Comments Add Comment

यो विमानस्थल हो कि थोत्रा जहाज थन्क्याउने ठाउँ ?

थोत्रे विमानवापत अग्नि एयरले ४० लाख बुझाउन बाँकी

२ माघ, काठमाडौं । त्रिभुवन विमानस्थलको पूर्वी क्षेत्रस्थित हेलिप्याडनजिकै तीन वटा जहाज कालोपत्रे छुँदै लहरै तेर्सिएका छन् । धुलाम्य र लेउ लागेका ती जहाज हुन्, अग्नि एयरका । निजी क्षेत्रको उक्त जहाज कम्पनी बन्द भएको सात वर्ष पुग्दैछ । वर्षौंदेखि उडान नगरी थन्केर बसेका जहाजले  साँघुरो  विमानस्थललार्इ झनै साँघुरो बनाइदिएकाे छ ।

विमानस्थलको आन्तरिक टर्मिनल भवनभन्दा भित्र छिरेपछि बुद्ध एयरको ह्यांगर आइपुग्छ । त्यही ह्यांगर नजिकै यती एयरलाइन्सको अस्थिपञ्जर मात्रै बाँकी रहेको साब-३४०बी जहाज देख्न सकिन्छ । वर्षौंदेखि स्थानान्तरण खोजिरहेको उक्त जहाज ०६१/६२ देखि त्यहाँ ग्राउन्डेड छ ।

अग्निका ९ एन-एआईपी (अल्फा इन्डिया पापा) र ९एन-एआईए (अल्फा इन्डिया अस्कर) सन् २०११ देखि ग्राउन्डेड भएका हुन् । अग्निकै अर्को जहाज पनि सोही बेलादेखि ग्राउन्डेड छ ।

ती सबै जहाज वर्षायाममा लेउ लागेर हरियै हुन्छन् । वर्षात्मा मौलाएका झारहरु जहाजको उचाइसँग प्रतिस्पर्धा गरिरहेका देखिन्छन् । हिउँद लागेसँगै लेउ हराउँदै जान्छ, झार सुक्छन् र धुलो बढ्दै जान्छ ।

मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा थोत्रा जहाज यत्रतत्र छरिँदा कति शोभनीय देखिएला ? नियामक निकायहरुप्रति जोकोहीको मनमा उठ्ने प्रश्न हो यो

अग्नि एयरका डोर्नियर जहाज भने सिम्रिक एयरलाइन्सले खरिद गरेको थियो । कम्पनी टाट पल्टेपछि उड्न र बिक्रीसमेत हुन नसकेका तीनै जहाज अब ‘स्क्र्याप’ गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

सन् २०१२ तिर विमानस्थलमा १० वटा थोत्रा जहाज यसरी नै अलपत्र थिए । अहिले संख्या घटेको छ । तर, जहाज थोत्रिएपछि विमानस्थलमै थुपार्ने प्रवृत्तिमा भने कुनै सुधार आएको छैन ।

कुरुप बनाउने कारक

मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा थोत्रा जहाज यत्रतत्र छरिँदा कति शोभनीय देखिएला ? नियामक निकायहरुप्रति जोकोहीको मनमा उठ्ने प्रश्न हो यो ।

अन्यत्र व्यवस्थापन गर्न नियामक निकायले सम्बन्धित कम्पनीलाई बाध्य गराउन नसकेका कारण पनि वर्षौंदेखि अलपत्र छन्, यी वायुयान ।

यती एयरलाइन्सले उक्त जहाज थन्क्याएवापत विमानस्थललाई शुल्क बुझाइरहेको छ । अग्नि एयरले भने जहाज थन्क्याएवापत तिर्नुपर्ने रकम ४० लाख पुगिसकेको छ

यसका कारण विमानस्थलको सौन्दर्यमा त असर परिरहेको छ नै, नियामक निकायकै कमजोरी उजागर भइरहेको छ । विमानस्थल प्रशासन उल्टै यसलाई ढाकछोप गर्ने प्रयासमा देखिन्छ । जस्तो- ती जहाजका कारण दैनिक कार्य सञ्चालनमा कुनै बाधा नआएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरको दाबी छ ।

तथापि, विमानस्थलको आन्तरिक टर्मिनलबाट भित्र छिरेका जोकोहीले अलपत्र परेका ती जहाज देख्न सक्छन् ।

यसकारण अलपत्र

यती एयरलाइन्सले उक्त जहाज थन्क्याएवापत विमानस्थललाई शुल्क बुझाइरहेको छ । अग्नि एयरले भने कम्पनी नै बन्द भइसकेका कारण शुल्क तिर्न सकेको छैन । उक्त कम्पनीले जहाज थन्क्याएवापत तिर्नुपर्ने रकम ४० लाख पुगिसकेको प्रवक्ता ठाकुर बताउँछन् ।

यी चार वटै जहाजलाई अन्यत्र व्यवस्थापन गर्न नसक्नुको कारण हो, तिनका मालिक विदेशी नागरिक र कम्पनी हुनु ।

अग्नि एयरले तीन वटै जहाज भाडामा ल्याएर सञ्चालन गरेको थियो । कम्पनी सञ्चालन हुन नसक्ने अवस्थामा पुगेपछि ती जहाजका मालिक पनि सम्पर्कमा आएका छैनन् ।

यतीले पनि अफ्रिकी नागरिकको साब-३४०बी जहाज भाडामा ल्याएर उडाएको थियो, जसले ९एन-एएचएल कलसाइन पाएको थियो, नेपाली आकाशका लागि । जहाज बिग्रेपछि त्यसका मालिकसँग विमानस्थल र यती एयरलाइन्स दुवैका अधिकारीले सम्पर्क गर्न नखोजेका होइनन् । तर, उनी सम्पर्कमा आएका छैनन् ।

सोही कारण ती जहाजलाई के गर्ने भन्ने अन्योल सिर्जना भएको छ । यती एयरलाइन्स सन् २०१२ मै उक्त जहाज विमानस्थलबाट हटाउन सहमत नभएको पनि होइन ।

छैनन् स्क्र्याप यार्ड र स्टोरेज

विज्ञहरुका अनुसार पुराना जहाजहरु थन्क्याउन स्क्र्याप यार्ड र स्टोरेज सेन्टर निर्माण गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यी दुवै संरचना छैनन् । र, विमानस्थल प्रशासनले थोत्रा जहाजलाई अन्यत्र स्थानान्तरण गर्न नसक्नुको कारण पनि त्यही हो ।

थोत्रा जहाज राख्न दिने नदिने भन्ने विषय त्रिभुवन विमानस्थलको अधिकार क्षेत्रमा पर्छ । विमानस्थल प्रशासनले भने यस पाटोमा खासै चासो दिएको पाइँदैन

यार्ड र सेन्टर निर्माण गर्न सक्दा विमानस्थलको सौन्दर्य पनि बचाउन सकिन्छ । अल्प र दीर्घकालीन दुवै शैलीका स्टोरेज सेन्टर निर्माण गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ ।

कुनै कम्पनी टाट पल्टेर सञ्चालनमा आउन नसके र जहाजहरु ग्राउन्डेड हुने अवस्था आएमा त्यस्ता केन्द्रमा राख्न सकिन्छ ।

थोत्रा जहाज राख्न दिने/नदिने भन्ने विषय त्रिभुवन विमानस्थलको अधिकार क्षेत्रमा पर्छ । विमानस्थल प्रशासनले भने यस पाटोमा खासै चासो दिएको पाइँदैन । यसरी नै जहाजहरु थुपार्न दिने हो भने विमानस्थलको ठूलो क्षेत्र कवाडी थुपार्ने थलो बन्ने जोखिम देखिन्छ ।

यसै पनि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भइसकेको छ । र, विस्तारका लागि परियोजना नै सञ्चालनमा छ । तर, स-साना व्यवस्थापनको पाटोमा विमानस्थल प्रशासन उदासीन देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment