Comments Add Comment

बुद्धका पेन्टिङमार्फत अमेरिकामा नेपाल चिनाउँदै सुवोध

३ माघ, अमेरिका । भगवान गौतम बुद्धका विभिन्न भावभंगीलाई कल्पनाका माध्यमबाट क्यानभासमा उतारेर बुद्ध जन्मेको प्रकृतिसँग जोडी अमेरिकाको राजधानी वासिंगटन डीसीमा पेन्टिङ प्रदर्शनी गरिएको छ ।

कलाकार सुवोध घिमिरेले वासिंगटन डीसीस्थित ग्यालरी अन्डरग्राउण्डमा ‘पीस ईन एब्स्ट्रयाक्सन’ शीर्षकमा गरेको प्रदर्शनीमा अवलोकनकर्ताहरुले उनका केही कलाकृति महंगो मूल्यमा खरिद गरेका छन् ।

खरिदकर्ता तथा अवलोकनकर्ताले चाहेमा कलाकारसँग साक्षात्कार गर्न पाइने गरी आयोजित सो प्रदर्शनीमा माघ ३ गते मंगलबार उनले बुद्धसँग जोडिएको भूमि र त्यसमा आफ्नो कल्पनालाई कलामा उतारेको विवरण प्रस्तुत गरेका थिए ।

चिन्तन मुद्राका सिद्धार्थ गौतमले कपिलवस्तुस्थित आफ्नो दरबार क्षेत्रमा बसेर चिन्तनमा व्यस्त रहँदा देखेको पहाड र हिमाल अहिले पनि उस्तै रहेको सुनाउँदै घिमिरेले आफूले सो स्थानमै पुगेर त्यहाँको वस्तुस्थितिको अध्ययन गरी सो हिमाल र पहाडसमेत देखिने गरी बुद्धको चित्र उतारेको जनकारी दिए ।

‘२५ सय बर्षअघि बुद्धलाई बैराग्य आउँदा तिलौराकोटबाट जुन प्रकृति देखिन्थ्यो त्यो अहिले पनि जस्ताको तस्तै छ, मैले त्यही प्रकृतिको कोख शान्तिको उद्गमस्थल हो भन्ने सन्देश दिने प्रयत्न मेरो पेन्टिङमा गरेको छु’, उनले भने ।

जनवरी २६ सम्म चल्ने अमेरिकामा भएको उनको पहिलो प्रदर्शनीमा बुद्धसँग सम्बन्धित अमूर्तसमेत गरी चित्रहरु ९ वटा तथा नेपाललाई चिनाउने सगरमाथा र नेपाली ग्रामीण तथा शहरी परिवेश झल्कने अन्य गरी २५ वटा चित्रहरु राखिएका छन् ।

यीमध्ये न्यायका प्रतीकका रुपमा प्रचलित मुद्राभन्दा भिन्न तर न्याय दरिलो हुनुपर्ने मान्यतालाई बलपुग्ने गरी कालभैरवको चित्रमा पनि धेरै अवलोकनकर्ताहरुको चासो रहेको उनले बताए । नेपाल प्रहरीमा एसएसपीसम्मको दर्जामा काम गरेर सेवानिवृत्त भएका उनले बितेका ९ वर्षमा फ्रान्समा सातपल्ट आफ्ना चित्रहरु प्रदर्शनी गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment