नेता झलनाथ खनाल पनि राष्ट्रपति बन्ने लविङमा रहेको समाचार छापेको छ ।

राजधानी लेख्छ- वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन दुवैले फेरि एक कार्यकाल दोहोरिने इच्छा देखाएका छन् । स्रोतका अनुसार दुवै जनाले दोहोरिने इच्छासहित आन्तरिक लबिङ तीब्र पारेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई दोहोर्‍याउने पक्षमा सकारात्मक देखिएका छन् । तर, दुई पार्टीबीच पार्टी एकताका क्रममा नेताहरूको व्यवस्थान गर्ने क्रममा नयाँ राष्ट्रपति-उपराष्ट्रपतिका साथै सभामुख-उपसभामुख परिवर्तन हुने सम्भावना बढी छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले नेता झलनाथ खनालले राष्ट्रपतिका लागि इच्छा देखाएको र खनालले राष्ट्रपतिका लागि चासो राख्दै गृहकार्य अगाडि बढाएको समाचारमा उल्लेख छ ।

निर्वाचन परिणाम कहिले ?

कान्तिपुर दैनिकले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भएको चालीस दिन बितिसक्दा पनि ताजा जनमतअनुसारको मत परिणाम सार्वजनिक नभएको समाचारलाई प्रमुख प्राथमिकताका साथ छापेको छ ।

सरकारले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशकबो अस्थायी केन्द्र नतोकिदिँदा सातवटै प्रदेशसभाको समानुपातिकतर्फबाट निर्वाचित हुने २ सय २० जना सदस्यको परिणाम आयोगले रोकिराख्नु परेको छ । प्रदेश प्रमुख नियुक्तिमा ढिलाईले राष्ट्रियसभाको घोषित निर्वाचन नै प्रभावित हुने हो कि भन्ने चिन्तासमेत पैदा भएको छ । ‘निर्वाचन परिणाम रोकिए पनि प्रदेश प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोक्न प्रधानमन्त्री शेरबहादुर देउवा पूरै उदासिन देखिएका छन्,’ कान्तिपुरको समाचारमा लेखिएको छ ।

पूर्ण साक्षर जिल्लामा ल्याप्चे नै ल्याप्चे

कान्तिपुरमा धादिङलाई पूर्ण साक्षर जिल्ला घोषणा गरिए पनि ल्याप्चे लगाउनेहरु धेरै भएको समाचारलाई पहिलो प्राथमिकताका साथ स्थान दिइएको छ । समाचारमा लेखिएको छ- अढाइ महिनाअघि जिल्लामा हाजिर हुँदा सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले धादिङ पूर्ण साक्षर भइसकेको थाहा पाएका थिए । त्यसैअनुसार जिल्लाबासी धेरथोर लेखपढ गर्न सक्ने होलान् भन्ने उनको अनुमान थियो । तर, बेनीघाट ब्रुसबाङका चेपाङहरुलाई नागरिकता र न्यानो कपडा वितरण गर्न जाँदा भने उनी त्यहाँको अवस्था देखेर तीनछक परे । राहत लिन आएका १ सय २५ चेपाङ युवामध्ये ९० जनाले ल्याप्चे नै लगाएर सामग्री बुझ्दा सहायक प्रजिअ ढकालले ‘पूर्ण साक्षर’ जिल्लाको वास्तविकता बल्ल थाहा पाए ।

ब्रुसबाङ बस्ती काकाकुल, सार्ने तयारी

धादिङको यहि बेनीघाट ब्रुसबाङको बस्ती पानी अभावमा काकाकुल बनेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले लेखेको छ । समाचारअनुसार सिंगै बस्ती नै सार्ने तयारी भइरहेको छ ।

चेपाङ समुदायको अवस्था बुझ्न विकट बस्ती ब्रुसवाङ पुगेको प्रजिअ श्यामप्रसाद भण्डारी, जिल्ला समन्वय समिति प्रमुख जगन्नाथ नेपाललगायतको टोलीसमक्ष स्थानीय  फूलमाया चेपाङले भनेकी छन्,  ‘काम गर्न पति मनाङ गएका बेला सुत्केरी भएँ । सरसफाइ र लुगा धुन त परको कुरा, तीन दिनसम्म पानी पिउनसमेत पाइनँ । वृद्ध ससुराले दिनभर लगाएर ल्याएको १ गाग्री पानीले १५ दिन पुर्‍याएँ ।’

फूलमायाले थपिन्, ‘बिरामी भएर पानी बोक्न नसक्दा ११ दिनसम्म मुखमा पानी परेन । छिमेकीलाई पैंचो तिर्छु भनेर पानी ल्याउन भनें । निको भएपछि पेप्सीको बोतलमा पानी ल्याएर पैंचो तिरें ।’

समाचारमा लेखिएको छ- यो पीडा फूलमायाको मात्र होइन, दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ को विकट बस्ती ब्रुसवाङका चेपाङ समुदायका ३६ घरको हो । गाउँको अवस्था अवलोकन गरेपछि प्रजिअ नेतृत्वको सरकारी टोली चेपाङ बस्ती सार्न उपयुक्त हुने निष्कर्षमा पुगेको छ ।

पुनर्निर्माण थालिएकै बस्तीको बिजोग

बुङमतीमा पुनर्निर्माण महाअभियान सुरु गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ।

नागरिक दैनिकले भूकम्प दिवसको सन्दर्भमा पुनर्निर्माण महाअभियान थालिएकै बस्तीको बिजोग रहेको समाचारलाई प्राथमिकताका साथ छापेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नै पुगेर भूकम्प पुर्निर्माण महाअभियान सुरु गरेको ललितपुरको ऐतिहासिक बुङमती अहिले पनि भग्नावशेषकै रुपमा रहेको समाचारमा उल्लेख छ । आफ्नै बुताले घर बनाउन नसक्नेहरु अझै पनि टहराकै बासमा छन् । धेरै मन्दिर, पाटीपौवा र ऐतिहासिक संरचना पुनर्निर्माण हुन सकेका छैनन् ।

बुङमतीका प्रेमभक्त मालीले नागरिकसँग भनेका छन्, ‘आफ्नै गाउँमा प्रधानमन्त्रीजस्ता व्यक्ति आएर पुनर्निर्माण सुरु गर्दा निकै हर्ष पलाएको थियो तर यस्तो होला भन्ने सोचेका पनि थिएनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment