Comments Add Comment

वीरगञ्ज नाका हुँदै तीन वर्षमा ५ हजार पर्यटक ओहोर-दोहोर


२ माघ, वीरगञ्ज । तीन वर्षमा देशकै मुख्य नाका मध्येको एक वीरगञ्ज हुँदै ५ हजार ६ सय ३७ जना पर्यटक आवतजावत गरेका छन् । विभिन्न देशका ५ हजार ६ सय ३७ जना पर्यटकहरु भारतको बाटो हुँदै नेपाल भित्रिएको र वीरगञ्ज नाका मार्फत भारत हुँदै देश फर्किएका हुन् । जसमा २ हजार १ सय ८७ जना महिला पर्यटक रहेका छन् ।

वीरगञ्जस्थित पर्यटक प्रहरी कार्यालयले दिएको तथ्यांकअनुसार वीरगञ्ज नाका हुँदै आर्थिक वर्ष ०७३/७४ मा ९ सय २७ जना पर्यटक नेपाल आएको र १ हजार ३४ जना पर्यटक नाका हुँदै स्वदेश फर्किएका छन् ।

त्यसैगरी ०७२/०७३ मा ६ सय १६ जना, ०७१/७२ मा १ हजार १ सय ५६ जना नाका हुँदै नेपाल आएका छन् भने क्रमशः ४ सय ९४ जना र १ हजार ४ सय १० जना बाहिरिएका छन् । भिसा नलाग्ने भएकोले भारतीय पर्यटकहरुको भने तथ्यांक नराख्ने गरेको अध्यागमन कार्यालय वीरगञ्जले जनाएको छ ।

तीन वर्षमा वीरगञ्ज नाका हुँदै विशेषगरी अमेरिका, चीन, रुस, जापान, बेलायत, फ्रान्स, जर्मनी, कोरिया, क्यानडा, मलेसिया, श्रीलंका लगायत १ सय ३० मुलुकका पर्यटकहरु नेपाल आउने-जाने गरेको पर्यटक प्रहरी कार्यालय वीरगञ्जका प्रमुख पर्यटक प्रहरी नायव निरीक्षक यादव गौतमले जानकारी दिए ।

वीरगञ्ज क्षेत्रमा बास बस्दैनन् पर्यटक

वीरगञ्ज नाका हुँदै तीन वर्षमा ५ हजारभन्दा बढी पर्यटक आहोरदोहोर गरेको भएपनि पर्यटकहरु वीरगञ्जमा कमै बास बस्ने गरेका छन् । ‘वीरगञ्ज नाका भएर आउने-जाने गरेपनि पर्यटकहरु वीरगञ्जमा खासै बस्दैनन् । यसले गर्दा वीरगञ्जलाई खासै लाभ हुन सकेको छैन,’ वीरगञ्जका प्रमुख पर्यटक प्रहरी नायव निरीक्षक गौतमले भने, ‘यस क्षेत्रमा पर्यटकहरुलाई एक-दुई दिन मात्रै रोक्न सकेपनि धेरै क्षेत्रले लाभ लिन सक्छ ।’

यस क्षेत्रमा भएका पर्यटकीय क्षेत्रको संरक्षण र प्रचार प्रसार आवश्यकताअनुसार हुन नसकेको कारण पर्यटकहरु यहाँ नबस्ने गरेको होटल व्यवसायीहरु बताउँछन् । पर्यटकीय सम्भावनाहरु प्रशस्त भएपनि त्यसको प्रचार प्रसार र संरक्षणको अभावमा पर्यटकहरुलाई लोभ्याउन नसकेको वीरगञ्ज उद्योग वाणिज्य संघका सदस्य एवं मकालु होटलका सञ्चालक मोहन प्रधान स्वीकार गर्छन् ।

‘हामीले अमलेखगञ्जमा हात्ती महोत्सवको सुरुवात गरेका थियौं विविध कारणले निरन्तरता दिन सकेनौं,’ उनले भने, ‘महागढीमाई, सिम्रौनगढ, भाथा धाम लगायत धार्मिक एवं ऐतिहासिक क्षेत्रमा पर्यटक पुर्‍याउन सकेका छैनौं । सबैभन्दा दुःखको कुरा बजेट आएर पनि काम हुन सकेको छैन ।’

वीरगञ्जलाई पर्यटकीय नगरी बनाउने अभियान जारी रहेको भन्दै उनले गोरो छाला भएकालाई मात्रै पर्यटक मान्ने चलनको अन्त्य हुनुपर्ने बताए । ‘हामी कहाँ गोरो छाला भएकालाई मात्रै पर्यटक मान्ने चलन छ, उनीहरुलाई र अरुलाई गर्ने व्यवहार फरक छ,’ व्यवसायी प्रधानले भने, ‘भारतीय र आन्तरिक पर्यटकलाई गर्ने व्यवहार पनि राम्रो हुनुपर्छ ।’

वीरगञ्जमा आएर बास बस्ने थोरै पर्यटकहरुले वीरगञ्जको भिश्वा, मकालु, पुजन लगायतका होटलहरुलाई रोज्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment