Comments Add Comment

बाबुराम कुँवरः ५ नम्बरका बासिन्दालाई ४ नम्बरको चिठ्ठा !

प्रदेश प्रमुख कुँवर भन्छन्- पार्टीभन्दा माथि उठेर काम गर्छु

४ माघ, पोखरा । प्रदेश नम्बर ४ को प्रमुख को बन्ला भन्ने चासोका बीच अर्कै प्रदेशमा पर्ने अर्घाखाँचीका बासिन्दा बाबुराम कुँवर बुधबार नियुक्त भए । प्रदेश नम्बर ५ का वासिन्दा कुँवर ४ नम्बर प्रदेश प्रमुखमा नियुक्त भएका छन् । उनी पूर्वमहान्यायाधिवक्ता भए पनि प्रदेश प्रमुखका रुपमा खासै चर्चामा आएका व्यक्ति होइनन् ।

बरिष्ठ अधिवक्ता कुँवर पृथ्वीनारायण क्याम्पस पोखरामा कानुन विषयको पहिलो ब्याचका विद्यार्थी हुन् । पृथ्वीनारायण क्याम्पसमा ०३४/३५ सालमा कानुन विषय पढेका कुँवरले झन्डै ३० वर्षदेखि काठमाडौंमा वकालत गर्दै आएका थिए ।

प्रदेश नम्बर ५ मा पर्ने जिल्लाका स्थायी बासिन्दा कुँवर सुशील कोइराला प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेका थिए । कुँवर कांग्रेसनिकट कानुन व्यवसायीको छाता संगठन डेमोक्रेटिल लयर्स एसोसिएसनका पूर्वअध्यक्षसमेत हुन् ।

कुँवरले संघीयता कार्यान्वयनको चुनौतीपूर्ण अवस्थामा निर्विकल्प राजधानी बनेको पोखरामा काम गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् ।

‘हामीले संघीयताको नयाँ प्रयोग गर्न लागेका कारण पनि यसको कार्यान्वयनमा ठूलो चुनौती छ, संघीयताको सैद्धान्तिक कुरा त जानकारी छ तर प्रयोगमा बल्ल जाँदैछौं,’ कुँवरले अनलाइनखबरसँग भने, ‘४ नम्बर प्रदेशलाई अभिभावकत्व प्रदान गर्न वातावरण मिल्नेछ भन्ने आशा छ ।’

कांग्रेसको सिफारिसबाट प्रदेश प्रमुख नियुक्त भए पनि आफू दलभन्दा माथि उठेर काम गर्ने बताए । विचार राख्नेक्रममा कुनै दलनजिक देखिए पनि व्यवहारमा आफू कहिल्यै दलीय हिसाबले नलागेको उनले सुनाए ।

‘मैले लामो समय न्याय क्षेत्रमा गुजारेको छु, तर विवाददित हुनुपरेन । निजी रुपमा होस् वा सरकारी रुपमा, वकालत गर्दा न्यायको पक्षमा लडेको हुँ,’ कुँवरले भने, ‘संविधान निर्माणदेखि विभिन्न उपसमितिमा राय सुझाव दिने काम गरें ।’

कानुनी क्षेत्रमा कार्यरत रहेको व्यक्ति भएकाले आफूले प्रदेश प्रमुख पाउँछु भन्ने नलागेको उनले बताए । ‘महान्यायाधिवक्ताबाट राजीनामा दिएपछि पनि न्याय क्षेत्रमा थुप्रै अफर आएका थिए तर म गइनँ,’ कुँवरले भने, ‘अहिले प्रदेश प्रमुखमा सरकारले नियुक्त गरेको छ, म राष्ट्रको हितमा खटिनेछु ।’

प्रदेशभन्दा पहिले अर्घाखाँची पनि पश्चिमाञ्चल क्षेत्रकै सदस्य भएकाले अहिले आफू प्रदेश नम्बर ५ मा परे पनि ४ नम्बर प्रदेशमै जान इच्छा व्यक्त गरेको कुँवरले बताए ।

‘पृथ्वीनारायण क्याम्पसमा कानुन विषयको पहिलो ब्याचको विद्यार्थी हुने सौभाग्य पाएँ, पोखरासँग मेरो आत्मीयता जोडिएको छ,’ कुँवरले भने, ‘प्रदेश नम्बर ४ हरेक हिसाबले सम्भावना भएको प्रदेशको रुपमा मैले चिनेको छु ।’

सरकारले बुधबार सातै प्रदेशको अस्थायी सदरमुकाम र प्रमुख नियुक्त गरेको हो । प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । ५ मा राजपा र १ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको छ भने ५ जना कांग्रेसको सिफारिसमा प्रमुख नियुक्त भएका छन् ।

प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ ।

लामो प्रयास र विवादका बीच सरकारले अस्थायी मुकामसमेत तोकेको हो । प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी अस्थायी मुकाम तोकिएको छ । प्रदेश ६ र ४ बाहेक अन्यको राजधानीलाई लिएर आन्दोलन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment