Comments Add Comment

अब बाबुराम भट्टराईको बाटो कता ?

भट्टराईका दुई विकल्पः 'थर्ड पोल' वा वाम गठबन्धन !

समाचार टिप्पणी

२ माघ, काठमाडौं  । नयाँ शक्ति पार्टी छाडेर बाग्लुङबाट चुनाव जितेका माओवादी सांसद देवेन्द्र पौडेल पत्रकारहरुसँगको एउटा जमघटमा भन्दै थिए, ‘बाबुरामजी पनि देशलाई चाहिने मान्छे हो, उहाँ पनि वाम गठबन्धनमा आउनुपर्छ, उहाँलाई पनि ल्याइन्छ ।’

आफूहरुले नयाँ शक्तिबाट बाबुराम भट्टराईलाई पनि साथैमा लिएर माओवादी केन्द्रमा फर्कन चाहे पनि नसकिएको पौडेलको भनाइ थियो । तर, समय क्रमसँगै डा. भट्टराईले अलग्गै पार्टी चलाउन नसक्ने र वाम गठबन्धनमै फर्कने पौडेलले विश्वास व्यक्त गरे ।

गत दशैंका बेलामा वाम गठबन्धनका नेताहरुसँग हातमा हात मिलाएका पूर्वप्रधानमन्त्री डा. भट्टराईले निर्वाचनका बेला कांग्रेससँग तालमेल गरे र गोरखा क्षेत्र नम्बर २ बाट विजयी भए ।

कांग्रेससँग मिलेर चुनाव जितेका डा. भट्टराई र उनको नयाँ शक्ति पार्टीले अब के गर्ला ? कतिपय मानिसहरुले सांसद पौडेलको अपेक्षाजस्तै डा. भट्टराई वाम गठबन्धनमा आउने दाबी गर्छन् । कतिपयले भने कांग्रेससँग मिलेर चुनाव जितेको हुनाले उनी वाम गठबन्धनबाहिरै बस्ने बताउँछन् ।

नयाँ संविधान बनेसँगै वैकल्पिक राजनीतिक पार्टी बनाउने भन्दै माओवादी परित्याग गरेर नयाँ शक्ति पार्टी खोलेका डा. भट्टराई यसबीचमा अपेक्षाकृत रुपमा सफल हुन सकेनन् । तथापी उनले स्थानीय चुनाव, प्रदेशसभा र प्रतिनिधिसभामा झिनै भए पनि उपस्थिति जनाएका छन् ।

तर, नयाँ शक्ति भन्दाभन्दै बीचैमा एमाले र माओवादीको गठबन्धनमा केही दिनका लागि मात्रै भए पनि मिसिएपछि डा. भट्टराई अस्थीर नेताका रुपमा आलोचित छन् । उनको यही अस्थिरताका कारण अब डा. भट्टराईले कस्तो भूमिका खेल्लान् भनेर अनुमान गर्न विश्लेषकहरुलाई गाह्रो पर्न थालेको छ ।

अब बाबुराम कता ?

वाम गठबन्धनले बहुमत हासिल गरिसकेको र पाँच वर्ष वाम सरकार बन्ने लगभग पक्काजस्तै देखिएको अवस्थामा डा. भट्टराईसँग अब मुख्यतः दुईवटा विकल्पहरु देखिन्छन् ।

बाबुरामको पहिलो विकल्प हो- आफू पूर्ववामपन्थी नै भएकाले वाम गठबन्धनमै मिसिनु र अबको पाँच वर्षसम्म सत्तापक्षकै सहयोगीको भूमिकामा रहँदै आर्थिक समृद्धिको नारामा केन्द्रित हुनु ।

दोस्रो विकल्प हो- देशमा कांग्रेस र कम्युनिष्टहरुले जनताप्रति उत्तरदायी काम गर्न सकेनन् भने त्यसलाई क्यास गर्नका लागि प्रतिक्षारत रहनु र तेस्रो विकल्प (थर्ड पोल) खडा गर्ने आफू पूर्वअभियानमा पाँचवर्षसम्म अडिइरहनु । यसका लागि पाँच वर्षसम्म प्रतिपक्षकै बेञ्चमा बस्न तयार हुनुपर्छ ।

डा. भट्टराईका सामु अब यीनै दुईवटा विकल्प छन् । यीमध्ये कुन  बाटो हिँड्छन्, अहिले नै अनुमान लगाउन कठिन छ । तर, जति नै ‘वाम लोकतान्त्रिक’ धार भनेर सारसंग्रहवादी तर्क गरे पनि डा. भट्टराईका सामु अबको ५ वर्ष सत्तापक्ष वा प्रतिपक्ष भन्दा अर्को बाटो छैन ।

निर्वाचनपछि डा. भट्टराई वाम गठबन्धनप्रति धेरै आक्रमक देखिएका छैनन् । बरु उनले एमाले र माओवादी मिलेर बन्ने नयाँ पार्टीको नाम ‘कम्युनिष्ट पार्टी’ नराखेर ‘सोसल डेमोक्रेटिक’ नाम दिइनुपर्ने जिरह गरिरहेको सुनिन्छ । उनको यस्तो आग्रहले ‘कम्युनिष्ट’ ब्राण्ड हटेको अवस्थामा बाबुराम त्यो त्यही गठबन्धनमा मिसिने जस्तो अनुमान गर्न सकिन्छ ।

आगामी सरकारमा नयाँ शक्तिको भूमिकाबारे सोधिएका प्रश्नमा पनि नरम देखिने गरेको छ । सरकारको विरोधका लागि विरोध नगर्ने बरु वाम सरकारले राम्रो काम गरे सहयोग गर्ने भाकाको अभिव्यक्ति दिनुले डा. भट्टराई आगामी पाँच वर्ष प्रतिपक्षी नेताका रुपमा अडिएलान् भन्नेमा शंका गर्न सकिन्छ ।

नयाँ शक्ति बनाएर गरिखान नसकिने रहेछ र यसलाई सेफल्याण्डिङ गर्नु नै उपयुक्त हुन्छ भन्ने लाग्यो भने डा. भट्टराई चाँडै नै पहिलो विकल्पतर्फ जानेछन् र सांसद देवेन्द्र पौडेलले भनेकै कुरा सही ठहरिने छ ।

तर, दोस्रो विकल्पतिर लागे भने डा. भट्टराई विस्तारै विवेकशील साझा पार्टीसँगको एकता र सहकार्यतर्फको बाटोमा जान सक्ने देखिन्छ । किनभने एक्लाएक्लै वैकल्पिक शक्ति बनाउन खोज्दा कठिन हुने महसुस यी दुबै पक्षले गरिसकेको अवस्था छ ।

तर, माओवादी ‘स्कुलिङ’ ४/५ वर्ष धैर्य गर्नेभन्दा पनि चाँडो-चाँडो सत्ताको स्वाद चाखिहालौं भन्ने खालको भएकाले त्यसैको छापका आधारमा डा. भट्टराई नेपाली लोककथाको सक्कली ‘राजकुमार दिक्पाल’ बन्न सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।

किनभने, नेपालमा नयाँ वैकल्पिक शक्ति बनाउने बाटो निकै घुमाउरो र लम्वेतान किसिमको हुन सक्छ भन्ने कुरा केही वर्षयताको व्यवहारले स्पष्ट पारिसकेको छ र, डा. बाबुराम भट्टराईको धैर्यतामाथि नजिकै रहेको विगतले प्रश्न उठाएकै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment