Comments Add Comment

देशले प्रधानमन्त्री पाउनुअघि प्रदेशले मुख्यमन्त्री पाउने

अब यसरी चयन हुनेछन् प्रदेशका मुख्यमन्त्री, मन्त्री र सभामुख

४ माघ, काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभातर्फका समानुपातिक सांसदहरुको नतिजा सार्वजनिक गरेपछि अब प्रदेश सरकार गठनको संवैधानिक प्रक्रिया शुरु भएको छ । राष्ट्रियसभा निर्वाचनपछि मात्र प्रतिनिधिसभाको परिणाम सार्वजनिक हुने भएकाले संघीय सरकारको प्रधानमन्त्री चयन हुनुअघि नै प्रदेश सरकारको मुख्यमन्त्री चयन हुने देखिएको छ ।

सरकारले प्रदेश प्रमुख र मुकाम तोकेलगत्तै निर्वाचन आयोगले प्रदेशसभाको नतिजा सार्वजनिक गरेको छ । शुक्रबार निर्वाचन आयोगले उनीहरुलाई विजयी भएको प्रमाणपत्र दिनेछ ।

त्यसलगत्तै प्रदेश सभा र प्रदेश सरकार दुवैको गठन प्रक्रिया फटाफट अघि बढ्ने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

फागुन ३ अघि नै मुख्यमन्त्री चयन

संविधानअनुसार प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र मुख्यमन्त्री नियुक्त हुनुपर्छ । संविधानतः फागुन ३ गतेभित्र सातै प्रदेशका मुख्यमन्त्री नियुक्त भइसक्ने छन् । उनीहरुले त्यसको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।

राष्ट्रियसभा निर्वाचन प्रक्रिया र त्यसपछि मात्र प्रतिनिधिसभाको समानुपातिक सिट वितरण गर्ने निर्वाचन आयोगको कार्यतालिकाका कारण मुलुकले प्रधानमन्त्री पाउन भने अझै कम्तीमा डेढ महिना कुर्नुपर्ने देखिएको छ । प्रधानमन्त्रीभन्दा पहिले मुख्यमन्त्री र प्रदेश सरकार गठन हुने भएको छ ।

त्यसैले दलहरु अब राष्ट्रियसभा निर्वाचनसँगै प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुखहरु चयनमा केन्दि्रत हुनुपर्ने भएको छ । प्रदेशसभाको अन्तिम निर्वाचन परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक बाध्यता छ ।

राष्ट्रियसभा निर्वाचनसँगै प्रदेश संसद अधिवेशन

राष्ट्रियसभा निर्वाचन र प्रदेश संसदको अधिवेशन सँगै हुने भएको छ । राष्ट्रियसभा माघ २४ गते निर्वाचन छ भने प्रदेश संसदको अधिवेशन माघ २३ भित्र बोलाइसक्नुपर्नेछ । प्रदेश सांसदहरुले आ आफ्नो प्रदेशमै राष्ट्रियसभाका सदस्यहरुलाई मतदान गर्नुपर्ने भएकाले सपथग्रहण र पहिलो बैठकमा भाग लिएर उनीहरु राष्ट्रियसभा निर्वाचनमा सहभागी हुनेछन् ।

प्रदेशको संसद अधिवेशन बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्नेछ । त्यसैले मुख्यमन्त्री चयन र सभामुख उपसभामुख चयन पनि एक दुई दिनको अघिपछिमा हुने कानुनमन्त्री यज्ञबहादुर थापाले बताए ।

‘अब प्रदेश सरकार र प्रदेशसभाका पदाधिकारी चयनको बाटो खुलेको छ’ थापाले भने ‘केन्द्र सरकार चाहिँ हामीले फागुन ७ मा प्रजातन्त्र दिवस मनाएपछि मात्र संवैधानिक प्रक्रिया पूरा गरेर हस्तान्तरण गर्ने हो’ । सबै प्रक्रिया पूरा गर्दा फागुन १५ अघि केपी शर्मा ओली प्रधानमन्त्री बन्न नपाउने सत्तापक्षको ठम्याई छ ।

प्रधानमन्त्री पाउन अझै डेढ महिना !

संविधान अनुसार प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३० दिनभित्र बहुमत प्राप्त संसदीय दलको नेता प्रधानमन्त्री हुनेछन् । तर प्रतिनिधिसभाले पूर्णता पाउन राष्ट्रियसभाको निर्वाचनपछि पनि दुई साता लाग्न सक्ने अनुमान गरिएको छ ।

माघ २४ गते राष्ट्रियसभा निर्वाचन तोकिएको छ । त्यसको परिणाम घोषणा गर्न कम्तिमा तीन दिन लाग्ने आयोगको अनुमान छ । राष्ट्रियसभाको परिणामपछि आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट सार्वजनिक गर्नेछ । त्यस आधारमा दलहरुलाई महिलाको संख्या किटेर सात दिनभित्र विजयी उम्मेदवारको नाम पेश गर्न समय दिनेछ ।

दलहरुले ७ दिनभित्र नाम पेश गरेपछि पुनः नाम सच्याउनका लागि एक साताको समय दिनेछ । प्रदेशसभाको हकमा त एक महिनासम्म नाम सच्याउने अवसर आयोगले दिएको थियो । दलहरुले पेश गरेका नाम क्लस्टर अनुसार मिले नमिलेको हेरेरमात्रै आयोगले अन्तिम नतिजा सार्वजनिक गर्दा अहिलेको सरकारले प्रजातन्त्र दिवस मनाइसकेको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment