Comments Add Comment

गोठालो दाइले लुगा लगेपछि हामी नाङ्गैः विकास आचार्य

अहिलेका चर्चित निर्देशक विकास आचार्य निर्देशनमा आउनुअघि स्क्रिप्ट राइटरका रुपमा परिचित थिए । चलचित्र ‘अरुणिमा’का नायक समेत बनेका आचार्य विराटनगरमा जन्मेका हुन् । हेरौं उनको वाल्यकालको अनुभुति कस्तो रहेछः

सानोमा म बुवाभन्दा आमासँग नजिक थिएँ । सायद हाम्रो सामाजिक संरचनाको कारण पनि हुनसक्छ बुबासँग एकखालको दुरी हुन्थ्यो ।

आमाको हातको पिटाइ दुईपटक खाएको सम्झना छ । एउटा घटना अहिले पनि सम्झन्छु । गर्मी महिनामा हाम्रो स्कुल विदा थियो । हामी गाउँभरिका केटाकेटी जम्मा भएर सिंघिया खोलामा नुहाउन गएका थियौं ।

हाम्रो सिंगै गाउँको गाइबस्तु चराइदिने एकजना दाई भाउजु हुनुहुन्थ्यो । उहाँहरुले हामी लुगा फुकालेर नुहाएको वेला हाम्रो लुगा टिपेर घरमा लग्दिनु भएछ । हामी नाङ्गै घर पुग्यौं । आमाले मज्जैले पिट्नु भयो । त्यतिबेला मध्यान्हमा नुहाउन हुन्न भन्ने मान्यता थियो । अर्को कुरा मसानघाट नजिकै भएकाले पनि हामी त्यहाँ गएर नुहाएको राम्रो मान्नुहुन्नथ्यो ।

मध्यमवर्गिय परिवारमा जन्मिएकाले गाई चराउने, घाँस काट्ने लगायको काम गर्न परेन । स्कुल घरवाट नजिकै थियो । हरेक दिन स्कुल जाँदा बुवाले चारआना दिनुहुन्थ्यो । चारआनाले प्याजी, झालमुरी, चना किनेर खान्थ्यौं । प्रशस्त पुग्थ्यो ।

हरेक शनिवार फिल्म हेर्न भनेर एक रुपैयाँ दिनुहुन्थ्यो । जलजला र हिमालयन सिनेमा घर थियो । हामी त्यहीँ गएर फिल्म हेथ्यौ । मलाई सानोमा एक्सन फिल्म मन पथ्र्यो । दारा सिंहको फ्यान थिएँ । ऋषि कपुर, अमिताभ बच्चनहरुको फिल्म आउन थालेपछि सामाजिक फिल्मतिर आकषिर्त भएँ ।

म स्कुलमा राम्रै विद्यार्थीको रुपमा चिनिन्थे । फस्र्ट, सेकेण्ड कहिल्यै भइन । तर, टप टेनमा पर्थें । किताब घोक्ने काम चाहिँ मैले कहिल्यै गरिनँ । मलाई कोर्सको किताबले आकर्षण गरेको ब्याचलरपछि मात्रै हो ।

स्कुलबाट भागेर फिल्म हेर्ने वा घुम्ने काम मैले गरिनँ । मेरा मित्र हुनुहुन्थ्यो प्रदिप दाहाल, उहाँलाई नयाँ फिल्म आएपछि फस्र्ट शो नै हेर्नु पथ्र्यो । उहाँ भागेर जानुहुन्थ्यो र बेलुका आएर हामीलाई पुरै कथा सुनाउनुहुन्थ्यो ।

ठूलो भएपछि के बन्ने कुनै योजना थिएन । तर, सिनेमा सिर्जनात्मक विधा हो भन्ने कताकता लागेको थियो ।

मामाघर लगभग ६० माइल टाढा थियो । हामी पाँच दाजुभाई सबैलाई एकैचोटि लैजान सम्भव थिएन । आमाले पालैपालो लानुहुन्थ्यो । दशै-तिहारमा मावली भन्ने बित्तिकै दक्षिणा विशेष आकर्षण हुन्थ्यो । दसैमा टिका लगाएर जम्मा भएको पैसा आमालाई दिन्थेँ । अनावश्यक खर्च कहिल्यै गरिनँ ।

मलाई सानोमा भूत-प्रेतदेखि निकै डर लाग्थ्यो । घरमा भूत-प्रेतको कथा सुनाइन्थ्यो । अनि मलाई डर लाग्थ्यो । राती त बाहिर निस्कने अवस्था हुन्नथ्यो ।

खानलाउन दुख थिएन । बिहान बेलुका दाल, भात, तरकारी र हप्तामा एक दिन मासु खान्थ्यौं । लुगाको कुरा गर्ने हो भने दशैमा अनिवार्य नयाँ लुगा किनिदिनुहुन्थ्यो । गर्मि महिनामा पनि लुगा किन्दिने चलन हुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment