Comments Add Comment

कांग्रेस बैठकः देउवासँगै क-कसको हुँदैछ परीक्षा ?

केन्द्रीय कार्यसमितिमा हेर्न लायक चार दृश्य

२ माघ, काठमाडौं । राष्ट्रियसभा निर्वाचन अघि बैठक नबोलाउने पार्टी नेताहरुको अनुमानलाई गलत सावित गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

यससँगै देउवाले पार्टी नेताहरुलाई गुटको भेला गर्ने र ‘बैठक बोलाऊ’ भन्दै वक्तव्यबाजी गर्ने बाटो त बन्द गरिदिए नै, साथै आफूसँगै पार्टी नेताहरुलाई परीक्षामा पनि उतारेका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बिहीबार ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुने कांग्रेस केन्द्रीय समितिको बैठकमा चुनावी हारको समीक्षासमेत गरिनेछ । यद्यपि राष्ट्रियसभा चुनावबारे छलफल गरेर बैठक केही दिनलाई स्थगित हुन पनि सक्छ ।

पार्टी सभापति देउवा स्वयम् प्रधानमन्त्री भएकै बेला सम्पन्न आम चुनावमा कांग्रेस पहिलो पार्टीबाट दोस्रो, त्यो पनि पहिलो दल एमालेभन्दा निकै सानो भएका कारण यो बैठकमा आलोचनाको केन्द्रमा उनी नै हुनेमा कुनै शंका छैन । तर, अन्य नेताहरु पनि देउवालाई आलोचना गरेर सहजै उम्कने अवस्था भने छैन ।

कांग्रेस नेतृत्वमा यतिबेला चारवटा दृश्यहरु हेर्न लायक छन्ः

दृश्य एकः पौडेल, सिटौला र केसीको आकस्मिक जोठगड

सुशील कोइराला जिवित रहँदासम्म रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसी तत्कालीन संस्थापन समूहमै थिए । तर, कोइरालाको निधनपछि एकले अर्कालाई नेता मान्न सकेनन् । पौडेल संस्थापन समूहको नेता बनेपछि सिटौला र केसी संस्थापन समूहबाट बाहिरिए ।

१३ औं महाधिवेशनमा सिटौलाले सभापतिमा पौडेल र देउवासँग प्रतिस्पर्धा गरे भने केसी देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बने । त्यसपछि पनि तीन नेता तीनतिर थिए । तर, चुनावी हारपछि फेरि एक ठाउँमा उभिने प्रयास थालेका छन् ।

नेता केसीले आफूहरुबीच कुराकानी भएको स्वीकार गरे । उनले भने, ‘पार्टी नेतृत्व अहिले जसरी चलेको छ, त्यसरी अब पार्टी अघि जान सक्दैन भन्ने हाम्रो निष्कर्ष हो ।’

रामचन्द्र पौडेल समूहले संसदीय समिति र कार्यसम्पादन समिति विधान विपरीत भएको भन्दै तत्काल भङ्ग गर्न माग गरेको छ । केसी पनि यसमा सहमत छन् ।

अब तीन नेता केन्द्रीय कार्यसमितिको बैठकमा कसरी प्रस्तुत हुन्छन् त्यो भने हेर्न बाँकी छ ।

दृश्य दुईः कोइराला परिवारको भूमिकामाथि प्रश्न

कांग्रेसको यो बैठकमा कोइराला परिवारको भूमिकाले पनि ठूलै अर्थ राख्ने नेताहरु बताउँछन् । चुनाव जितेको र महामन्त्री पनि भएकाले अहिले कोइराला परिवारको स्वभाविक नेताका रुपमा शशांक कोइरालालाई लिने गरिएको छ ।

उनी रामचन्द्र पौडेल समूहबाट महामन्त्री भएका हुन् । तर, पछिल्लो समय उनी पौडेलभन्दा देउवातिर बढी नजिक देखिन थालेको छ । चुनावपछि पौडेल समूहले गरेका झण्डै आधा दर्जन बैठक तथा भेलामा उनीको सहभागिता न्यून मात्र छ ।

साथै चुनावी हारलाई लिएर भइहेको बहसमा देउवाप्रति नरम नै देखिएका छन् । नेताहरुका अनुसार देउवा र कोइरालालाई एक ठाउँमा ल्याउने प्रयास महाधिवेशन ताका नै भएको थियो, जुन अहिले आएर एक हदसम्म सफल भएको छ ।

शशांक, देउवातिर नजिक भएको देखेर नै रामचन्द्र पौडेलले विगतका तिक्तता बिर्सिएर भए पनि कृष्ण सिटौला र अर्जुननरसिंह केसीतिर हात अघि बढाएको बताइन्छ ।

अब हेर्न बाँकी छ, शशांक देउवातिर खुलेर लाग्छन् कि लाग्दैनन् ? साथै शशांक देउवातिर गए शेखर कोइराला र सुजाता कोइराला के गर्लान् भन्ने प्रश्न पनि छ ।

यसैवीच, कांग्रेस बैठकको पूर्वसन्ध्यामा शशांक, सुजाता र शेखर कोइरालाले पनि आपसी भेटघाट र छलफल बढाएका छन् ।

दृश्य तीनः नयाँ गुटको दस्तावेज आउला ?

चुनावी हारपछि गगन थापा, गुरु घिमिरे, धनराज गुरुङसहित सात युवा नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै केन्द्रीय समिति बोलाउन माग गरेका थिए । अहिलेको नेतृत्वबाट कांग्रेसलाई जनतासँग जोड्न नसक्ने भन्दै उनीहरुले महासमिति बैठक बोलाउन र नेतृत्व हस्तान्तरणको माग गरेका थिए ।

तर, ७ भाइबाट छुटाएर देउवाले विश्वप्रकाश शर्मालाई प्रवक्ता बनाइसकेका छन् । अब हेर्न बाँकी छ, केन्द्रीय कार्यसमितिको समितिमा ६ भाइ कसरी प्रस्तुत हुन्छन् ? के उनीहरुले अब कांग्रेस कसरी अघि बढ्नुपर्छ भनेर साझा दस्तावेज ल्याउलान् ? कांग्रेसभित्र यो पनि अर्को चासोको विषय बनेको छ ।

६ भाइको समूहमा रहेका धनराज गुरुङ, वद्री पाण्डे र गुरु घिमिरे पार्टीमा रामचन्द्र पौडेल गुटका हुन् भने गगन थापा र प्रदीप पौडेल कृष्ण सिटौला नजिक छन् । ६ भाइमध्ये अर्का नेता चन्द्र भण्डारी देउवा छाडेर पौडेल समूहतिर नजिकिएका नेता हुन् ।

र, दृश्य चारः गच्छदार आमन्त्रित सदस्य !

तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले चुनावको मुखमा कांग्रेसमा पार्टी विलय गरे । यसपछि कांग्रेसले केन्द्रीय समिति बैठक बसेको थिएन ।

यसबीचमा फोरम लोकतान्त्रिकबाट आएका कोहीलाई पनि देउवाले केन्द्रीय सदस्य मनोनित गरेका छैनन् । त्यसले अब बिहीबारको केन्द्रीय कार्यसमितिको बैठकमा गच्छदार आमन्त्रित सदस्यका रुपमा मात्रै सहभागी हुने सम्भावना छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्, ‘उहाँहरु विधिवतरुपमा कुनै समितिमा हुनुहुन्न । तर, सभापतिले आमन्त्रित सदस्यका रुपमा बोलाउन सक्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment