Comments Add Comment

गाडीमा लुकाएर ल्याएकाे चितुवाको ३ थान छालासहित २ जना पक्राउ

१ माघ, आँबुखैरेनी । तनहुँको आँबुखैरेनीबाट चितुवाको छालासहित २ जना पक्राउ परेका छन् । आँबुखैरेनी गाँउपालिका ४ बाट मंगलबार दिउँसो चितुवाको ३ थान छाला र हड्डीसहित २ जना पक्राउ परेका हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी र इलाका प्रहरी कार्यालय आँबुखैरेनीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको छ ।

बा १५ च ७४५६ नम्बरको रातो स्कोरपियो गाडीलाई रोकेर खानतलासी लिने क्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट गाउँपालिका-२ का ३५ वर्षीय इटबहादुर घले र गाडी चालक नुवाकोट सुनखानी गाउँपालिका-३ का २८ वर्षीय भीमबहादुर तामाङ रहेको इलाका प्रहरी कार्यालय प्रमुख लोकबहादुर गुरुङले जानकारी दिए ।

उनकाअनुसार गाडीसहित ३ थान चितुवाको छाला र ५ किलो ५ सय ५० ग्राम हड्डीसमेत बरामद गरेको हो ।

उनीहरुलाई थप अनुसन्धानका लागि सहायक वन अधिकृत विजयचन्द्र देवकोटामार्फत जिल्ला वन कार्यालय तनहुँलाई हस्तान्तरण गरिएको प्रहरी प्रमुख गुरुङले जानकारी दिए । ‘विशेष सूचनाको आधारमा पक्राउ परेपछि उनीहरुको कहाँकहाँ कनेक्सन छ र उनीहरुले कहिलेदेखि तस्करी गर्दै आएका थिए भन्ने अनुसन्धान हुँदैछ,’ गुरुङले भने, ‘उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरोकै सहयोगमा निगरानी गरिएको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment