Comments Add Comment

प्रदेशको सदरमुकामका लागि शहीद नबनौं !

जनतालाई सम्झाउनुपर्ने दलका नेता नै सडकमा नाच्न थाले

४ माघ, काठमाडौं । आफ्नै जिल्ला वा आफ्नै सहरमा प्रदेशको राजधानी भएन भन्दै धनकुटा, वीरगञ्ज, दाङ र डोटी लगायतका स्थानमा आन्दोलन चर्किएको छ । एमालेका युवा नेता महेश बस्नेतले भक्तपुरवासीलाई पनि आन्दोलित हुन आह्वान गरेका छन् । भलै, भक्तपुरमै बस्दै आएका केपी ओलीले भने आन्दोलन नगर्न आग्रह गरेका छन् ।

सरकारले प्रदेशको राजधानी तोकेकै छैन । र, प्रदेशको राजधानी सरकारले तोक्न सक्दैन । अब बस्ने प्रदेशसभा बैठकको दुई तिहाई बहुमतले मात्रै प्रदेशको राजधानी तोक्न पाउँछ ।

सरकारले अहिले प्रदेशसभाका सदस्यहरुलाई सपथ खुवाउन र पहिलो बैठक राख्नका लागि मात्र तोकेका अस्थायी मुकामहरुकै विषयलाई लिएर टाउको फोराफोर गर्नुको कुनै तूक देखिँदैन । तैपनि उद्योग वाणिज्य संघको उक्साहटमा विभिन्न जिल्लामा कतिपय पार्टीका कार्यकर्ताहरु समेत सडकमा उत्रिएर तमासा देखाउन थालेका छन् । यही क्रममा विहीबार केही मानिसहरु अनाहकमा घाइते बनेका छन् ।

लोकगायक कुमार बस्नेतले एउटा गीतमा भनेका छन्- कलीयुगको बेलैमा जोशमा हुन्न होस् । बस्नेतको गीतले भनेझै जोशमा आएर होस गुमाउँदा धनकुटामा विहीबार केही आन्दोलनकारीले घाइतेसमेत हुनुपरेको छ ।

बेमौसमी बाजा

स्थानीय जनतालाई सम्झाइ बुझाइ गर्नुपर्नेमा उल्टै आफ्नै घुर्‍यानमा प्रदेशको राजधानी माग्दै आन्दोलन गर्नेहरुमा दलका कार्यकर्ताहरु नै सक्रिय हुनु झनै हास्यास्पद छ । यस्तो आन्दोलनमा प्रायः सबै दलका कार्यकर्ताहरु क्षेत्रीयतावादको नारामा एकजुट देखिन्छन् । यसले प्रमुख दलका नेता कार्यकर्ताहरुमा संकीर्ण पेटीस्वार्थले कति धेरै घर गरेको छ भन्ने प्रष्ट पार्छ ।

जस्तै- गत चुनावमा धनकुटाका एमाले नेताहरुले आफ्नै जिल्लामा प्रदेश नम्बर १ को सदरमुकाम बनाउने भन्दै भोट मागे । त्यही पार्टीका धराने कार्यकर्ताले धरानलाई प्रदेशको राजधानी बनाउने ब्यानरमा भोट मागे । इटहरी पुग्दा इटहरीलाई नै प्रदेशको राजधानी बनाउने भनियो ।

एमालेका राजेन्द्र राईले धनकुटालाई प्रदेशको राजधानी बनाउने भनिरहँदा एमालेकै लालबाबु पण्डितले बिराटनगरलाई प्रदेशको राजधानी बनाउने भन्दै भोट मागे । कांग्रेसका धनकुटे नेताहरुले आफ्नै जिल्लालाई प्रदेशको राजधानी बनाउने भनिरहँदा कांग्रेसकै डा. शेखर कोइरालाले चाहिँ बिराटनगरलाई नै प्रदेशको राजधानी बनाउने भनेर भोट मागे ।

आखिर एक नम्बर प्रदेशको राजधानी कहाँ बनाउने ? एउटै प्रदेशमा बस्ने एउटै पार्टीका नेताको तीनथरि धारणा बाहिर आउनु निकै नै रोचक प्रहसन हो । र, अहिले सरकारले अस्थायी मुकाम तोक्नासाथ उत्तेजित भएर दलकै जिम्मेवार नेता कार्यकर्ताहरु आन्दोलनमा उत्रनु अर्को हास्यास्पद जात्रा हो । स्थानीयवासीलाई सम्झाउनुपर्ने दलका कार्यकर्ता नै ताण्डव नाचमा उत्रेपछि मुलुक अनावश्यक क्षेत्रीयतावादमा फस्ने खतरा बढेको छ ।

[sam_list] प्रदेश नम्बर १ मा एमालेको एकल बहुमत छ । त्यसमा माओवादीसमेत मिल्दाखेरि दुई तिहाई पुग्छ । त्यो अवस्थामा अब बस्ने प्रदेशसभाको बैठकले राजधानी तोके भैहाल्छ, अहिले नै एमाले, कांग्रेस र माओवादीका कार्यकर्ताले सडकमा टाउको ठोक्नै पर्दैन ।

दाङमा प्रदेशको राजधानी किन भएन र रुपन्देहीमा तोकियो भनेर माओवादी नेता कृष्णबहादुर महराले वक्तव्य निकालिरहनै पर्दैन । भावी मुख्यमन्त्री शंकर पोखरेलले फेसबुकमा स्टाटस लेखिरहनै पर्दैन । ५ नम्बर प्रदेशको प्रदेशसभाले दाङलाई नै तोके भइहाल्छ । तर, अचम्म के छ भने एमालेकै एक जना नेता दाङलाई प्रदेशको राजधानी बनाउनुपर्छ भन्छन्, एमालेकै अर्का नेता बुटवललाई बनाउनुपर्छ भन्दैछन् ।

वीरगञ्ज र जनकपुरको हकमा पनि यही कुरा सत्य हो । त्यहाँ पनि प्रदेशसभाले वीरगञ्ज, जनकपुर वा अरु कुनै ठाउँलाई प्रदेशको राजधानी तोके भइहाल्छ, आन्दोलनको कुनै जरुरत छैन । अहिले सरकारले राजधानी तोकेकै छैन र तोक्न पनि मिल्दैन ।

प्रदेश नम्बर ३ मा पनि एमालेको स्थिति बलियो छ । माओवादी पनि एमालेकै पोल्टामा छ । यहाँ पनि महेश बस्नेतले भक्तपुरको सडक तताइराख्नुपर्ने औचित्य देखिँदैन । प्रदेशसभाले हेटौडा वा उपत्यका जहाँ पनि राख्न सक्छ ।

प्रदेश नम्बर ७ मा पनि अहिले धनगढीमा अस्थायी मुकाममात्र तोकिएको हो, प्रदेशसभाले निर्णय गरेर डोटी वा दार्चुला जहाँ पनि लान सक्छ । त्यसैले त्यहाँ पनि अहिले आन्दोलनको औचित्य देखिँदैन ।

प्रदेशसभा जादुको छडी होइन

आन्दोलनका सर्जकहरुले के ठानेका छन् भने आफ्नो ठाउँमा प्रदेशको राजधानी भयो भने कमाल हुन्छ, भएन भने बर्बाद हुन्छ । तर, त्यसो होइन ।

वर्तमान संविधानले केन्द्र र स्थानीय तह -गाउँपालिका र नगरपालिका) लाई बलियो बनाएको छ । प्रदेशसभा भनेको प्रत्यक्ष जनसम्पर्क हुने कार्यालय होइन । केन्द्रको बजेट सोझै स्थानीय तहमा जान्छ । सरकारी सेवा सोझै स्थानीय तहमै पाइन्छ । सर्वसाधारण जनताले प्रदेश कार्यालयमा खासै गइरहनुपर्दैन । त्यहाँ त केवल केही प्रदेशमन्त्रीहरु र प्रदेशसभाका सदस्यहरुले झण्डा हल्लाउने र बैठक गर्ने मात्रै हो ।

त्यसैले प्रदेशको सदरमुकाम धाउन टाढा पर्ला कि भनेर चिन्ता खासै गरिरहनुपर्दैन । जनताका धेरै कामहरु गाउँपालिका र नगरपालिकामै हुन्छन् ।

अहिलेको प्रदेश सदरमुकाम भनेको विगतका अञ्चल वा क्षेत्रीय कार्यालयहरु भन्दा अलिकति बढी हल्लाखल्ला हुने स्थानहरुमात्रै हुन् । त्यसैले प्रदेश सदरमुकाम नहुँदैमा कुनै उत्पात हुनेवाला छैन ।

तपाईको शहर कस्तो बनाउने ?

संसारमा शहरहरुलाई विशेष गरी विभिन्न पहिचानका आधारमा विकास गरिएको पाइन्छ । कुनै शहरको पहिचान प्रशासनिक हुन्छ भने कुनै सहरलाई सांस्कृतिक अनि कुनै शहरलाई व्यापारिक शहरका रुपमा विकास गरिएको पाइन्छ । कुनै शहरलाई शैक्षिक हबका रुपमा विकास गरिएको पाइन्छ ।

जस्तो कि पाकिस्तानको कराँची देशको राजधानी होइन । प्रशिद्ध लाहोर पनि राजधानी होइन । तर, कराँची बिजनेश सिटीका रुपमा चर्चित छ भने लाहोर सांस्कृतिक सहरका रुपमा प्रशिद्ध छ । भारतमा मुम्बई शहर देशको राजधानी भएर चर्चित बनेको होइन । त्यस्तै चीनको सांघाई लगायतका शहरहरु देशको राजधानी भएर चर्चामा आएका होइनन् ।

नेपालमा पनि धनकुटालाई एजुकेशन हबका रुपमा विकसित गर्न सकिन्छ । यहाँको राम्रो हावापानीमा विश्वविद्यालयहरु खोल्दा विद्यार्थीहरुले पहाड चढेर राम्रो शिक्षा आर्जन गर्न सक्छन् । यहाँका सरकारी संरचनामा मुख्यमन्त्रीलाई नै राख्नुपर्छ भन्ने केही छैन, विद्यार्थी र प्राध्यापकहरु राखे पनि हुन्छ । त्यस्तै धरानलाई सांस्कृतिक शहरका रुपमा विकसित गर्न सकिन्छ । इटहरीलाई बिजनेस सिटीका रुपमा विकसित गरेर पनि जाज्वल्यमान बनाउन सकिन्छ । त्यहाँ प्रदेशसभाको बैठक नै राखिरहनुपर्छ भन्ने छैन ।

बिराटनगरलाई नै प्रदेशको मुकाम बनाउनुपर्छ भन्ने पनि छैन, तरहरा वा गोठगाउँमै राख्दा पनि हुन्छ । किनभने त्यो प्रदेश कार्यालयमा सेवाग्राहीहरु दिनहुँ गइरहनै पर्दैन । जनताले दिनहुँ जाने ठाउँ भनेको त गाउँपालिका र नगरपालिकाहरु नै हुन् ।

दुई नम्बर प्रदेशको हकमा पनि जनकपुर यसै पनि सांस्कृतिक शहर छँदैछ । वीरगञ्ज उसै पनि बिजनेश सीटी नै हो । त्यहाँ अर्को कुनै स्थानलाई प्रशासनिक शहरका रुपमा प्लान्टेड गर्दा पनि फरक पर्दैन ।
बुटवल र दाङको हकमा पनि एमाले नेता विष्णु पौडेलहरु बुटवलको पक्षमा र शंकर पोखरेलहरु दाङको पक्षमा उभिनु भन्दा दुबै नेताले एउटै धारणा जनतामा लिएर जाँदा उनीहरुको महानता र दुरदृष्टि झल्कन्छ । प्रदेश तीनमा पनि कमल थापाजस्तो राष्ट्रिय नेताले एकछिनलाई पिसाबको न्यानोमा रमाउनुभन्दा तर्कपूर्ण रुपमा निर्णय गर्दा नै नेताको दुरदृष्टि झल्कन्छ ।

भैरहवालाई पर्यटकीय शहर बनाउने सम्भावना हुँदाहुँदै र त्यसको रापतापमा बुटवल पर्ने स्थिति हुँदाहुँदै प्रदेशको कार्यालय दाङमै राख्दा केही बिग्रँदैन । तर, यसका लागि विष्णु पौडेल, बालकृष्ण खाँड लगायतका नेताहरुमा राष्ट्रिय दृृष्टिकोण चाहिन्छ ।

अनि दाङले पनि आफ्नो ठाउँमा प्रदेशका राजधानी नआए पनि कृषि हब, एजुकेशन हब बनाएर बुटवललाई चुनौती दिन सक्छ । प्रदेशको राजधानी हुँदैमा मालामाल विकास हुने होइन । अहिले काठमाडौं देशकै राजधानी छ, तर यहाँ भन्दा मोफसलमा राम्रो शहरी विकास भएको छ । काठमाडौं राजधानीका बासिन्दा दिनहुँ बार्दलीको धुलो पुछिरहेका छन् ।

त्यसैले प्रदेशको राजधानी आफ्नो घरपायकमा आउँदैमा त्यस ठाउँको विकास हुने होइन । र, प्रदेश राजधानी नहुँदैमा कोकोहोलो मच्चाउनुपर्ने पनि केही देखिँदैन । प्रदेशको राजधानी जहाँसुकै होस्, आफ्नो गाउँ र नगरको विकासमा ध्यान दिँदा राम्रो हुन्छ । र, आफ्नो ठाउँको अलग्गै पहिचान खोजी गर्नु उपयुक्त हुन्छ ।

अब बस्ने प्रदेशसभा बैठकले तपाईको प्रदेशमा कुनै एउटा ठाउँलाई सदरमुकाम तोक्ने छ । त्यसबेला तपाईले के गर्ने ? आफ्नै टाउको ठोक्ने ? यो नितान्त हास्यास्पद कार्य हुन जान्छ ।

बरु एउटा शहरमा प्रदेशको कार्यपालिका रह्यो भने नजिकै अर्को ठाउँमा प्रदेश व्यवस्थापिका र अझ अर्को ठाउँमा उच्च अदालत आदि राखेर विकेन्दि्रत गर्ने हो भने उक्त प्रदेशका सबै ठाउँमा समानुपातिक विकास गर्न सकिने विकल्प पनि छ ।

जस्तो बिराटनगरमा मुख्यमन्त्रीको कार्यालय, गोठगाउँमा प्रदेशसभाको बैठक अनि धरानमा वा दमकमा प्रदेश सभाका सांसदहरुको आवास गृह बनाउँदा पनि केही बिग्रँदैन ।

त्यस्तै धनगढीलाई ७ नम्बर प्रदेशको राजधानी बनाइरहँदा डोटीका लागि पनि केही न केही व्यवस्था गर्दा फरक पर्दैन । तर, डोटीलाई मुकाम बनाउँदा धनगढी उफि्रने अनि धनगढीलाई बनाउँदा डोटेलीहरु उफि्रने तरिकाले हामी काहीँ पनि पुग्दैनौंं ।

अन्त्यमा, हामी सबैले यही कामना गरौं- अब कोही एकजना नेपाली पनि शहीद नभई शान्तिपूर्णरुपमा प्रदेशसभाले आ-आफ्ना प्रदेशको सदरमुकाम तय गरुन् । र, आफ्नै ठाउँमा प्रदेश सदरमुकाम ल्याउन भन्दै कसैले पनि आफ्नो अमूल्य जीवन बलिदान नगरौं ।

पावरहीन प्रदेशसभाको मुकाम जहाँनेर राखे पनि यसले सेवाग्राही जनतासँग प्रत्यक्ष सरोकार खासै राख्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment