Comments Add Comment

वाम कार्यदलको बैठक बस्दै, यसरी हुँदैछ भागबण्डा

३ माघ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच राष्ट्रियसभाका ५६ सिटमा ७०/३० प्रतिशतको अनुपातमा बाँडफाँड हुने भएको छ । आज बस्ने वामपन्थी गठबन्धनको संयुक्त कार्यदल बैठकले राष्ट्रियसभाको सिट बाँडफाँड टुंग्याउँदैछ ।

अघिल्लो बैठकमा एमालेले निर्वाचन आयोगबाट प्राप्त मत सहितको तथ्याङ्क माओवादी नेताहरुलाई समेत दिएको थियो । बैठकमा माओवादी नेता रामवहादुर थापा बादलले प्रत्येक प्रदेशमा रहेका सम्बन्धित पार्टीको मतसंख्याका आधारमा सिट बाँडफाँट हुने बताएका थिए ।

स्रोतका अनुसार स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेशसभाका सांसदहरुको संख्याको आँकडा हेर्दा एमाले ७० प्रतिशत र माओवादी ३० प्रतिशत देखिएपछि सोही अनुसार बाँडफाँड गर्न लागिएको हो । एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा अपरान्ह कार्यदलको बैठक बस्दैछ ।

कार्यदलका एक सदस्यका अनुसार वामपन्थी गठबन्धनले ५६ मध्ये बढीमा ४१ सिट जित्ने सम्भावना छ । उम्मेदवारी भने सबै पदमा दिइनेछ । जसको जुन प्रदेशमा जति मत छ त्यहि आधारमा सिट बाँडफाँट गरिने नेताहरुले बताए । त्यसो गर्दा प्रदेश १ र ३ मा एमालेको बहुमत छ भने २ नम्बर बाहेक अन्य प्रदेशमा बामपन्थी गठबन्धनको बहुमत छ ।

आजको बैठकमा माओवादीलाई कुन प्रदेशमा कुन क्लस्टरको सिट लिने भन्ने तयारी सहित आउन भनिएको कार्यदलका सदस्य एमाले नेता सुरेन्द्र पाण्डेले अनलाइनखबरलाई बताए । उनले बाँडफाँड ७०/३० कै हाराहारीमा हुने आधार मतसंख्याले देखाएको जानकारी दिए ।

बहुमतीयबाट जित्ने दलित र अल्पसंख्यक/अपांग कोटा दुवै दलले मिलाएर बाँडफाँड गर्नेछन् । त्यसो गर्दा सम्बन्धित पार्टीका नेताहरुको व्यवस्थापनलाई पनि आधार बनाइएको छ । त्यस्तै एकल संक्रमणीयबाट जित्ने ३ महिला र ३ खुला सदस्यमा प्राथमिकता क्रमका आधारमा बाँडफाँड हुनेछ ।

कार्यदलले आज सिटसंख्या टुंगो लगाएपछि पार्टी एकता संयोजन समितिमा पेश गरिनेछ । राष्ट्रियसभाको बाँडफाँड टुंगिएपछि प्रदेशका मुख्मन्त्री, मन्त्री र सभामुख तथा उपसभामुखको बाँडफाँड हुने पाण्डेले बताए ।

कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन् । माओवादीबाट रामबहादुर थापा ‘बादल’, वर्षमान पुन ‘अनन्त’र मात्रिका यादव छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment