Comments Add Comment

भक्तपुरमा आजदेखि क्याथल्याव सेवा सञ्चालनमा

३ माघ, काठमाडौ । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले बुधवारदेखि अत्याधुनिक प्रविधियुक्त क्याथल्याव सेवा सञ्चालनमा ल्याएको छ ।

झण्डै सात करोड रुपैयाँ लगानीमा केन्द्रले सञ्चालनमा ल्याएको उक्त क्याथल्याव सेवाले मुटुको प्रत्यारोपण सुरु गर्न महत्वपूर्ण भूमिका मानिएको छ ।

केन्द्रले भक्तपुर जिल्लामै पहिलो पटक सञ्चालनमा ल्याएको उक्त क्याथल्याव सेवाबाट मुटुको नशा बन्द भए, नभएको थाहा पाउन एञ्जियोग्राफी, हृदयाघात भएका बिरामीको बन्द नशा खुलाउन एञ्जियोप्लाष्टी, मुटुको बन्द भल्भ खोल्ने भल्भुलोप्लाष्टी र धड्कन सम्बन्धी पेशमेकर सेवा उपलब्ध हुने केन्द्रका मुटुरोग विशेषज्ञ डा. कार्तिकेश ठाकुरले जानकारी दिए ।

क्याथल्याब सेवामार्फत वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा यादव देव भट्ट तथा डा. कार्तिकेश ठाकुरको टोलीले पहिलोपटक भक्तपुर ददिकोट निवासी विमला न्यौपानेको एञ्जियोग्राफी गरेको थियो ।

उक्त टोलीमा डा. केशव बुढाथोकी, मेडिकल अधिकृत डा. अचुत खनाल, क्याथल्याब टेक्निसियन अजय शाह, रेडियोग्राफर शुसिल श्रेष्ठ, स्टाफ नर्स संजिता दुलाल, तारा साँध, सोनिया गिरी तथा रमिता लामा संलग्न थिए ।

केन्द्रमा यस किसिमको सेवा सुरु भएसँगै देशभरका मुटुरोगीहरुले थप राहत पाउने केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

मृगौला तथा कलेजो प्रत्यारोपण, नेफ्रोलोजी तथा युरोलोजी जस्ता सेवा सञ्चालन गर्दै आएको केन्द्रमा हाल मुटु रोग लागेका विपन्न नागरिकको लागि राज्यले उपलब्ध गराउने एक लाख रुपैयाँ बराबरको सेवा सुविधा उपलब्ध हुनुका साथै १५ वर्ष मुनीका बालबालिका तथा जेष्ठ नागरिकको मुटुको उपचार तथा मुटुको बाथरोगको निःशुल्क शल्यकि्रया उपलब्ध हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment