Comments Add Comment

चितवनमा हवाई यात्रुको अत्यधिक चाप, टिकट पाउनै मुश्किल

४ माघ, चितवन । ५ वर्षअघि भरतपुरदेखि काठमाडौंसम्मको विमान भाडादर २६ सय ५० थियो । मानिसहरु भरतपुर विमानस्थल वरपर जहाज हेर्ने पखाईमा हुन्थे । विमानस्थलको बाहिरी जालीबाट नियाल्थे, तर जहाज नै चढ्ने आँट गर्दैनथे । दैनिक मुश्किलले ४ वटासम्म उडान हुन्थ्यो ।

हिजोआज भाडादर तीन हजार पाँच सय निर्धारण गरिएको छ । यहाँबाट हुने उडानमा टिकट पाउँदा ठूलै युद्ध जितेजस्तो हुन थालेको छ । टिकट पाउन दबाब र सोर्सफोर्स पनि हुन्छ । कहिलेकाहीँ त विमानस्थल आमसभा गर्ने ठाउँजस्तै बन्छ । सानो टर्मिनल भवनमा बस्ने ठाउँ त परको कुरा, उभिएर भीड छिचोल्न समेत मुश्किल हुन्छ ।

वुद्ध एयरका भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेत दैनिक १ हजारभन्दा बढी फोन आउने बताउँछन् । उनी भन्छन्, ‘कतिबेला विमानको आवाजले पनि फोन उठाउन सकिदैन । दिनभर जस्तो नै तनाव हुन्छ । कतिपय साथीभाइ टिकट माग्दा पनि नदिने भनेर रिसाउँछन्, बाध्यता बुझ्दैनन् ।’

बस्नेतको जस्तै समस्या छ यति एयरलाइन्सका एसिसटेन्ट स्टेशन इन्र्चाज अनुप ढकालको पनि । ‘दैनिक सयौं यात्रु टिकट नपाएर र्फकने गरेका छन् । कतिपय हाम्रा नै लिमिटेसनहरु हुन्छन्, कतिपय प्राविधिक विषय पनि ।’

हवाई यात्रुको बढ्दो चापबारे भरतपुर विमानस्थलका प्रमुख पवन गौतम भन्छन् ‘यहाँका मानिसका लागि विमानको यात्रा युज टु भइसक्यो, सुविधाभोगी भयौं, ब्यापारिक केन्द्र पनि हुँदै गएको छ । विहान गएर बेलुका आउने प्रवृत्ति पनि बढेको छ । टुरिजम पनि बढ्यो । सेफ्टीको कुरा पनि भयो ।’

भरतपुरबाट काठमाडौं र पोखरा उडान हुँदै आएको छ । भैरहवा र बाराको बीचका भेगका यात्रुले पनि यही विमानस्थल प्रयोग गर्ने भएकोले गर्दा पनि यसको महत्व बढ्दै गएको छ ।

विमानस्थलका प्रमुख गौतमले तत्कालै टर्मिनल भवन विस्तार गर्न नसकिने अवस्था रहेको जनाए । ‘भवन सानो भएको अनुभूति हामीलाई पनि भएको छ । यात्रुहरुलाई पनि समस्या भएको छ । तर तत्कालै नयाँ भवन बनाउने वा यसैलाई बढाउने अवस्था रहेन’ उनले भने ।

भरतपुर विमानस्थल ६२ विघामा फैलिएको छ, रन वे १२ सय मिटर छ । भरतपुरबाट दैनिक पाँच सय यात्रु जना काठमाडौं जान्छन् भने आउने पनि उत्तिकै छन् ।

विगत २ वर्षको अवधिमा हवाई यात्रुको संख्या चार गुणाले बढेको विमानस्थलको तथ्याङ्क छ । पहिले पहिले यात्रु नहुँदा विमान कम्पनीहरुले टिकटका लागि अफर फेयर छाड्ने गरेका थिए । तर, पछिल्ला केही बर्षमा अफर फेयर नछाडिएको बुद्ध एयरका भरतपुर प्रबन्धक भक्त बस्नेतले बताए ।

कुन विमान कम्पनीको कति उडान ?

भरतपुरबाट बुद्ध, यति र सिम्रिक एयरले सेवा दिँदै आएका छन् । भरतपुरबाट कम्तीमा १२ र बढीमा औसत १६ वटासम्म उडान हुन्छ । यतिका दैनिक ३, सिमि्रकको १ उडान छ भने, बाँकी सबै उडान बुद्ध एयरका हुन् । बुद्ध एयरले अहिले दैनिक २ उडान भरतपुर-पोखरा गर्दै आएको छ ।

पोखराबाट भरतपुर नेपालीका लागि एकतर्फी भाडा तीन हजार ६०० र विदेशीका लागि ९२ डलर कायम गरिएको छ । अहिले पोखरा चितवनको उडानमा यात्रुहरुको संख्या सन्तोषजनक रहेको र आगामी दिनमा अझै चाप बढ्ने बस्नेतले विश्वास व्यक्त गरे ।

भरतपुरमा एकैदिनमा हेलिकोप्टर र जहाज गरी ४१ उडानसम्म भएको रेर्कड छ । बर्षायाममा लामो दिन हुँदा दैनिक २४ वटासम्म उडान भरतपुरबाट काठमाडौं भएको विमानस्थल प्रमुख पवन गौतमले जानकारी दिए ।

किन बढे हवाई यात्रु ?

बर्खाको समयमा नारायणगढ मुग्लिन सडकखण्डका कारण हवाई यात्रु बढेको हुन सक्ने अनुमान गरिए पनि अहिले हिउँदमा समेत यात्रुको चाप कम नभएको विमानस्थलका प्रमुख पवन गौतम बताउँछन् । भरतपुरको हवाई आकाश व्यस्त बन्नुका यसअनुसार औंल्याउन सकिन्छ ।

१. नारायणगढ मुग्लिनसडक खण्ड

भरतपुर विमानस्थलमा यात्रुको चाप बढ्नुमा निर्माणाधीन नारायणगढ मुग्लिन सडकखण्डलाई मुख्य रुपमा लिइन्छ । नारायणगढबाट १४६ किलोमिटर टाढा रहेको काठमाडौं जान सडकमार्गबाट निकै जोखिम र सास्ती यात्रुहरुले भोग्नुपरेको छ । दैनिक १०/१२ घण्टासम्म जाम, कहिले पुगिने हो भन्ने ठेगान हुदैन । बर्खाको समयमा पहिरो आउँदा ४८ घण्टासम्म सडक बन्द भएका उदाहरण छन् ।
भरतपुरबाट जम्मा २० मिनेटमा नै काठमाडौं पुगिने भएको कारण सडकको लामो यात्रा गर्न यात्रुले रुची नदेखाएको हुनसक्छ ।

२. वैकल्पिक मार्ग नहुनु

चितवनबाट राजधानी काठमाडौं जान राम्रा र भरपर्दो वैकल्पिक मार्ग नहुँदा यात्रुले हवाई मार्गकै प्रयोग गरेको पाइन्छ । नारायणगढबाट बुटवल हुँदै स्याङ्जा पोखरा भएर काठमाडौं जाने सडक पनि छ । तर यो निकै लामो र अत्यासलाग्दो छ । हेटौंडा हुँदै काठमाडौं जाने सडक पनि साँघुरो र लामो पर्छ । सोही कारण यात्रुले बरू हवाई यात्रा नै ठीक भनेर यसलाई प्राथमिकतामा राखेको पाइन्छ ।

३. बढ्दो आयस्रोत

हवाई यात्रा गर्नेहरुको संख्या हेर्दा यहाँका मानिसहरुको आर्थिक हैसियत गुड्नेबाट उड्नेमा पुगेको देखिन्छ । आयस्रोत मजबुत हुँदै जाँदा सुविधा प्रयोगमा पनि खुला पनि बढेको छ । एकतर्फी भाडादर ३५ सय तिर्न आनाकानी नगर्ने स्वभाव बढदैं गएको छ । चितवनमा पछिल्लो समय बढेको जग्गाको अत्याधिक कारोबार र भाउले यहाँका मानिसहरुका लागि हवाई यात्रा सामान्य बनेको छ । चितवन तेस्रो पर्यटकिय गन्तव्य पनि भएकोले यहाँ आउने यात्रुहरुले हवाई रूट नै प्रयोग गर्ने गरेका छन् ।

४. मध्यभाग

चितवन देशकै मध्यभागमा छ । पूर्व पश्चिम जानका लागि सबैभन्दा छोटो र सजिलो हवाई रुट चितवन नै पर्ने भएकोले हवाई यात्रा गर्नेहरुले चितवनलाई नै रोज्ने गरेका छन् । यहाँबाट हेटौंडा, बारा, नवलपरासी, बुटवलजस्ता क्षेत्रमा जान सहज र सजिलो हुने भएकोले यात्रुले चितवनको हवाई यात्रा रोज्ने गरेका छन् ।

५. व्यस्त दैनिकी

पछिल्ला दिनहरुमा विहानै काठमाडौं गएर बेलुका फर्किन हवाई मार्ग नै उत्तम बनेको छ । यहाँका चिकित्सक, व्यापारी, व्यवसायी, विज्ञ, नेता, प्राध्यापक र प्राविधिकहरूको व्यस्त दैनिक जीवनमा आइपर्ने कामलाई चाँडो सिध्याउन विमानको यात्रा नै प्राथमिकतामा पर्ने गरेको छ । बिहान काठमाडौं पुगेर बेलुका फर्किने चलन बढेको छ ।

मेघौलीमा दैनिक एक उडान, भाडादर सस्तो

२०६७ सालदेखि विमान नपुगेको पश्चिम चितवनको मेघौली विमानस्थलले गएको मंसिर १३ गते नेपाल वायु सेवा निगमको विमान देख्न पायो ।

नेपाल वायु सेवा निगमले हप्तामा सोमबार, बुधबार र शनिबार उडान भर्दै आएको छ । भरतपुर विमानस्थलमा यात्रुले टिकट नपाउने समस्या देखिए पनि मेघौलीबाट विमान क्षमताभन्दा कम यात्रु लिएर उडिरहेको छ ।

अहिलेसम्म मेघौली विमानस्थलबाट काठमाडौं जान सकिन्छ भन्ने कुरा धेरैलाई जानकारी छैन । काठमाडौंबाट उडेको लगभग आधा घण्टामा विमान मेघौली आइपुग्छ । हवाई भाडा नेपालीका लागि एकतर्फी तीन हजार एक सय ६५ रुपैयाँ र विदेशीका लागि ९९ सय डलर कायम भएको छ ।

२०३० सालमा बनेको विमानस्थल २०६६ सालसम्म नियमित सञ्चालनमा थियो । यो विमानस्थलको प्रयोग हेलिकोप्टर वा हवाई जहाज चार्टर गरी पर्यटकहरु आउने गर्दछन् । तर जेठ, असार, साउन र भदौमा यो विमानस्थलको प्रयोग गर्न सकिदैन ।

मेघौलीमा टावर र टर्मिलन भवन भने सामान्य छ । यसै बर्ष मेघौली विमानस्थलमा काठको कलात्मक टर्मिनल भवन निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन भएको भरतपुर विमानस्थलका प्रमुख गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment