Comments Add Comment

राप्ती स्वास्थ्य प्रतिष्ठान स्थापना नहुँदै विवादमा

तीन सय शैयाको स्तरोन्नती प्रकृया रोकियो

५ माघ, दाङ । भर्खरै घोषणा भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना नहुँदै विवादमा मुछिएको छ । हाल सञ्चालन भइरहेको राप्ती उपक्षेत्रीय अस्पतालका चिकित्सक तथा नर्सहरुको भविष्यलाई लिएर प्रतिष्ठान विवादमा मुछिएको हो ।

प्रतिष्ठानको ऐनमा हाल सञ्चालन भइरहेको राप्ती उपक्षेत्रिय अस्पतालको सम्पूर्ण स्वामित्व प्रतिष्ठानमा स्थानान्तर हुने व्यवस्था गरिएको छ । ऐनअनुसार कर्मचारी सेवा सम्बन्धी नियमावली बनेको ६ महिनाभित्र अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा सम्पूर्ण कर्मचारीहरुले प्रतिष्ठानमा समायोजन हुने की अन्यत्र सरुवा हुने भनेर निर्णय गर्नुपर्ने छ । प्रतिष्ठानको ऐन कार्यान्वयनमा आए पनि हालसम्म उपकुलपति बाहेक अन्य कुनै पदाधिकारीको नियुक्ती हुन सकेको छैन ।

प्रतिष्ठानका लागि हाल उपक्षेत्रीय अस्पतालमा रहेका भौतिक पूर्वाधार बाहेक अन्य कुनै पूर्वाधार तयार नभएकाले आगामी तीन वर्षभित्र कुनै पनि शैक्षिक कार्यक्रम सञ्चालन नहुने उपकुलपति संगीता भण्डारी बताउँछिन् । यसरी तीन वर्षभित्र शैक्षिक कार्यक्रम शुरु नहुँदा प्रतिष्ठानमा नयाँ प्रोफेसर डाक्टरहरु आउने सम्भावना न्यून छ । तर, प्रतिष्ठानको ऐनमा भएको व्यवस्थाअनुसार यहाँ कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीहरुले आफ्नो भविष्य कता सुरक्षित हुन्छ भनेर रोज्नुपर्ने छ । प्रतिष्ठानमा समाहित हुन नचाहनेले अन्यत्र सरुवा हुनुपर्ने छ ।

यसरी अहिले रहेका चिकित्सक तथा नर्सहरु सरुवा हुँदा उपक्षेत्रीय अस्पतालले स्वास्थ्य केन्द्रको सेवा जति पनि सेवा दिन नसक्ने सरोकावारवालाहरुको गुनासो छ ।

स्तरोन्नती प्रकृया पनि रोकियो

प्रतिष्ठान बनेपछि अस्पतालनको स्तरोन्नती प्रकृया पनि रोकिएको छ । यसअघि एकसय शय्या सञ्चालन भइरहेको उपक्षेत्रीय अस्पताललाई २ भदौको मन्त्रिपरिषद् बैठकले तीन सय शय्यामा स्तरोन्नती गर्ने सैद्धान्तिक सहमति दिएको थियो । तर, प्रतिष्ठान घोषणा भइसकेपछि स्तरोन्नतीको सम्पूर्ण प्रक्रिया रोकिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. जनार्दन पन्थीले जानकारी दिए ।

‘प्रतिष्ठान स्वायत्त निकाय भएकाले स्वास्थ्य मन्त्रालयले अब छुट्टै स्तरोन्नतीको काम नगर्ने रहेछ,’ उनले भने, ‘प्रतिष्ठानको साथसाथै उपक्षेत्रीय अस्पतालको पनि स्तरोन्नती हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

अस्पतालका फिजिसियन डाक्टर जीतनारायण यादवले प्रतिष्ठानमा दरवन्दीका डाक्टरले पनि काम गर्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताउँछन् । ‘हामी अहिले सरकारी दरवन्दीमा छौं, स्वास्थ्य विज्ञान प्रतिष्ठान नयाँ छ, यहि रहँदा हाम्रो माथिल्लो तहमा बढुवा हुने प्रकृया रोकिन्छ,’ उनले भने । सरकारले दरवन्दीको व्यवस्था नगरे अन्यत्र सरुवा भएर जाने तयारी गरेको यादवले जानकारी दिए ।

अन्यौलमा नर्स

अस्पतालमा कार्यरत नर्सिङ अधिकृत सिर्जना रिजालले प्रतिष्ठान र उपक्षेत्रीयबीचको विवादले आफूहरु अन्यौलमा भएको जानकारी दिइन् ।

गत भदौ १४ गते स्वास्थ्य मन्त्रालयद्वारा प्रतिष्ठानको समग्र प्रकृयाको सहजिकरण र कार्यप्रकृया अगाडि बढाउन नियुक्त भएका जीवन गौतमले भने स्वास्थ्य प्रतिष्ठान, चिकित्सक र सम्पूर्ण जनताको जित हुने गरी आफूले वातावरण सहज बताउन पहल गरिरहेको बताए ।

नीतिगत रुपमा प्रतिष्ठान भइसकेपछि सम्पूर्ण कार्यक्षेत्र त्यसमै समाहित हुने भएपनि त्यसको व्यवहारीक सरलताका लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने उनको भनाइ छ । प्रतिष्ठानले सम्पूर्ण शैक्षिक कार्यक्रम शुरु नगर्दासम्म उपक्षेत्रीय अस्पतालमा दरवन्दीका चिकित्सक र नर्सको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

अनावश्यक प्रचारः उपकुलपति

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति भण्डारीले अस्पतालनमा कार्यरत चिकित्सकहरुले अनावश्यक रुपमा गलत प्रचार गरेको बताउँछिन् । उनले चिकित्सकहरुले भनेअनुसार अस्पतालमा त्यस्तो समस्या नआउने दावी गरिन् ।

प्रतिष्ठान भइसकेकाले चिकित्सक तथा नर्सहरुलाई आफ्नो इच्छा अनुसार सरुवा हुने वा प्रतिष्ठानामा समायोजन हुने भनेर निर्णय गर्नुपर्ने उनले धारणा राखिन् । ‘उहाँहरुले भनेजस्तै अस्पताल नै खालि हुँदैन, हामी नयाँ व्यवस्था गर्छौं,’ भण्डारीले भनिन् ।

पूर्वाधार अभाव भएकाले तीन वर्षभित्र कुनै शैक्षिक कार्यक्रम शुरु गर्न भने नसकिने उनले जानकारी दिइन् । ‘अहिले प्रतिष्ठानको कामका लागि काठमाडौंमा सम्पर्क कार्यलय खोल्ने तयारी गरिरहेका छौं, पत्रिका मार्फत घरभाडाका लागि सूचना प्रकाशित गरिएको छ,’ उनले भनिन् ।

प्रतिष्ठानको दाङमा केन्द्रीय कार्यालय स्थापना नहुँदै काठमाडौंमा सम्पर्क कार्यालय खोल्नु गलत भएको भन्दै नागरिक समाज दाङले भने विरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment