Comments Add Comment

प्रदेश सभा सदस्यहरुको सपथ आइतबार

५ माघ, काठमाडौं । प्रदेशसभा सदस्यहरुको सपथ माघ ७ गते आइतबार हुने भएको छ । नवनियुक्त प्रदेश प्रमुखहरुले सपथ लिएलगत्तै प्रदेशसभा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम तय गरेका हुन् ।

प्रदेश प्रमुखहरुले शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका थिए ।

स्रोतका अनुसार निर्वाचन आयोगले राष्ट्रपति भवनमै पुगेर प्रदेश प्रमुखहरुलाई प्रदेशसभाको अन्तिम मतपरिणाम बुझाएको छ । आयोगले बुधबार सार्वजनिक गरेको थियो भने शुक्रबार समानुपातिक तर्फका सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र दिएको थियो ।

प्रदेशका प्रमुखहरुले आइतबार आआफ्नो अनुकुल समयमा सपथ ग्रहण कार्यक्रम राखेका छन् । निर्वाचन आयोगले आइतबार ११ बजेसम्म सपथ गराइसक्न आग्रह गरेको छ ।

प्रदेश १ को सपथ विराटनगरको वीरेन्द्र सभागृहमा आइतबार विहान ११ बजे प्रदेश प्रमुख गोविन्द सुब्बाले अनलाइनखबरलाई बताए । प्रदेशसभा सदस्य मनिष सुमनका अनुसार प्रदेश २ को सपथ आइतबार विहान ८ बजे जनकपुरमा राखिएको छ ।

आफ्नै प्रदेशमा शपथ गराउने सहमति

प्रदेश प्रमुखले आयोगका पदाधिकारी र सरकारका मुख्य सचिव तथा सचिवसँग बैठक गरेर आआफ्नो कार्यालय, कर्मचारी एवं तत्काल गर्नुपर्ने जिम्मेवारीका विषयमा जिज्ञासा राखेका छन् ।

प्रदेश नं ७ प्रमुख मोहनराज मल्लले प्रदेशसभा सदस्यहरु दुर्गम जिल्लामा समेत रहेकाले छोटो समयमा कसरी शपथ गराउने र कर्मचारीसहित भौतिक व्यवस्थापन कसरी हुन्छ भनी जिज्ञासा राखे । बैठकमा संक्रमणकालीन अवस्था र निर्वाचनको निर्धारित तालिकालाई प्रभावित हुन नदिन काठमाडौँमै प्रदेशसभा सदस्यलाई शपथ गराउन सकिने विकल्पबारे पनि लफल भएको थियो ।

तर, आफ्नै प्रदेश प्रमुखले आफ्नै प्रदेशमा शपथ गराउने सहमति भएकोछ ।

प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले शपथका लागि आवश्यक जनशक्ति र भौतिक व्यवस्थापन तत्काल गर्न सबै सरकारी संयन्त्र युद्धस्तरमा परिचालनका लागि मुख्य सचिव लोकदर्शन रेग्मीको ध्यानाकर्षण गराइन् ।

प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले अत्यन्त छोटो समय र शनिबार बिदा परेकाले प्रदेशमा शपथको व्यवस्थापन गर्नका लागि राज्यका संयन्त्रलाई तत्काल परिचालन गर्न सुझाव दिए

बैठकमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रदेशसभा सदस्य राष्ट्रियसभा निर्वाचनको मतदाता हुने भएकाले मतदाता नामावली प्रकाशन गर्ने मितिअघि नै शपथ ग्रहण गराइसक्नुपर्ने कानूनी व्यवस्थाका बारेमा जानकारी गराएका थिए ।

प्रदेश प्रमुखहरुलाई तत्कालका लागि मन्त्रिस्तरको सुरक्षा तथा सेवासुविधा उपलब्ध गराइएको छ ।

मुख्य सचिव रेग्मीले सबै प्रदेशमा शपथको आवश्यक तयारीका लागि सम्बन्धित प्रदेशमा रहेका क्षेत्रीय प्रशासक र प्रजिअको नेतृत्वमा सबै सरकारी संयन्त्र परिचालन भइसकेको बताए ।उनका अनुसार सहसचिवको नेतृत्वमा सबै प्रदेशमा प्रदेश प्रमुखको कार्यालय, आवास, सुरक्षा, कर्मचारी खटनपटन भइसकेको छ ।

प्रदेशसभा पहिलो बैठक बसेको २० दिनभित्र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । उक्त बैठकले मुख्यमन्त्री र प्रदेश सरकार चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment