Comments Add Comment

दिल्लीमा पेट्रोलको मूल्य आकाशियो, नेपालमा तस्करीको डर

भारतभन्दा नेपालमा २७ रुपैयाँ सस्तो !

३ माघ, काठमाडौं । भारतीय बजारमा यतिखेर पेट्रोलियम पदार्थको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । भारतीय आयल निगम (आईओसी) ले आफ्नो आधिकारिक वेवसाइटमा उल्लेख गरेअनुसार राजधानी नयाँ दिल्लीमा बुधबार पेट्रोलको मूल्य प्रतिलिटर ७१ रुपैयाँ ३९ पैसा (भारतीय रुपैयाँ) पुगेको छ । त्यस्तै, डिजेलको यस्तो मूल्य ६२ रुपैयाँ ६ पैसा भारु पुगेको छ ।

दिल्लीमा कायम भएको बुधबारको मूल्यसूची अनुसार डिजेलले ऐतिहासिक रेकर्ड चुमेको छ । पेट्रोल भने साढे तीन वर्षयताकै उच्च बिन्दूमा पुगेको छ । १६ साउन २०७१ मा पेट्रोलको मूल्य प्रतिलिटर ७२ रुपैयाँ ५१ पैसा भारु थियो ।

दिनदिनै उकालो चढ्दै

भारतमा यतिखेर पेट्रोलियमको मूल्य दिनदिनै उकालो चढिरहेको छ । गत आइतवार ७१ रुपैयाँ ६ पैसा भारु प्रतिलिटर रहेको पेट्रोलको मूल्य सोमबार ७१ रुपैयाँ १८ पैसा भारु र मंगलवार ७१ रुपैयाँ २७ पैसा भारु पुग्यो । त्यस्तै, आइतवार डिजेलको मूल्य ६१ रुपैयाँ ५६ पैसा भारु रहेकामा सोमबार ६१ रुपैयाँ ७४ पैसा भारु हुँदै मंगलबार ६१ रुपैयाँ ८८ पैसा भारु पुग्यो ।

करिव १५ दिनको अवधिमा त्यहाँ पेट्रोलको मूल्य प्रतिलिटर झण्डै डेढ रुपैयाँले बढेको छ भने डिजेल झण्डै अढाई रुपैयाँले बढेको छ ।

भारतमा डिजेलको मूल्य गत गत जुलाईमा ५३ रुपैयाँ ३३ पैसा भारु थियो । त्यसयता अगस्टमा ५५ रुपैयाँ ५८ पैसा, सेप्टेम्बरमा ५७ रुपैयाँ १३ पैसा र अक्टोबरमा ५८ रुपैयाँ ९२ पैसा पुगेको थियो । गत नोभेम्बरमा प्रतिलिटर डिजेलको यस्तो मूल्य घटेर ५७ रुपैयाँ ७३ पैसा पुगे पनि डिसेम्बरमै ५८ रुपैयाँ ४० पैसा पुगेर जनवरीमा थप बढ्न पुगेको छ ।

गत जुलाईमै भारतमा पेट्रोलको मूल्य प्रतिलिटर ६३ रुपैयाँ ९ पैसा भारु थियो । गत अगष्टमा प्रतिलिटर पेट्रोलको मूल्य ६५ रुपैयाँ ४० पैसा, सेप्टेम्बरमा ६९ रुपैयाँ २६ पैसा, अक्टोबरमा ७० रुपैयाँ ७६ पैसा पुगेको थियो । नोभेम्बरमा उक्त मूल्य घटेर ६९ रुपैयाँ १४ पुगे पनि डिसेम्बरमा फेरि बढेर ६९ रुपैयाँ २२ पैसा पुगेको थियो ।

नेपालमा २७ रुपैयाँसम्म सस्तो, तस्करीको जोखिम

नेपाल आयल निगमका अनुसार आईओसीले मंगलबार पठाएको मूल्यसूचीअनुसार नेपालमा हाल पेट्रोलको मूल्य भारतीय बजारमाभन्दा २१ रुपैयाँ ४६ पैसा र डिजेल २७ रुपैयाँ ३८ पैसा सस्तो छ । हाल रक्सौलमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १२० रुपैयाँ ९६ पैसा छ भने वीरगञ्जमा त्यही पेट्रोल ९९ रुपैयाँ ५० पैसामा पाइन्छ । त्यस्तै, रक्सौलमा १०४ रुपैयाँ ८८ पैसा प्रतिलिटर पर्ने डिजेल विरगञ्जमा ७७ रुपैयाँ ५० पैसामा किन्न पाइन्छ ।

भारतीय बजारको भन्दा निकै सस्तो भएकाले नेपाल आएको पेट्रोलियम तस्करी वा अन्य विभिन्न माध्यमबाट भारत नै फर्किने गरेको निगम बताउँछ । त्यसको चापले माग धान्न निगमलाई निकै सकस पर्दै आएको निगमका अधिकारीहरू बताउँछन् । ‘अहिले जति डिजेल ल्याए पनि पुर्‍याउनै धौधौ परिरहेको छ,’ निगमका कार्यवाहक कार्यकारी निर्देशक सुशील भट्टराई भन्छन् ।

किन बढ्यो पेट्रोलियमको मूल्य ?

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० डलर पुगेको छ ।

पछिल्लो समयमा संसारका प्रमुख तेल उत्पादक मुलुकहरूको साझा संस्था (ओपेक) ले उत्पादन कटौती गरिरहेका छन् । ती मुलुकले उत्पादनमा कटौती गर्दा माग बढी मूल्य वृद्धि भएको हो ।

ओपेकको उत्पादन कटौती गर्ने निर्णयमा तेल उत्पादक तर ओपेकमा अावद्ध नभएकाे (ननओपेक) रुसले पनि साथ दिइरहेको छ । ननओपेकमा सबैभन्दा बढी तेल उत्पादन रुसले गर्छ । अहिले साउदी र रुसको स्वार्थ मिलेपछि मूल्य बढाउन सहयोगी भएको छ ।

पहिले अमेरिकाले ओपेक र रुसलाई दुई कित्तामा विभाजन गरेर मूल्य घटाउने रणनीति लिए पनि पछिल्लो समय अमेरिका यसमा असफल भएको छ । त्यसमा साउदी अरबको साथ थियो । पछिल्लो समय अस्वाभाविक मूल्य घट्दा अर्थतन्त्रमा नकारात्मक असर परेपछि साउदीले उत्पादन कटौती गर्ने निर्णयमा पुगेको बताइन्छ ।

पछिल्लो समय ओपेक र रुस रणनीतिक रुपमै पेट्रोलियमको मूल्य बढाउन लागेका छन् । मूल्य बजारले तोक्ने भएपनि उत्पादनमा कटौती ल्याउनेवित्तिकै त्यसको असर मूल्यमा पर्छ ।

उत्पादन कटौतीसँग अहिले अमेरिकाको पेट्रोलियम भण्डारण घटेको छ । त्यसले पनि बजारमा मूल्य निर्धारणका लागि ठूलो भूमिका खेल्दै आएको छ ।

एकातिर संसारभरी पेट्रोलियमको माग बढ्नु अर्कोतिर उत्पादन कटौतीले तेलको मूल्य लगातार आकाशिएको छ ।

अन्तर्राष्ट्रिय मूल्यका आधारमा भारतले आन्तरिक बजारमा पेट्रोलियम मूल्य समायोजन गर्छ, त्यसैका आधारमा नेपालमा पनि मूल्य निर्धारण गर्ने परिपाटी छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा छिटो -छिटो उतारचडाव आउन थालेपछि भारतले पछिल्लो समय दैनिक मूल्य समायोजन गर्न थालेको छ । भारतले जुन १६ देखियता दैनिक मूल्य समायोजनमा गएको हो । त्यसअघि भारतले पनि १५/१५ दिनमा मूल्य समायोजन गर्थ्याे । नेपालमा भने अझै १५/१५ दिनमा मूल्य समायोजन गर्छ ।

एक लिटरमै पाँच रुपैयाँ घाटा

निगमका अनुसार मंगलवार भारतबाट नयाँ मूल्यसूची आएपछि घाटा थप चुलिएर जाने भएको छ । नयाँ मूल्यसूची अनुसार निगमलाई अब डिजेलमा प्रतिलिटर पाँच रुपैयाँ १९ रुपैयाँ घाटा पुगेको छ भने पेट्रोलमा एक रुपैयाँ २ पैसामात्र नाफा छ ।

यसअघि निगमलाई प्रतिलिटर डिजेलमा दुई रुपैयाँ ७१ पैसा घाटा थियो भने पेट्रोलमा दुई रुपैयाँ ८३ पैसा नाफा थियो । आईओसीबाट नयाँ मूल्यसूची आएपछि निगमको मासिक घाटा नै करिब ६८ करोड रुपैयाँ पुग्ने प्रक्षेपण छ ।

यससँगै अब निगमलाई डिजेलमा करीव अढाई रुपैयाँ र पेट्रोलमा २ रुपैयाँको अतिरिक्त चाप परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment