Comments Add Comment

१५ करोड लगानीमा घोराहीमा खुल्यो राप्तीकै ठूलो होटल

थ्री स्टार मान्यताको लागि सरकारमा निवेदन

३ माघ, दाङ । दाङको घोराहीमा १५ करोड लगानीमा ‘होटल माला इन’ खुलेको छ । यसलाई राप्ती अञ्चलकै सबैभन्दा ठूलो लगानीको होटल मानिएको छ ।

माला इन प्रा.ली. का अध्यक्ष ओविन्द्रबहादुर महराका अनुसार ५१ बेडरुमको यो होटलमा १३ करोड रुपैयाँको भौतिक पूर्वाधार निर्माण गरिएको छ । यसअघि घोराहीमै २६ बेडरुम भएको होटल सीटी प्लाजा सञ्चालन भइरहेको छ ।

‘राप्ती अञ्चलमा अहिलेसम्म कुनै पनि होटलमा लिफ्टको व्यवस्था गरिएको छैन,’ प्रालीका अध्यक्ष महराले भने, ‘हाम्रोमा लिफ्ट पनि छ र अत्याधुनिक सुविधासहितको सेवा दिने छौं ।’

होटलले थ्री स्टार मान्यताको लागि सरकार समक्ष निवेदन समेत दिएको छ । आफूहरुको मापदण्ड पूरा भएकाले थ्री स्टारको मान्यता पाउनेमा विश्वस्त भएको महराले जानकारी दिए । ‘अण्डर ग्राउण्डसहित ६ तले होटलका सबै कोठामा बाहिरी प्रकाश राम्रोसँग जान्छ,’ उनले भने, ‘पाँच ओटा भीआईपी रुमहरुको समेत व्यवस्था गरेका छौं ।’

होटलले आफ्नै ट्रिटमेण्ट प्लान्टसहितको खानेपानीको व्यवस्था गरेको छ । होटलमा नेपाली, इण्डियन, चाइनिज र थाई परिकार पाइने छ ।

होटलमा अनलाइन वुकिङको व्यवस्था गरिएको छ । पर्यटकहरुलाई मध्यनजर गरेर भैरहवा, नेपालगञ्ज र तुलसीपुर विमानस्थलसम्म होटलले डेलिभरी सेवा दिने छ । होटलमा न्यूनतम दुई हजारदेखि अधिकतम सात हजार पाँच सय रुपैयाँ शुल्कका कोठा छन् ।

केही समयभित्रै दाङका पर्यटकीय गन्तव्य तथा प्यूठान स्थित स्वर्गद्धारी मन्दिसम्मको टुर प्याकेजसहितको सेवा दिने योजना रहेको महराले जानकारी दिए ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले दाङ पछिल्लो समय पश्चिम नेपालकै आर्थिक केन्द्रविन्दु बन्दै गएकाले गुणस्तरीय होटलको आवश्यकता बढेको बताए । उनले आगामी दिनमा अन्य ठूला लगानीका होटलहरु पनि खुल्ने अपेक्षा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment