Comments Add Comment

डोटीको दिपायल र सिलगढीमा प्रदर्शनकारीले प्रधानमन्त्रीको पुत्ला जलाए

४ माघ, डोटी । प्रदेश ७ को राजधानी कैलाली तोकेको विरोधमा दिपायल र सिलगढीमा प्रदर्शनकारीले प्रधानमन्त्री शेरबहादुर देउवाको पु्त्ला जलाएका छन् । बुधबारको मन्त्रिपरिषद बैठकले प्रदेश ७ को राजधानी कैलालीको धनगढी तोकेको विरोधमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

दिपायलमा जुलुसले नगर परिक्रमा गरी सेती पुलनजिकै पुत्ला जलाएका हुन् । प्रदर्शनकारीले परालको शव बनाई शवयात्रासमेत गरेका थिए । जिल्ला सदरमुकाम सिलगढीमा इन्द्रचोकबाट निकालिएको जुलुस नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर पुत्ला जलाइएको हो । प्रदर्शनकारीले एमाले उपाध्यक्ष भीम रावल, माओवादी केन्द्रका नेता लेखराज भट्ट विरुद्ध पनि नाराबाजी गरेका थिए ।

डोटीमा आन्दोलन संयोजन समितिले प्रदेश ७ का सबै पहाडी जिल्लाको यातायात ठप्प पार्ने चेतावनी दिएका छन् । आन्दोलन संयोजन समितिको बिहीबार बसेको बैठकले डोटीको बुडरमा यातायात बन्द गर्ने निर्णय गरेको हो । बुडरमा भीमदत्त राजमार्ग अवरुद्ध गरेपछि डोटी, बझाङ, अछाम, बाजुरा, डडेल्धुरा, बैतडी र दार्चुलासम्म यातायात सञ्चालन गर्न कठिनाई हुन्छ ।

बुडर बजार डोटीमा पर्छ । दिपायलमा मात्रै बन्द गरेर सरकारले आफ्नो माग नसुनेकोले थप दवाव दिन बुडरमा गएर आन्दोलन गर्नु परेको समितिका संयोजक नरेन्द्रबहादुर खड्काले बताए । उनले भने ‘अब पुरै पहाडी जिल्लाहरु ठप्प पार्नुपर्ने भयो, आन्दोलनको बलबाटै सरकारलाई बुधबारको निर्णय परिवर्तन गराउन बाध्य बनाउँछौं ।’

बिहीबारको बैठकले अस्थायी मुकाम तोक्ने निर्णयको भत्र्सना गर्दै क्षेत्रीय प्रशासन कार्यालयमार्फत सरकारलाई विरोध पत्र दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment