Comments Add Comment

के लद्दाखमा जस्तै हिमस्तुपा नेपालमा बन्दैनन् ?

पानी संकलन र रिचार्जमा कहिले ध्यान जाला सरकारको ?

३ माघ, काठमाडौं । हिन्दी फिल्म ‘थ्री इडिएट्स’मा मुख्य पात्र छ, फुङ्चुक वाङ्डु । इन्जिनियरिङ पढ्दै गर्दा उसको नाम हुन्छ, रेन्चोडदास चाँचड । खासमा, यी दुवै पात्रको वास्तविक हिरो हुन्, लद्दाखका सोनाम वाङचुक, जो फिल्मको पात्र वाङ्डु (चाँचड)जस्तै इन्जिनियर हुन् ।

वाङचुककै जीवन कथालाई नाटकीय रुप दिइएको हो, उक्त फिल्म । फिल्मको कथानकतिर नजाऊँ । तर, वाङचुकको कथानक कम प्रेरणादायी छैन । अझ, नेपालको सन्दर्भमा अनुकरणीयसमेत छ ।

हिमाल र हिमताल पग्लिएर पानी रिचार्ज हुने प्राकृतिक शैली विनास हुँदै जाँदा लद्दाखका वाङचुकको दिमागमा फुरेको उपाय अहिले त्यस भेगका बासिन्दाका लागि वरदान सावित भएको छ ।

उनले जनवरी २०१४ मा हिमस्तुपाको अवधारणा ल्याएका छन् । हिउँ पर्ने सिजनमा नजिकका खोलानालाबाट बग्ने पानीलाई पाइपबाट ल्याएर आकाशतिर फोहोराका रुपमा छाड्ने र त्यसबाट हिमस्तुपा बनाउने उनको अवधारणा हो ।

हिउँका रुपमा जम्मा हुने पानीलाई सुख्खायाममा गाउँ, बस्तीमा वितरण गर्दै आएका छन्, वाङचुकले । उनले निर्माण गरेका दुई हिमस्तुपामा डेढ लाख लिटर पानी सञ्चय भयो । र, पानीको हाहाकार हुने सुख्खायाममा स्थानीय बासिन्दाले त्यसको समाधान पाएका छन् ।

सन् २०१५ को वर्षायाममा लद्दाखले विनासकारी भूक्षयको सामना गर्नु पर्‍यो । स्थानीय फुङतल नदी थुनिएर १५ किलोमिटर लामो ताल तयार भयो । उक्त तालका कारण त्यसभन्दा मुनि बसेका बस्ती जोखिममा परे । तालबाट पानी निकाल्ने बेग्लै उपाय निकाले, वाङचुकले ।

सरकारी निकायहरु सुरक्षित रुपमा तालको किनारालाई काट्नुको साटो ताल नै ध्वस्त बनाउने उपाय खोजिरहेका थिए । वाङचुकले साइफन प्रविधिबाट पानी भण्डारण गर्ने प्रस्ताव राखे । तर, सरकारी निकायले उनको प्रस्ताव बेवास्ता गरे । र, ताल फटाउँदा एकसाथ निस्केको पानीले १२ वटा पुल र ठूलो क्षेत्रफलको खेतीयोग्य जमिन बगाइदियो ।

त्यसबाट उनी निरास भएनन् । र, सन् २०१६ मा हिमताल पग्लेर तल्लो तटीय क्षेत्रमा गर्ने विनास रोक्न आफ्नो हिमस्तुपाको अवधारणा प्रभावकारी हुने ठाने ।

वाङचुकको अवधारणालाई नियालिरहेको सिक्किम सरकारले उनलाई आफ्नो राज्यमा खतरनाक अवस्थामा रहेको एक हिमतालको व्यवस्थापनका लागि आमन्त्रित गर्‍यो । सेप्टेम्बर २०१६ मा उनले पश्चिम सिक्किमस्थित तालको व्यवस्थापन थाले ।

तीन साताको उनको प्रयासले परिणाम दियो । र, हिमतालको पानी बाहिर निकाल्ने र त्यसको भण्डारण गर्ने उनको अभियानमा साइफन प्रविधि प्रभावकारी बन्यो ।

त्यतिबेलासम्ममा हिमस्तुपाको अवधारणा भारतको सीमा नाघेर युरोपसम्म चर्चाको विषय बनिसकेको थियो । स्विट्जरल्यान्ड सरकारले हिउँद यामको पर्यटन प्रवर्द्धनका लागि उक्त अवधारणा प्रभावकारी बन्ने निष्कर्ष निकाल्यो ।

अक्टोबर २०१६ मा वाङचुक आफ्नो टोलीसहित स्वीटजरल्यान्डको आल्पस पर्वतमा पुग्यो र हिमस्तुपा तयार पार्‍यो । पानी बचत गर्ने आफ्नो अवधारणाका कारण वाङचुक अहिले संसारभर चिनिएका छन् ।

लद्दाख २७ सयदेखि चार हजार मिटरको उचाइमा पर्छ । माथिल्लो भेगमा जाडोमा माइनस ३० डिग्री सेल्सियससम्म र्झछ, तापक्रम । र, वर्षामा अत्यधिक वर्षा सय मिलिमिटर मात्र हुन्छ ।


नेपाल सन्दर्भ

नेपालमा तीन हजारदेखि चार हजार मिटरको उचाइको भूभागले कुल क्षेत्रफलको नौ प्रतिशत हिस्सा ओगटेको छ । चार हजार मिटरभन्दा माथि कमै आवादी छ । र, जीवन चलाउन पानीको ज्यादा आवश्यकता पनि चार हजार मिटरभन्दा तल नै पर्ने हो ।

सर्वाधिक जनघनत्व रहेको मानिने राजधानी उपत्यकामा दैनिक ३५ करोड लिटर पानीको माग छ । आपूर्ति भने तीन गुणा कम मात्र छ ।

एक तथ्यांकअनुसार नेपालमा पानीको अभाव हिमाली, पहाडी र तराई सबै भेगमा उस्तै छ । २३ सय ८० वटा हिमताल र ६ हजारभन्दा बढी नदीनाला यो संकटसँग जुध्न उपयोग भएका छैनन् ।

एक सरकारी आँकडालाई आधार मान्ने हो भने वर्षेनी दुई सय १० अर्ब क्युबिक मिटर पानी खेर गइरहेको छ, नेपालबाट । वार्षिक दुई सय २५ अर्ब क्युबिक मिटर पानी नेपालमा उत्पादन हुने सरकारी अनुमान पाइन्छ ।

हिउँबाट योगदान गर्ने पानीको परिमाण २० र पहाडी भेगलाई मुहान बनाएर बग्ने नदीनालाको योगदान ८० प्रतिशत रहेको मानिन्छ ।

ठूला शहरहरुमा दैनिक दुई अर्ब ४२ करोड लिटर पानीको माग छ, आपूर्ति भने एक अर्ब ३८ करोड लिटर मात्र छ । ०६८ सालको जनगणनाअनुसार कुल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार र जनही दैनिक २५ लिटर पानीको आवश्यकता हुने आकलनलाई आधार मान्ने हो भने देशभरिको दैनिक माग ६६ करोड २३ लाख ६२ हजार ६ सय लिटर रहेको मान्न सकिन्छ ।

हिमालमा हिमस्तुपा, पहाडमा पोखरीहरु र तराईका लागि चुरेमा चेकड्याम निर्माणको रणनीति अपनाउने हो भने सन्निकट भविष्यमा शुरु हुने पानी अभावको समस्या समाधान गर्न कोशेढुंगा सावित हुन सक्छ ।

पूर्वसचिव भीम उपाध्यायका अनुसार सरकारले प्रतिव्यक्ति दैनिक ४५ लिटर पानी आवश्यक हुने मापदण्ड बनाएको छ । त्यसलाई आधार मान्ने हो भने त एक अर्ब १९ करोड २२ लाख ५२ हजार ६ सय ८० लिटर दैनिक आवश्यक छ । ‘नेपालमा पानी अभाव होइन, व्यवस्थापन हुन नसकेको हो,’ उपाध्याय भन्छन्, ‘यस पाटोमा उल्लेख्य प्रगति हुने हो भने लद्दाखमा अपनाइएको उपाय नेपालमा आवश्यक नहुन सक्छ ।’

तथापि, पूर्वसचिव उपाध्याय पानी रिचार्ज गर्न वर्षाको पानी संकलनका लागि पोखरी खन्नेलगायत उपाय उपयोगी हुने सुझाउँछन् ।

जलस्रोतविद् अजय दीक्षित भने लद्दाखको सिर्जनाको यहाँ पनि उपयोग हुन सक्ने सम्भावना देख्छन् । ‘सानो आकारमा पानी स्टोरेजको राम्रो उपाय हुन सक्छ यो । तर, सधैं एकैनासको तापक्रम पनि आवश्यक हुन सक्छ,’ दीक्षित भन्छन्, ‘सधैं चिसो रहने मनाङ, मुस्ताङ, डोल्पा, रसुवा, सोलुखुम्बुलगायत जिल्लामा हिमस्तुपाको पाइलट प्रोजेक्ट विकास गर्न नसकिने होइन ।’

धेरै खर्च लाग्ने परियोजना पनि होइन यो । नेपालमा पानी अभावको अन्तर्य खोतल्ने गरी बृहत् अध्ययन अहिलेसम्म हुन नसकेको दीक्षित बताउँछन् ।

बढ्दो जनघनत्वका कारण शहरी क्षेत्रमा पानीको प्राकृतिक रिचार्ज अवरुद्ध भएको छ । कारण, शहरी क्षेत्र दिनानुदिन कंक्रिटको जंगलमा रुपान्तरित हुँदैछन् । हिमस्तुपा मात्र होइन, शहरी क्षेत्रको वरिपरि नै सही ठूलो पोखरीहरुको निर्माण गरेर प्राकृतिक रुपमा पानी रिचार्जको माध्यम विकास गर्न सकिने विज्ञहरुको सुझाव छ ।

त्यति मात्रै होइन, विनासको शृंखलाबाट गुजि्ररहेको चुरे क्षेत्रमा चेक ड्यामहरु निर्माण गरेर पानीको प्राकृतिक रिचार्जको व्यवस्था मिलाउन ढिलाइ हुँदै गएको छ । हिमालमा हिमस्तुपा, पहाडमा पोखरीहरु र तराईका लागि चुरेमा चेकड्याम निर्माणको रणनीति अपनाउने हो भने सन्निकट भविष्यमा शुरु हुने पानी अभावको समस्या समाधान गर्न कोशेढुंगा सावित हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment