Comments Add Comment

बल्ल असनले सास फेर्न पायो …

२ माघ, काठमाडौं । असनको मौलिक परिचय छ ‘नुनदेखि सुनसम्म पाइने बजार ।’ साँघुरो बाटोमा खचाखच मानिसकाबीच सवारी साधन हर्न बजाउँदै आउँदा असन यात्रा कष्टकर बन्दै आएको थियो ।

तर, मंगलबारबाट एक हदसम्म असन  ‘असन’ जस्तो भएको छ । काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीको सहकार्यमा मंगलबारबाट असनमा चार पांग्रे सवारीलाई प्रवेशमा रोक लगाइएको छ । यद्यपी यस क्षेत्रमा मोटरसाइकल र रिक्सा चलाउन भने निषेध गरिएको छैन ।

वर्षौदेखि असनमा तरकारी बेचिरहेकी मनमती कर्माचार्यका अनुसार वर्षौपछि असनले बल्ल सास र्फन पाएको छ ।

उनका अनुसार बाटो होस् कि नहोस्, गाडीहरु छिर्थे । किनमेल गर्न लागेकालाई हर्न बजाएर हैरान पार्थे । ‘भीडले थेगिनसक्नु हुँदा पनि गाडी छिरेर टि-टि पार्थे’ उनले सुनाइन्, यत्रो वर्षमा बल्ल सास फेर्न पायो ।’

किराना व्यापारी मनमोहन श्रेष्ठ पनि चार पांग्रे छिर्न नदिएपछि आँखा, कान र ज्यानले आराम पाएको बताउँछन् । ठूला गाडी प्रवेश गर्दा जाम हुने गरेको स्मरण गर्दै श्रेष्ठले अब किनमेल गर्न आउनेलाई सजिलो हुने पनि बताए ।

‘वास्तै गर्दिन भन्दा पसलकै ढोकैसम्म जाममा बसेका गाडीको लाइन आउँथ्यो, ग्राहक पसलमा अगाडि आइपुग्न नै पाउँदैथे’ उनी भन्छन्, ‘आज त आँखा र कानले पनि आराम पायो । ज्यानलाई पनि हाइसञ्चो ।’

ठमेल र पशुपति मन्दिर परिसरपछि असनसहितका भित्री शहरहरुलाई चार पांग्रे सवारी साधन मुक्त गराएको छ । बढी भिडभाड हुने र साँघुरा सडक भएका असनसहितका भित्री क्षेत्रमा आजदेखि चारपांग्रे गाडी निषेध गरिएको हो । कतिपय सडकहरुलाई वान-वे बनाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारका अनुसार इन्द्रचोकबाट असन र भेडासिंह, ज्याथाबाट त्यौड, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट ओटुसम्म चार पांग्रे सवारी चलाउन पाइँदैन । भोटाहिटीबाट असनचोकसम्म दुवैतर्फ सडकमा चार पाङग्रे सवारी चलाउन निषेध गरिएको छ ।

नरदेवीबाट भेडासिंह हुँदै इन्द्रचाेकसम्म वान-वे गरिएको छ । टेंगालबाट बांगेमुढा हुँदै भेडासिंह, इन्द्रचोक पनि एकतर्फी गरियो । क्षेत्रपाटीबाट ठहिटी हुँदै नघःल बांगेमुढा भेडासिंह हुँदै इन्द्रचाेकसम्म वान-वे तोकिएको छ । त्यसलाई कार्यान्यवन गर्न चोक-चोकमा ट्राफिक प्रहरी खटिएका छन् । ट्राफिक प्रहरीले नियम नमान्ने सवारी चालकलाई ५ सय देखि १ हजार रुपैयाँसम्म जरिवना लगाउने जनाएको छ । विहान ७ बजेअघि र बेलुका ७ बजेपछि भने यो नियम लागू हुने छैन ।

काठमाडौं महानगरपालिकाको १७, १८, १९, २२, २४, २५ र २७ लगायत वडाका भित्री शहरमा चारपांग्रे सवारी निषेध गरिएपछि सडकमा पैदल हिँड्ने यात्रुले पनि सहज महसुस भएको सुनाए ।

ज्याथाबाट असन जाँदै गरेका मुलायम महतो गल्लीमा गाडी छिर्न नदिएर ठीक काम गरिएको बताउँछन् । ‘मान्छे हिँड्न मुश्किल पर्ने गल्लीमा जत्रा पनि गाडी छिर्न दिँदा हिँड्न पनि नपाइने,’ उनी भन्छन्,’सके त मोटरसाइकल पनि रोक्दा हुन्छ । माेटरसाइकल रोक्ने हो भने यहाँ टुरिष्ट पनि बढ्थे ।’

भित्री शहर पर्ने महानगरका वडाध्यक्षहरुकै सक्रियतामा दुईपांग्रे सवारीलाई मात्रै प्रवेश दिने निर्णय भएकोले यसको कार्यान्वयन प्रभावकारी हुने अपेक्षा स्थानी ब्यापारीको छ । तर केही स्थानीय भने घरसम्म ट्याक्सीमा आउजाउ गर्न नपाउने भएकाले यो नियममा त्यति सकारात्मक छैनन् ।

‘गाडी आउन नदिनु त त ठीकै हो तर हामी बुढा मान्छेलाई कतै जाँदा बाहरिसम्मै हिँडेर जानुपर्ने भयो’ किलगलका स्थानीय सोमकृष्ण बैजु भन्छन् ।

भोटाहिटी, असन, इन्द्रचोक, मच्छिन्ऽबाहल, भेडासिंह, नरदेवी, एट्खा, टेंगल, बाङ्गेमुढा, थहिटी, त्यौड, ताम्सीपाखा, किलागल, ज्वागल लगायतका क्षेत्रमा चारपांग्रे सवारी रोकिएको छ ।

‘भित्री शहरका सडक साँघुरा छन् । यी साँघुरा शहरको आफ्नै जीवन्तता छ । त्यसैले यसलाई बचाउन यस्तो नियम लगाएका हौं,’ २५ नम्बर वडाका अध्यक्ष निलकाजी शाक्य शाक्य भन्छन्, ‘सडकमा हुने जामलाई घटाउने हाम्रो प्रयास हो । शहरको मौलिकतालाई बचाउने पनि अभियान हो ।’

वडानम्बर १८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जन पनि भित्री शहरका सम्पदा र जीवनशैलीलाई जोगाउन चारपांग्रे सवारी रोकिएको बताउँछन् । उनले उचित किसिमबाट यो नियमलाई कार्यान्वयन गर्ने बताउँछन् ।

निषेधित क्षेत्रभित्र घर भएकाहरुलाई सवारी साधन लैजान पाउने गरी विशेष पासको व्यवस्था गर्ने योजना छ । चार पांग्रे रोकिएपछि वर्षौंदेखि कोर एरियामा व्यवसाय गरिरहेकालाई पनि लाभ मिल्ने अपेक्षा गरिएको छ । भित्री शहरमा सवारीको चाप उच्च हुँदा विभिन्न समस्याहरु बढ्दै गएको थियो ।

आकस्मिक सेवाका एम्बुलेन्स, शवबाहन, पानी ट्यांकर, दूध बोकेका सवारीलगायतलाई भने जुनसुकै समयमा यी क्षेत्रमा जान दिइनेछ ।

तस्वीर ः मिलन अधिकारी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment