Comments Add Comment

गगन थापाकाे चुनाव खर्च २४ लाख, माधव नेपालकाे १४ लाख

प्रकाशमानकाे १७ लाख रवीन्द्र मिश्रकाे १४ लाख

३ माघ, काठमाडौँ ।  काठमाडौँ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका १५२ उम्मेदवारले खर्च विवरण बुझाएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका ३९३ उम्मेदवारमध्ये १५२ जनाले खर्च विवरण बुझाएको क्षेत्रीय निर्वाचन कार्यालयका क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार प्रतिनिधिसभाका ६१ र प्रदेशसभाका ९१ जना उम्मेदवारले खर्च विवरण बुझाएका छन् । काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यतर्फ १७१ र प्रदेशसभा सदस्यतर्फ २२२ जनाले उम्मेदवारी दिएका थिए ।

क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालका अनुसार काठमाडौँ क्षेत्र नं २ बाट विजय भएका नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले १४ लाख ९० हजार, क्षेत्र नं ५ बाट विजयी एमालेका महासचिव ईश्वर पोखरेलले २४ लाख १४ हजार ७८, क्षेत्र नं १ बाट विजय नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १७ लाख ३० हजार ५००, क्षेत्र नं ४ बाट उम्मेदवार विजयी कांग्रेसका युवा नेता गगन थापाले २४ लाख १३ हजार १०० रूपैयाँ खर्च विवरण बुझाएका छन् ।

यसैगरी काठमाडौँ क्षेत्र नं ३ बाट विजय भएका कृष्ण राईले २२ लाख ५६ हजार र क्षेत्र नं ९ बाट विजयी एमालेका नेता कृष्णगोपाल श्रेष्ठ १२ लाख ७८ हजार रूपैयाँ खर्च विवरण बुझाएका छन् ।

यसैगरी विवेकशील साझा पार्टीबाट काठमाडौँ क्षेत्र नं १ मा उम्मेदवार बनेका रवीन्द्र मिश्रले १३ लाख ८९ हजार २१४ र काठमाडौँ क्षेत्र नं ५ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले १६ लाख ४१ हजार रूपैयाँ खर्च विवरण बुझाएका छन् ।

माघ २ गतेसम्म प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारलाई निर्वाचन खर्च बुझाउने समयसीमा तोकिएको थियो । निर्वाचन खर्च विवरण बुझाउनेले तोकिएको सीमामा नै खर्च विवरण बुझाएका छन् । प्रतिनिधिसभा सदस्यका लागि २५ लाख र प्रदेशसभा सदस्यका लागि १५ लाख रूपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था छ ।

उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन–२०७४ को दफा ७२ को उपदफा (४) र प्रदेशसभा सदस्य निर्वाचन ऐन–२०७४ को दफा ७२ को उपदफा (४) अनुसार निर्वाचनमा भएको खर्च विवरण निर्वाचनको परिमाण घोषणा भएको ३५ दिनभित्र बुझाउनुपर्ने व्यवस्था छ ।

खर्च विवरण नबुझाउने उम्मेदवारलाई छ वर्षसम्म उम्मेदवार हुन नपाउने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment