Comments Add Comment

कांग्रेस बैठकमा देउवाप्रति आक्रोश, महासमिति बैठक बोलाउन सबै सहमत

४ माघ, काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाले अर्को बैठकका लागि सार्न खोज्दा खोज्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी समिक्षा भएको छ । र, अधिकांश नेताहरुले प्रधानमन्त्री देउवाप्रति आक्रोस पोखेका छन् ।

बालुवटारमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकको सुरुमा नै देउवाले चुनावको समिक्षा गर्ने र छिट्टै महासमिति बैठक बोलाइने बताए । अहिले भने राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्ने उनको प्रस्ताव थियो ।

तर, बैठकमा बोल्ने अधिकांशले चुनावी समिक्षा गर्दै नेतृत्वको चर्को आलोचना गरेका छन् । देउवा पक्षीय नेताहरुले भने नेतृत्वको बचाउ गरेका छन् । तर, कसैले पनि पार्टी सभापति देउवाको राजीनामा नमागेको एक नेताले बताए ।

बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले चुनावी हारको समिक्षा सुरु भएको प्रतिक्रिया दिएका छन् ।

छायाँ सभापति मान्नु पर्ने अवस्था आयो

बैठकमा अर्जुननरसिंह केसीले पार्टीमा सभापति मात्र नभई छायाँ सभापति मान्नु पर्ने अवस्था आएको बताए । महाधिवेशनमा देउवा प्यानलबाटै महामन्त्रीको उम्मेदवार बनेको र आफूलाईर् कार्यसम्पादन समिति र संसदीय समितिको सदस्य भनिएको भएपनि समानुपातिकको सूची समेत हेर्न नपाएको बताए ।

नेता कल्याण गुरुङले प्रदेश प्रमुख नियुक्तिको विरोध गरे । लोकतन्त्रका लागि संघर्ष गरेकाहरुलाई पाखा लगाएको भन्दै उनले विरोध गरेपछि सभापति देउवाले गुरुङलाई रोक्दै नेता विमलेन्द्र निधिलाईर् बोल्न समय दिएका थिए ।

प्रदिप पौडेलले केन्द्रीय समितिबाट भएका निर्णयहरुलाई नेताहरुले पालना नगर्ने गरेको र सबै काम विधि विपरित भएको भन्दै जिम्मेवारी नलिने बताएका छन् । अहिलेको नेतृत्वप्रति आफूहरुको विश्वास नै नभएको भन्दै उनले कांग्रेस अब नयाँ ढंगले अघि बढ्नु पर्ने बताएको एक नेताले जानकारी दिए ।

अर्का नेता चन्द्र भण्डारीले देउवातर्फ इंग्गित गर्दै राजनीतिक भ्रष्टाचार गरेको र कोटरीको भरमा पार्टी चलाएको आरोप लगाए । नेता नविन्द्रराज जोशीले विधान विपरित गठन भएको संसदीय समिति र कार्यसम्पादन समिति भंग गर्न माग गरे ।

केन्द्रीय सदस्यहरु महेन्द्र यादव, एनपी साउद, प्रकाशशरण महत लगायतका नेताले भने देउवाको बचाउ गरेका छन् । बैठक भोलि विहान ११ बजे फेरि बस्नेछ ।

चुनावी समिक्षाका लागि महासमिति बैठक बोलाउनेमा सैद्धान्तिक सहमति देखिएको प्रवक्ता शर्माले बताए । उनले भने, ‘चुनावको समिक्षा प्रारम्भ भएको छ र महासमिाति बैठक बोलाउनुपर्छ भन्ने सहमति बनेको छ । कहिले भन्ने तय हुन बाँकी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment