Comments Add Comment

तीन दिनमा नेप्से ३४ अंक घट्यो, लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा

६ माघ, काठमाडौं । गत साता नेप्से परिसूचक ३३.७९ अंकले घटेर १४०६ विन्दुमा आइपुगेको छ । अघिल्लो साताको बिहीबार नेप्से १४४०.२९ विन्दुमा थियो ।

‘पुस मसान्तको प्रभाव, सरकार निर्माणमा ढिलाइ, बैंकहरुमा देखिएको कर्जायोग्य लगानी अभावलगायत कारण बजार केही सुधार भएर पनि अपेक्षित रुपमा बढ्न सकेको छैन,’ एक ब्रोकरले भने । बजारमा तल्लो मूल्यमा सेयर पाउँदा किन्ने लगानीकर्ताहरु पनि देखिने गरेकाले बजार १४ सय विन्दुमा अडि्कएको उनले बताए ।

पुस शुरुवातदेखि बजार १३९० देखि १४८४ विन्दुबीचमा रहेरै तलमाथि गरिरहेको छ । लगभग एक सय अंकको रेन्जमा रहेर नेप्से बढ्ने र घट्ने गरिरहेको हो ।

बजारमा गत साता पुस मसान्तको प्रभाव देखिएको थियो । बैंकबाट कर्जा लिएका लगानीकर्ताहरुले पुस मसान्तपछि साँवा तथा व्याज तिर्नुपर्ने भएकाले पनि बजारमा कारोबार रकममा समेत कमी आएको हो । कारोबार रकम सातामा ३६ प्रतिशतले घटेर एक अर्ब नौ करोडमा सीमित भएको छ ।

दुई दिन परेको सार्वजनिक विदाको कारण सातामा तीन दिन मात्र कारोबार भएकाले पनि कारोबार रकम घटेको हुन सक्छ ।

जलविद्युत समूहको परिसूचक यस दिन सबैभन्दा धेरै अंकले घट्यो । सानिमामाई हाइड्रोको स्थानीयवासी र कर्मचारीमा बिक्री भएको सेयरको लकिङ पिरियड सकिन लागेकाले मूल्य घट्ने र कारोबार हुने सेयर परिमाण बढ्ने गरेको छ । स्थानीय बासिन्दामा जारी भएको यस्तो सेयरको तीन वर्ष लकिङ पिरियड तोकिएको हुन्छ । उक्त अवधि पूरा नभएसम्म दोस्रो बजारमा यी सेयर किनबेच हुन पाउँदैनन् ।

पुस मध्यमा १३९० मा टेवा पाएर वृद्धिको क्रममा देखिन थालेको नेप्से परिसूचकले त्यसयता ‘डबल टप’ आकृती बनाएको छ । अंग्रेजी अक्षर ‘एम’जस्तो देखिने यो आकृतीले बजार थप घट्न सक्ने संकेत गर्छ ।

पीभट विश्लेषण

गत एक सातायताको नेप्से परिसूचकका आधारमा निकालिएको पिभट विश्लेषणले नेप्सेले आगामी महिनाभित्रमा १३७९ विन्दुमा पहिलो टेवा पाउने संकेत गरिरहेको छ ।

त्यो विन्दुमा नेप्सेले टेवा पाउन नसकेमा १३५२ मा अर्को टेवाको सम्भावना देखिएको छ । तर, नेप्सेले धेरै वृद्धि हासिल गर्न सक्ने भने देखिँदैन । यही अवधिमा नेप्सेले १४४४ विन्दुमा प्रतिरोध पाउने सम्भावना पनि छ । नेप्सेको उच्च, न्यून र अन्तिम विन्दुका आधारमा पिभट, टेवा र प्रतिरोध विन्दुहरु पत्ता लगाइने गरिन्छ ।

आरएसआई विश्लेषण

यस्तै, नेप्से परिसूचकको आरएसआई विश्लेषणले बजार ‘न्युट्रल जोन’ अर्थात् सन्तुलित अवस्थामा रहेको संकेत गरिरहेको छ ।

नेप्सेको आरएसआई सूचक स्केल ३० माथि आएकाले बजार न्युट्रल जोनमा रहेको संकेत गरेको हो । आरएसआई सूचक स्केलको ६ विन्दुसम्म पुगेर बढ्दो क्रममा देखिएको हो । हाल यो ४० मा छ ।

स्केल ३० भन्दा मुनि बजार रहँदा बजार ओभरसोल्ड र ७० भन्दा माथि रहँदा ओभर बट क्षेत्रमा रहेको मानिन्छ । नेप्से परिसूचकले १४ दिनमा जोडेको र गुमाएको अंकलाई आधार मानेर गरिने यो विश्लेषणले बजारमा किनबेचको चाप कस्तो छ भनेर संकेत गर्छ ।

सिम्पल मुभिङ एभरेज

केही समयअघि नेप्सेको सात दिने र २१ दिने सिम्पल मुभिङ एभरेज रेखा एकअर्कासँग निकै टाढिएको भए पनि हाल नजिक हुँदै गइरहेको छ । विशेषगरी, २१ दिने रेखा सातदिने रेखाभन्दा माथि नै छ ।

यी दुई रेखा नजिकिन लागेमा भने लगानी बढाउन सकिन्छ । यदि २१ दिने रेखालाई सातदिनेले काटेर माथि लागेमा बजार थप बढ्ने मानिन्छ ।

नेप्से परिसूचक डिसेन्डिङ च्यानल (घट्दो क्रममा बनेको समानान्तर रेखा) भित्रै छ । यसले बजारमा देखिएको घट्दो प्रवृत्तीले केही समय अझै निरन्तरता पाउने संकेत गर्छ । यसमा ब्रेक आउट भएमा बजार बढ्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment