Comments Add Comment

आकर्षक गन्तव्य बन्दै हसिना सिमसार

५ माघ, इटहरी । मोरङको सुन्दरहरैचा नगरपालिका–५ मा रहेको हसिना सिमसारमा विभिन्न मूर्तिकलाहरु राखिएपछि आगन्तुकहरुको भीड बढ्न थालेको छ । २०६८ सालबाट सञ्चालनमा आएको हसिना पछिल्लो समय धेरैको रोजाइमा पर्न थालेको छ ।

‘प्रकृतितर्फ फर्कौं’भन्ने नाराका साथ सञ्चालनमा आएको यो सिमसारमा डाइनोसर, डाँफे, पृथ्वी, नाग, गोही आदिका मूर्तिकला छन् ।

सिमसार क्षेत्रका बासिन्दा विमल दाहालका अनुसार आकर्षक मूर्तिहरु बनेपछि घुमघाम गर्न, पिकनिक खान र प्रकृतिको आनन्द लिन आउनेहरु बढेका छन् । मोरङ, सुनसरी, झापा जस्ता पूर्वी तराईका जिल्लाका साथै सिमावर्ती भारतीय राज्यहरु विहार र पश्चिम बंगालबाट पनि आगन्तुकहरु आउने गरेको सिमसार संरक्षण समितिको आँकडा छ ।

हसिना सिमसार पूर्वपश्चिम राजमार्गको बाँसबारी बजारबाट ५ किलोमिटर उत्तरमा छ । सिमसार क्षेत्र ४९ हेक्टर क्षेत्रमा फैलिएको छ । आन्तरिक पर्यटकहरुले भिडभाड हुने हसिनामा दैनिक तीन सय हाराहारीमा आगन्तुकहरु आउने सिमसारका अध्यक्ष पर्शुराम घिमिरेले बताए ।

बोटिङ गर्न, पिकनिक खान, घुम्न र प्राकृतिक आनन्द लिन सिमसार आउनेहरुको भीड रहने घिमिरे बताउँछन् । उनी भन्छन्, ‘हसिना राजमार्ग छेवैमा परेको सिमसार भएकाले धेरैको पायक गन्तव्य बन्न पुगेको छ ।’

होचा अग्ला थुम्का र निरन्तर उम्रने पानी र बग्ने खोला भएकाले हसिना सिमसार अन्यभन्दा मौलिक र पृथक रहेको सिमसार क्षेत्रका स्थानीयको तर्क छ ।

सिमसार क्षेत्रमा बुद्ध बिहार, बुद्ध पोखरी, बुढासुब्बा मन्दिर, नाग पोखरी, साकेला थान, शिवालय मन्दिर आदि धार्मिक क्षेत्रहरु पनि बनाइएको छ । त्यसैले यो धार्मिक आगन्तुकहरुको पनि आकर्षणको केन्द्र बन्दै गएको सिमसार समितिका पदाधिकारीहरु बताँउछन् ।

बिहान सात बजेबाट बेलुका पाँच बजेसम्म प्रवेश गर्न पाइने हसिना सिमसारमा स्थानीयभन्दा आगन्तुकहरुको भीड हुने सिमसार क्षेत्रका अध्यक्ष पर्शुराम घिमिरे बताउँछन् ।

मिनि जु, विभिन्न कलाकृति र ६ वटा सानाठूला पोखरीले पनि हसिनाको आकर्षण बढाएको छ ।


आगामी माघ १९ गतेको सिमसार दिवसमा विशेष व्यापारिक मेलाको तयारीमा सिमसार समिति लागेको घिमिरेले जानकारी दिए । हसिनामा पर्यटकहरु बढाउन राजमार्गबाट आउने बाटो पूर्ण पीच हुनुपर्ने उनले बताए । हाल सिमसारको पहलमा ११ सय मिटर सडक मात्रै पिच भएको छ । सबै सडक पिच गर्न ठूलो बजेट आवश्यक पर्ने भन्दै त्यसको लागि सबैको सहकार्य र समन्वयको अपेक्षा उनले राखे ।

उत्तरी मोरङको चर्चित हसिना सिमसारमा प्रवेश गर्न २५ रुपैयाँ शुल्क लाग्छ । पिकनिक स्थलको भने स्थान हेरेर ५०० देखि एक हजार रुपैयाँसम्म तोकिएको छ । बोटिङ गरेको शुल्क प्रतिव्यक्ति १ घण्टाको लागि २५ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment