Comments Add Comment

रुचाइएन इम्बोस्ड नम्बर प्लेटः एक महिनामा एक हजार गाडीमा

तीन महिनाभित्र १ लाख ५९ हजार जोड्नुपर्ने

यसअघिको इम्बोस्ड प्लेट । ‘बागमती’ लेखिएको स्थानमा अहिले ‘स्टेट ३’ लेखिएको छ ।

६ माघ, काठमाडौं । सरकारले सवारी साधनमा जोड्न सुरु गरेको नयाँ प्रविधिमा आधारित इम्बोस्ड प्लेट लिन सवारी चालकहरुले खासै रुची देखाएका छैनन् । सरकारले एक महिनाबीचमा जम्मा १ हजार चारपांग्रे सवारीमा मात्रै इम्बोस्ड प्लेट जडान गरेको छ ।

गत मंसिरको मसान्तमा सरकारले बाध्यात्मक समयसीमा तोकेपछिको पहिलो महिना बित्दा इम्बोस्ड प्लेट जोड्न उपभोक्ताले उत्साह देखएका छैनन् । सरकारी समयीमा अनुसार अबको ३ महिनामा विभागले १ लाख ५९ हजार गाडीमा नयाँ प्लेट जोड्नुपर्नेछ ।

प्रदेशको नामाकरण नहुँदै प्लेट वितरण थालिएकाले धेरैले पछि फेरि आर्थिक भार ब्यर्होनुपर्ने भन्दै जडानमा चासो दिएका छैनन् । अहिले प्लेटमा प्रदेशको संकेत नमबर मात्रै छ, जुन संघीयता लागू भएपछि परिवर्तन गर्नुपवर्ने अवस्था छ ।

विभागकै अधिकारीहरु जनशक्ति, विभागको पूर्वाधार र काम गराइले यो लक्ष्य भेट्न नसकिने बताउँछन् । इम्बोस्ड प्लेटको ठेकेदार टाइगर डेकाटुरले पनि अबको ३ महिनामा १ लाख ५९ हजार प्लेट छाप्न नसक्ने विभागकै अधिकारी बताउँछन् ।

कम्पनीको छाप्ने मेसिन पर्याप्त नभएका कारण सेवाग्राही प्लेट जोड्न आइहाले पनि ३ महिनामै झण्डै डेढ लाख छाप्ने क्षमता ठेकेदार कम्पनीसँग नभएको विभागका अधिकारीहरु बताउँछन् ।

विभागले अहिले लट नम्बर १ देखि १२ सम्मका चारपांग्रे सवारीका लागि पनि इम्बोस्ड प्लेट जोडिरहेको छ । विभागले आगामी चैतसम्म यो लटसहित सबै बागमतीमा दर्ता भएका सबै सरकारी र संस्थानका चारपांग्रेमा पनि इम्बोस्ड जडान गरिसक्ने समयसीमा तोकेको छ ।

विभागले बागमती अञ्चलमा दर्ता भएका सबै चारपांग्रे सवारीले आगामी असार मसान्तसम्म अनिवार्य रुपमा इम्बोस्ड प्लेट जडान गर्नुपर्ने व्यवस्था गरेको छ ।

अहिले ऐच्छिक रुपमा १३ लटभन्दा माथिका ३ तथा चार पांग्रे सवारीले पनि इम्बोस्ड जडान गर्न सक्छन् । त्यसैअनुरुप अहिलेसम्म जम्मा १ हजारभन्दा बढी सवारीमा इम्बोस्ड जडान भइसकेको साना-ठूला सवारी कार्यालय एकान्तकुनाले जनाएको छ ।

‘सबै सवारी समयसीमाभित्र जोड्न आउँछन् जस्तो देखिएन । अब ३ महिनामा १ लाल ५९ हजारभन्दा बढी गाडीमा इम्बोस्ड लगाउने कुरा कति सहज होला ?,’ विभागका अधिकारी भन्छन्, ‘इम्बोस्ड जोड्न गाडी मालिक र सरकारी तथा संस्थानका कार्यालयहरुमा उत्साह छैन ।’

१३ नम्बर लटदेखि माथिका चारपांग्रे सवारीले आगामी असार मसान्तसम्म इम्बोस्ड जडानका लागि समयसीमा तोकिएको छ । सरकारले बागमती अञ्चलका लागि प्रदेशकै संकेत नम्बर राखेको नयाँ प्रविधिको सवारी इम्बोस्ड नम्बर प्लेटको वितरण गरिरहेको छ ।

यातायात व्यवस्था विभागले यसअघि इम्बोस्ड प्लेटका लागि स्वेच्छिक अनलाइन आवेदन खुला गरेको थियो । अहिले भने बाध्यात्मकरुपमै सवारी धनीले गाडीमा इम्बोस्ड प्लेट जोड्न थालेका छन् ।
चैतसम्म १२ लटसम्मका १ लाख ६० हजार चारपांग्रे सवारीमा इम्बोस्ड जोडिनेछ । अहिले काठमाडौंमा वितरण हुने इम्बोस्डमा बागमतीको ठाउँमा ‘स्टेट-३’ उल्लेख गरिएको छ । अन्य ठाउँमा वितरण थाल्दा पनि सम्बन्धित प्रदेशकै पहिचान नम्बर (१,२,३,४,५,६,७) राखिने छ ।

पहिलो चरणमा तीन पांग्रे तथा चार पांग्रे साना तथा ठूला सवारी धनीले मात्रै इम्बोस्ड प्लेटका लागि आवेदन बुझिँदैछ । आवेदन भुर्नअघि सवारीका बाँकी करहरु सबै तिर्नुपर्छ भने तोकिएको शुल्क बुझाएर रसिद लिनुपर्ने व्यवस्था छ ।

टेम्पो लगायतका तीन पांग्रे साना सवारीमा यो प्लेट जोड्न २ हजार ९ रुपैयाँ राजस्व लाग्छ । यसैगरी कार, जीप, भ्यान तथा ट्रयाक्टर लगायत चारपांग्रेले ३ हजार २ सय रुपैयाँ शुल्क तोकिएको छ ।

शुल्क बुझाकएको रसिद नम्बरसहित आफ्नो गाडीका सबै विवरण अनलाइनमा भरेर इम्बोस्डका लागि आवेदन गर्न सकिन्छ ।

तत्कालीन संसदको विकास समितिले अञ्चलको संरचनाअनुसार सुरु भएको इम्बोस्ड प्लेटको वितरण रोकेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रदेशको आधारमा प्लेट वितरण गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । प्लेटलाई प्रदेशको संरचनामै वितरण गर्ने कानुनी व्यवस्था नभएसम्मका लागि प्लेटको छपाइ रोकिएको थियो ।

‘प्रदेशको नाम नटुंगेसम्म प्रदेशको पहिचान नम्बर राखेका छौं,’ विभागमा महानिर्देशक रुपनारायण भट्टराई भन्छन्,’पछि प्रदेशको नामाकारण भएपछि त्यसमा थप शुल्क नलाग्ने गरी प्रदेशको नाम उल्लेख भएको सुरक्षित स्टिकर टाँस्नेछौं ।’

प्रदेशसभा गठनका लागि अन्तिम तयारी भइरहँदा इम्बोस्ड प्लेट जडान सुरु गरिहाल्ने विभागको निर्णयमा उपभोक्ता भने सन्तुष्ट छैनन् । फेरि प्लेटमा प्रदेशका नाम उल्लेख गर्ने बाहनामा उपभोक्तामाथि आर्थिक भार थोपरिने अवस्था आउने उनीहरूको भनाइ छ ।

प्लेटमा प्रदेशको संकेत नम्बर मात्रै राखिने भएकाले तत्कालै प्रदेशको नामाकरण भएपछि फेरि शुल्क उठाउँदै प्लेट परिवर्तन गर्न लगाउने अवस्था आउने तर्क उपभोक्ताले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment