Comments Add Comment

अनमोल केसीका गोप्य कुराः भेष बदलेर भीडमा

भुवन केसी मांसाहारी, अनमोल केसी कृष्णभक्त 'साधु'

२ माघ, काठमाडौं । निर्देशकहरु भन्ने गर्छन्- अनमोल केसीका लागि ५०/६० लाख खन्याउन निर्माताहरु तयार छन्, तर अनमोल मान्दै मान्दैन ।

विश्लेषकहरुको भनाइ छ, ‘अनमोलसँग अहिले त्यस्तो ताकत छ, जसले नेपाली फिल्मको ट्र्याक नै बदल्न सक्छन् । उनले कथा र त्यसअनुरुप लगानीको डिमान्ड गर्न सक्छन् ।’

बजारमा अहिले व्यापक चर्चा छ, अनमोल केसीको । र, उनको स्टारडमको, पारिश्रमिक र स्टाइलको पनि । अनि छन्, ठूलो फ्यान फलोइङ । टिनएजर्सको यस्तो जमात छ, जो अनमोलको नामले हलसम्म तानिन्छन् । के पनि हल्ला छ भने अनमोललाई हेर्नकै लागि उनको निवासआसपास युवतीहरुको भीड लाग्छ । त्यही भीडका कारण चटपटे र पानीपुरीको व्यापार चलेको छ, उनको घर अघिल्तिर ।

अनमोल आफैंमा स्टारका छोरा । आफ्नो जमानामा दर्जनौं ब्लकबस्टर फिल्म दिएका भुवन केसीका छोरा हुनुको नाताले पनि अनमोलको मोल बढाएको लख काट्न सकिन्छ ।

अनमोलसँग अनलाइनखबरको कार्यालयमा साक्षात्कार गरिरहँदा भने त्यस्तो ‘हिरोइजम’ देखिएन, जो बाहिर चर्चा हुने गर्छ । आधा दर्जन हाराहारीमा हिट फिल्म दिएका अनमोल एकदमै साधरण रुपमा पेश भए ।

उनमा कृत्रिमता थिएन । र, थिएन बनावटीपन । स्टाइलिस पिताका यी सुपरस्टार छोरा सकेसम्म साधारण जीवनयापनमै अफूलाई अभ्यस्त गराउन खोज्दा रहेछन् ।


‘पब्लिक’सँग किन दूरी ?

अनमोलसँग दर्शकको एउटा गुनासो छ, उनी पब्लिकसँग दूरी बनाउँछन् । आफ्नो स्टारडम कायम गर्न पनि सकेसम्म समाजसँग घुलमिल हुँदैनन् ।

‘आफूलाई मन पराउने दर्शकसँग अनमोलले डिस्टेन्स राखेको गुनासो छ नि ?’ हाम्रो प्रश्न ।

‘सकेसम्म डिस्टेन्स मेन्टेन गर्न खोज्छु । तर, उहाँहरुसँग भेट्ने र कुरा गर्ने बहाना पनि त चाहियो,’ उनी आफ्नो बचाउ गर्छन् ।

अनमोलको यो बनिबनाऊ ‘दूरी’ भने होइन । उनको दैनिक सेड्युल नै कति साँघुरो छ भने दायाँबायाँ गर्नै गाह्रो ।

‘म आफूलाई पूर्ण ठान्दिनँ, मैले अझै आफूलाई निखार्नुपर्छ,’ अनमोल भन्छन् ।

यही ‘निखार्ने’ धुनकै कारण बिहान उठेदेखि राति सुत्ने बेलासम्म अनमोल ‘पर्सनल गु्रमिङ’मा तल्लिन हुन्छन् । यसभित्र अभिनयको अभ्यासदेखि शारीरिक सुगठनसम्म जोडिन्छ ।

बिहान ६ बजे उठ्ने अनमोलको दैनिकी राति ८ बजेसम्म अविछिन्न फिटनेस, अभिनय, डान्सको गोलचक्करमा घुम्ने गर्छ । यसबीचमा उनले एकाध घण्टा विश्राम लिन्छन् । यही कारण उनलाई फिल्म इभेन्टदेखि सार्वजनिक कार्यक्रममा उपस्थित हुने अतिरिक्त समय मिल्दैन ।

‘ट्रयाक चेन्ज’ गर्ने सामर्थ्य

विश्लेषकहरुले भनेजस्तै अनमोलसँग त्यो ताकत छ, जसले नेपाली फिल्मको ट्रयाक नै परिवर्तन गर्नसक्छ । उनीमाथि लाखौं पैसा खन्याउन निर्माताले टाउको कन्याइरहनु पर्दैन । आँखा चिम्लिएर खर्च गर्न सक्छन् ।

निर्माताका लागि अनमोल ‘सुरक्षित व्यापार’को गतिलो ‘टुल्स’ हो । त्यही कारण उनीहरु अनमोलमाथि पैसा बर्साउन लालायित छन् । तर, अनमोलले ती लोभलाग्दा अफर लत्याइरहेका छन् । किन ?

‘जथाभावी फिल्म खेलेर भएन,’ अनमोल भन्छन्, ‘पैसाको पछि लाग्दा आफ्नो स्तर गुमाउने डर हुन्छ ।’

नवीन सुब्बाले दयाहाङ राईको सन्दर्भमा गर्ने टिप्पणी र अनमोलको बुझाइमा एकरुपता छ । अनमोल पनि संख्या बढाउने पक्षमा छैनन् । उनी चाहँदैनन्, धमाधम पैसा जम्मा गर्दै फिल्म खेल्न । फिल्मको अफर त कति आउँछन् कति । पारिश्रमिकमा उनले सम्झौता गर्नुपर्दैन । तैपनि, उनी आएका सबै फिल्म खेल्दैनन् ।

किनभने, नेपाली फिल्मले भोग्दै आएको पीडा उनले बुझेका छन् । आफ्नो टाउको बेच्ने निर्माताको प्रवृत्तिलाई पनि उनले बुझेका छन् । अघिल्ला हिरोहरुले जस्तो उनी फिल्मको थुप्रो लगाउने चक्करमा छैनन् । फिल्म छनोट गर्ने कुरामा निकै संयमित छन् ।

‘बिकाउ होइन, टिकाउ बन्न चाहन्छु । एकदमै सेलेक्टेड फिल्म खेलिरहेको छु,’ उनी भन्छन्, ‘त्यसका लागि एक/डेढ वर्ष कुर्न पनि तयार छु ।’

फिल्ममा चित्त बुझेपछि मात्र अनमोल ‘ग्रिन सिग्नल’ दिन्छन् । ग्रिन सिग्नल दिएपछि दिलोज्यान दिएर लाग्छन् ।

‘एकै किसिमको भूमिकामा दर्शकलाई दिक्क लाग्न सक्छ,’ अनमोल भन्छन्, ‘भेराइटी दिनुपर्छ । त्यसकै लागि म सकेसम्म नयाँ-नयाँ भूमिकामा आफूलाई ढाल्ने प्रयास गर्छु । यसका लागि समय लाग्ने हो । मैले निर्मातालाई नपत्याएको होइन ।’

अनमोलको ‘स्टारडम’

दर्शक लोभ्याउन हात्तीमा फिल्म प्रचार गर्नेदेखि फाटेको जुत्ता साट्नेसम्मको अनेक फन्डा अपनाउने गरिन्छ । यसरी झ्याली पिट्दा पनि फिल्म हल रित्तै हुन्छ । अनमोलको नाम नै काफी । उनको नाम जोडिएका फिल्म हेर्न दर्शकको ताँती नै लाग्छ ।

‘अनमोल भनेपछि भुतुक्कै हुने दर्शक त थुप्रै रहेछन् नि ? आफ्नो यस्तो स्टारडम छ भन्ने लाग्छ ?’ हामीले सोध्यौं ।

अनमोल हल्का मुस्कुराउँछन् । अनि, घुमाउरो भाषामा भन्छन्, ‘स्टारडमभन्दा पनि मेरो अभिनयका कारण वा यसअघि मैले फिल्ममा गरेको मिहिनेतका कारण दर्शकले रुचाउनुभएको हो ।’

नेपाली फिल्ममा स्टारडमको प्रसंग उठ्नासाथ अनमोलको नाम ठोक्किन आइपुग्छ । दयाहाङ राईको समानान्तर स्टारडम अनमोलसँग छ । तर, उनी स्टारडमको टेकोमा ‘हिरोइज्म’ देखाउन चाहँदैनन् । उनका पिताले जति पनि ।

भुवन केसी स्वीकार्छन्, ‘अनमोल मभन्दा पनि साधारण छन् । उनको लवाइ-खुवाइमा कति पनि तडकभडक छैन ।’

भुवन भर्सेस अनमोल

भुवन केसी आफ्ना जमानाका स्टाइलिस हिरो हुन् । उनका नाममा दर्जनौं ब्लकबस्टर फिल्म छन् । ग्ल्यामर उद्योगमा उनको चर्चा कति रापिलो छ भने त्यसको ताप अहिलेसम्म सेलाएको छैन । चाहे लफडाको मामलामा होस् वा अभिनयको, उनी हिट र फिट छन् ।


भुवनको अगाडि अनमोल अलि फिका लाग्नसक्छन् । फिका यसकारण, उनी पिताले जस्तो चमकदमकपूर्ण जीवन रुचाउँदैनन् । शान्त र सौम्य छन् ।

पिता फेन्सी ड्रेसअप गर्छन्, अनमोल ‘डिसेन्ट’ ।

पिताको जीवनशैली मनमौजी छ, अनमोलको नियन्त्रित र अनुशासित ।

पिताको खानामा मदिरादेखि मासुसम्म सामेल छ, अनमोल शुद्ध शाकाहारी ।

पिता ग्याजेट्सका सौखिन छन्, अनमोललाई त्यस्तो कुनै रुचि छैन ।

पिता कारमा हुइँकिन्छन्, अनमोल बाइकमा ।

अनमोल घडी बाँध्दैनन्, चस्मा लगाउँदैनन्, सिक्री झुण्ड्याउँदैनन् । मोबाइल पनि सामान्य बोक्छन् ।

भुवन भन्छन् नै, ‘ऊ धेरै साधारण किसिमको छ, मभन्दा ।’

भेष बदलेर भीडमा

अनमोलको दैनिकी नियमवद्ध छ । उनी बिहान उठेदेखि साँझसम्म जे-जति गर्छन्, फिल्मकै लागि गर्छन् । यद्यपि, त्यसबाहेक पनि सामाजिक जीवन बिताउन चाहन्छन् ।

भन्न त के भनिन्छ भने अनमोल भीडभन्दा टाढा रहन्छन् । तर, उनी जतिसुकै व्यस्त सेड्युलमा पनि भीडमा मिसिन रुचाउँछन् । मिसिइरहेका हुन्छन् पनि ।

‘पशुपतिनाथमा गइरहेको हुन्छु, रत्नपार्कतिर हुन्छु,’ अनमोल भन्छन्, ‘यसरी भीडमा मिसिँदा कसैले नचिनोस् भनेर भेष बदल्ने गर्छु ।’

हो, भीडमा मिसिँदा उनी माक्स लगाउँछन् । अलि भिन्नै गेटअप गर्छन् ।

‘माक्स मात्र लगाउँदा चिन्छन्, त्यसैले फरक टाइपको लुगा लगाउँछु,’ अनमोल भन्छन्, ‘अनि, हिँडाइ पनि फरक हुन्छ ।’

कहिले खुट्टा खोल्च्याएर त कहिले जिउ बंग्याएर हिँड्छन् । ताकि, भीडमा घुलमिल हुन सकियोस् ।

‘मैले थिएटरबाट धेरै साथी बनाएको छु,’ उनी भन्छन्, ‘उनीहरुले मलाई भीडमा जान इन्करेज गरिरहेका हुन्छन्, नचिन्ने गरी भीडमा जाऊँ भनिरहेका हुन्छन् ।’

बूढानीलकण्ठका सेवक

अनमोल परिचय खुलाएर भीडमा जाँदैनन् भन्ने हल्ला पूरापूर सत्य भने होइन । उनी कहिलेकाहीं भीडमा परिचय खुलाएरै जाँदा रहेछन् ।

‘म भीडमा गइरहेको हुन्छु । बूढानीलकण्ठमा त प्रायः गइरहन्छु । तपाईंलाई विश्वास लाग्दैन ? त्यहाँको गुरुजीलाई गएर सोध्नुहोस् त,’ उनी भन्छन् ।

बूढानीलकण्ठमा अनमोल माक्सभित्र हुँदैनन् । उनी अनमोलकै रुपमा त्यहाँ सेवा गरिरहेका हुन्छन् । पूजारीलाई सहयोग गरिरहेका हुन्छन् । ‘त्यहाँ म कहिले खोला सफा गरिरहेको हुन्छु, कहिले आश्रममा खाना पस्किइरहेको हुन्छु,’ उनी भन्छन् ।

सकेसम्म अनमोल सामाजिक र साधारण जीवन बिताउन खोज्छन् । यद्यपि, उनको समय तालिकाले उनलाई घडीको सुईजस्तै नियन्त्रित र एकै गतिमा घुमाइरहेको छ ।

अनमोलको दैनिकी

अनमोलको दैनिकी नियमित छ । उठ्ने, सुत्ने, खाने, पिउने तालिका एकनासे । हरेक रात कम्तिमा सात घण्टा सुत्छन् । स्वस्थ खानेकुरा खान्छन् । सकेसम्म उसिनेको । त्यसमा पनि भेज ।

बिहान ६ बजे अनमोलको कोठामा घामको प्रकाश छिरिसकेको हुन्छ । ठीक त्यही बेला उनको निद्रा खुल्छ । झ्यालको पर्दा खुलै हुने भएकाले बिहानको कलिलो घामले उनको कोठा झलमल्ल हुन्छ । आँखा खुलेपछि जुरुक्कै उठ्न जाँगर चल्दैन । करिब १० मिनट यताउता गरेपछि बल्ल ओछ्यान छाड्छन् । ओछ्यान छाडेपछि फ्रेस हुनुपर्छ ।

दिनमा तीन पटकसम्म नुहाउँछन्

अनमोलले धेरै समय बिताउने भनेकै बाथरुममा हो । यसका लागि उनलाई आधा घण्टा समय लाग्छ । बाथरुमबाट निस्कँदा उनले नुहाइधुवाइ सकेका हुन्छन् । उनी दिनमा एक पटक होइन, तीन पटकसम्म नुहाउँछन् ।

‘बिहान उठ्नासाथ नुहाइहाल्ने बानी छ,’ उनी भन्छन्, ‘वर्कआउट गर्नुपर्छ, पसिना आइहाल्छ । पटक पटक नुहाउनुपर्छ ।’ आफ्नो कोठमा उनी मनतातो पानीले नुहाउँछन् । तर, बाहिर सबैतिर त्यस्तो अनुकुलता मिल्दैन । उनी चिसै पानीले नुहाउँछन् ।

मन्त्रोचारण र ध्यान

बिहान फ्रेस भइसकेपछि अनमोल मन्त्रोचारण गर्छन्, भगवान कृष्णको नाममा । नभन्दै कुराकानी भइरहँदा पनि उनी हामीलाई फरर मन्त्र उच्चारण गरेर सुनाउँछन् ।

‘यो मन्त्र आफ्नै लाइफमा इन्जोए गर्नका लागि हो । यसलाई एक सय आठ पटक जप्नुपर्छ,’ उनी भन्छन्, ‘यसरी मन्त्रोच्चारण गर्दा मनमा एक किसिमको शान्ति मिल्छ । तनाव हट्छ । कसले मलाई टप गर्‍यो, कसले के गर्‍यो भन्ने कुराको टेन्सन हुँदैन ।’

ब्रेकफास्ट आफैं बनाउँछन्

अनमोलले आफू सुत्ने कोठा आफ्नै कमाइले सजाएका छन् । उनको कोठामै मिनी किचेन छ । घरको ग्राउन्ड फ्लोरमा व्यायाम गर्ने ठाउँ

केही समय पूजापाठमा बिताइसकेपछि अनमोल हल्का व्यायाम गर्छन् । ट्रेडमिलमा दौडिन्छन्, कार्डियो ट्रेनिङ गर्छन् । घरको ग्राउन्ड फ्लोरमा यसका लागि छुटै व्यवस्था छ ।

वर्कआउटपछि उनी ब्रेकफास्ट लिन्छन् । ब्रेकफास्टमा प्रायः केरा हुन्छ, ओटमिल हुन्छ, कफी हुन्छ । फलफूल, जुस आदि उनी आफैं तयार गर्छन् । उनको कोठामै मिनी किचेन छ, आवश्यक सबै खानेकुरा त्यहीं छ ।

‘प्याजहरु काटिरहने वा अरु मसला मिलाउने काममा चाहीं त्यति फुर्सद हुन्न,’ अनमोल भन्छन्, ‘छिटो छरितो हुने काम आफैं गर्छु ।’

उनले ठट्यौली शैलीमा मनको कुरा भने, ‘अहिलेदेखि आफैंले खाना बनाउन जानियो भने पछि बुढी खुशी हुन्छिन् नि ।’

भुवन केसीले छुट्टै कुराकानीमा भनेका थिए, ‘म खानेकुरा बनाउन जाँगर चलाउँदिनँ । बरु, अनमोलले कहिलेकाहीं बनाएर खुवाउँछ ।’

ब्रेकफास्ट कस्तो, किन र कति खानुपर्छ भन्ने हेक्का छ, अनमोललाई । उनले सुनेका छन्, केरा खाएमा मुड प्रफुल्ल हुन्छ । त्यससँगै उनी ड्राई फ्रुट्स खान्छन् । दिनभरको खानामा उनी सन्तुलन मिलाउन खोज्छन् ।

थरिथरिका डान्स सिक्छन्

ब्रेकफास्टपछि अनमोल नृत्य प्रशिक्षण लिन्छन्, घरमै । रेनेसा राईलगायतले उनलाई नृत्य सिकाउँछन् । डान्स प्रायः सबै किसिमको सिक्छन्, फरक-फरक दिनमा ।

बेली डान्सदेखि क्लासिकसम्म । सबैखाले डान्सका लागि उनले भिन्दाभिन्दै प्रशिक्षक लिएका छन् ।

खानामा दालभात

डान्स क्लास गरिसक्दा घडीको सूईले १२ बजेको संकेत गर्छ । यतिबेला उनी खाना खान्छन् । अनमोल भेजिटेरियन हुन्, माछामासु चल्ने कुरै भएन । यद्यपि, माछामासुबाट प्राप्त हुने पोषक तत्व के-केमा पाइन्छ, खोजीखोजी खान्छन् ।

‘खानेकुरा स्वादका लागि होइन, स्वास्थ्यका लागि खाने हो,’ उनी भन्छन्, ‘मलाई खानामा उस्तो सोख पनि छैन ।’ उनी खाना स्वास्थ्यकै लागि खान्छन् । दाल, भात, तरकारी, साग, अचार । जबकि, पिता भुवनलाई छाकैपिछे मासु नभई हुन्न ।

अनमोललाई मनपर्ने पनिर र भेंडेखुर्सानी हो । सकेसम्म पनिरचाहीं छुटाउँदैनन् । बाहिर हल्ला के छ भने अनमोल रेस्टुराँबाट मगाएर खान्छन् ।

‘होइन, होइन, जतिसक्दो घरकै खानेकुरा खान्छु,’ उनी भन्छन्, ‘बाहिरको कुरा त्यति खाने गरेको छैन ।’

उनी उसिनेको खानेकुरामा जोड दिने भएकाले पनि घरकै खानामा जिब्रोलाई अभ्यस्थ गराएका छन् ।

मध्यान्ह उनी जुस पिउँछन्, फलफूल खान्छन् । राति आँटाको रोटी र दाल खान्छन् । यसअघि आफैं बनाएर सलाद खाइसकेका हुन्छन् । उसिनेको आलु, काँक्रा, गाँजरको मिक्स अर्थात् चटपटे पनि बनाएर खान्छन् ।

राति ८ बजे खाना खाएपछि एकछिन रमाइलो गर्छन् । फिल्म हेर्छन् । उनी दिनमै ३/४ वटा फिल्म हेरिरहेका हुन्छन् ।

‘फिल्म प्रायः क्लासिक टाइपको हेर्छु,’ उनी भन्छन्, ‘अलि अफ बिटको फिल्म हेर्ने बानी छ ।’ उनी सामाजिक सञ्जालमा त्यति अलमल गर्दैनन् ।

सेक्रेट कुरा

अनमोलले आफू सुत्ने कोठा आफ्नै कमाइले सजाएका छन् । उनको कोठामै मिनी किचेन छ । घरको ग्राउन्ड फ्लोरमा व्यायाम गर्ने ठाउँ ।

अनमोल घरमा बस्दा सामान्य लुगा लगाउँछन् । उनलाई ब्रान्डप्रति कति पनि आशक्ति छैन । बस्, आफूलाई सुहाउँदो लुगा भए पुग्छ । उनी लुगाको उस्तो सौखिन पनि होइनन् ।

अहिलेको टिनएजर्सका लागि उनी स्टाइल आइकन हुन् । जबकि, अनमोल स्वयं भने स्टाइलमा रुचि नभएको बताउँछन् । उनी फेन्सी ड्रेसअप रुचाउँदैनन् । भलाद्मी शैलीको पहिरनमा ठाँटिन्छन् । अक्सर हुड लगाउँछन् । जिन्स पहिरिन्छन् ।

उनलाई ड्रेसअप गर्न १० मिनट काफी हुन्छ । र, मेकअप गर्न पाँच मिनट । १६ मिनटमा उनी रेडी हुन्छन् । रेडी भइसकेपछि एक पटक पिता भुवन केसीलाई देखाउँछन् । भुवनले ‘ओके’ भनेपछि पुग्छ ।

अनमोल बाइक राइडिङमा निस्किन्छन् । उनको आफ्नै ग्रुप छ । कहिले बन्दीपुर त कहिले सिन्धुपाल्चोकतिर बत्तिइरहेका हुन्छन् । उनीसँग तीन वटा बाइक कलेक्सन छ, यामाहाको फेजर, डुकाटी मोन्स्टर र बेनेलीको लेटेस्ट ।

अनमोल दिउँसो बानेश्वरको एक फ्रुट सपमा जुस र फलफूल खान पुग्छन् । यद्यपि, त्यस वरपरकाले उनलाई ठम्याउन सक्दैनन् । किनभने, उनको टाउकोमा हेलमेट हुन्छ, अनुहारमा माक्स ।

अनमोल स्टाइलका लागि चस्मा लगाउँदैनन् । नांगो आँखा नै ठीक लाग्छ । घाम र धूलोबाट बचाउन मात्र सनग्लास लगाउँछन् । घडी बाँध्ने, सिक्री झुण्ड्याउने सोख पनि छैन । साथीहरुले पुस्तक उपहार ल्याइदिन्छन्, उनी पढ्न अलि अल्छी गर्छन् ।

अनलाइनखबर डटकमले पुस महिनादेखि सुरु गरेको नयाँ स्तम्भ ‘ओके सेलिब्रिटी अफ द मन्थ‘ श्रृङ्खला अन्तर्गत माघ महिनाका लागि  नायक अनमोल केसी रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment