Comments Add Comment

जाँगरिला शिक्षक, जसले मौरी पालेर मनग्य कमाइ गर्छन्

२ माघ, गुल्मी । रोमनाथ अर्याल पेसाले शिक्षक हुन् । तर, रेसुंगा-१० सिमीचौरका उनी अहिले मौरीपालक किसानका रुपमा ज्यादा चिनिन्छन् ।

२०६३ सालमा ५५ सय रुपैयाँबाट उनले मौरी पालन थालेका थिए । अहिले ४५ वटा घारका मालिक हुन्, अर्याल । र, यसबाट मनग्य आम्दानी गर्ने कृषकका रुपमा चिनिन्छन् ।

अध्यापनबाट बाँकी बसेको समय सदुपयोग गर्ने इच्छाले उनी जिल्ला कृषि विकास कार्यालय पुगेका थिए । प्राविधिकहरुसँग उनले आफ्नो जमिनको भौगोलिक अवस्था वर्णन गरे ।

प्राविधिकहरुको एक टोली उनको आँगनमा पुग्यो । र, मौरी पालनका लागि उपयुक्त रहेको सुझाव दियो । त्यसपछि ०५८ सालमा उनले सातदिने तालिम लिए । त्यसयताका केही वर्ष सामान्य ढंगले मौरी पालन गरे । ‘व्यवस्थित रुपमै पाल्न थालेको करिब १० वर्ष भयो,’ अर्याल भन्छन् ।

उमेरले उनी ३४ वर्ष लागे । र, स्थानीय भगवती माविमा अस्थायी शिक्षक छन् । बीएड उत्तीर्ण गरेका छन् । मौरी पालनलाई जीवन्त बनाउने उद्देश्यले आफ्नो फार्मलाई नाम दिएका छन्, भगवती मौरी पालन विकास स्रोतकेन्द्र ।

महसँगै उनको प्राथमिकतामा मौरीको गोलो उत्पादन पनि छ । वर्षमा दुई वटा सिजनमा रानी मौरीसहितको गोलो उत्पादन गर्छन् । बर्सेनि तीन सयभन्दा बढी नयाँ मौरीको गोलो उत्पादन गर्छन् ।

एक घार मौरीको नयाँ गोलोको मूल्य ७५ सय रुपैयाँ लिने गरेका छन् ।

वर्षमा करिब दुई क्विन्टल मह उत्पादन गर्छन् । ‘महभन्दा गोलो उत्पादनमा जोड दिएको छु,’ उनी भन्छन् । खर्च कटाएर वर्षमा करिब पाँच लाख रुपैयाँ आम्दानी लिन्छन् ।

अहिले उनको परिचय मौरी पालक कृषकको मात्र छैन । विभिन्न ठाउँमा पुगेर यससम्बन्धि तालिम पनि दिने गरेका छन् ।

उनको घर बगैंचाले ढाकिएको छ । लिची, कटहर, आँप, मेवा लगाएका छन् । र, पोखरी खनेर माछा पालन पनि गरेका छन् । अहिले उनको पोखरीमा करिब दुई हजार माछा छन् ।

‘जसले धैर्यपूर्वक काम गर्छ, एक दिन सफल भएरै छाड्छ,’ उनी भन्छन्, ‘अरुको देखेरभन्दा आफूमै केही गर्नुपर्छ भन्ने इच्छाशक्ति मनैबाट भए कुनै पनि पेसामा सफल हुन सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment