Comments Add Comment

स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै एनआरएनए युएई


युएई । एनआरएनए युएई अंग्रेजी महिना जनवरीभरि स्वास्थ्य सम्बन्धी गतिविधिमा केन्द्रित रहने भएको छ ।

जनवरीलाई ‘हेल्थ अवेरनेस मन्थ’ का रुपमा घोषणा गरेको एनआरएनए युएईले पहिलो कार्यक्रमस्वरुप नेपाली दूतावास अबुधाबीमा जनवरी १९ तारिख शुक्रबार रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा १ सय जनाले रक्तदान गरेको एनआरएनए अबुधाबी क्षेत्रीय समन्वय समितिका अध्यक्ष दुर्योधन कार्कीले जानकारी दिए ।

अबुधाबीस्थित नेपाली राजदूतावास परिसरमा सञ्चालित खुल्ला रक्तदान कार्यक्रममा ८० पुरुष र २० महिलाले रक्तदान गरेको एनआरएनए युएईका प्रवक्ता मुन क्षेत्रीले बताए ।

एनआरएनए राष्ट्रिय समन्वय समितिको आयोजना तथा अबुधाबी क्षेत्रीय समिति र अबुधाबी नेसनल हस्पिटलसँगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा युएईका विभिन्न सहरमा रहेका नेपालीहरु सहभागी थिए ।

विभिन्न पेशा र रोजगारका सिलसिलामा युएईमा रहेका नेपालीहरुको स्वास्थ समस्याहरुको पहिचान, निराकरण, परामर्श तथा सहजीकरण सुविधा निःशुल्क रूपमा उपलब्ध गराउने उद्देश्यले एनआरएनएले स्वास्थ्य जनचेतना सम्बन्धी कार्यक्रम ल्याएको एनआरएनए युएईका उपाध्यक्ष निर्मलकुमार पोखरेलले बताए ।

यसैबीच, एनआरएनएको आयोजनामा जनवरी २६ मा एलएन र अबुधाबीमा निःशुल्क स्वास्थ शिविर सञ्चालन हुने भएका छन् । एनआरएन अलएन क्षेत्रीय समितिका अध्यक्ष गोपाल पौडेलले अलएनको अन्नपूर्ण ट्राभलमा आयोजना हुन लागेको स्वास्थ्य शिविरमा सहभागी हुन सबै नेपालीलाई अनुरोध गरेका छन् । सोही दिन अबुधाबीको अहालिया हस्पिटलमा सर्वसाधारण नेपाली कामदारलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो । यसरी नै अबुधाबीको नेपाल क्युनिटी क्लिनिक, हमदान रोडमा डा.गोपालमान श्रेष्ठको उपस्थितिमा स्वास्थ्य परीक्षण तथा स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गर्ने कार्यक्रम रहेको छ ।

युएईका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्य विशेषज्ञहरुको टोलीद्वारा नेपालीहरुलाई निःशुल्क रुपमा सेवा दिने स्वास्थ्य शिविरको लक्ष्य रहेको एनआरएनएले जनाएको छ ।

स्वास्थ शिविरमा पूर्ण शारीरिक परीक्षण, रक्तचाप परीक्षण, मधुमेहलगायत पछिल्लो समय नेपालीहरुले भोग्दै आएका विभिन्न रोग र स्वास्थ्य समस्याहरुको निःशुल्क परीक्षण तथा परामर्श सेवा उपलब्ध हुने एनआरएनएले जानकारी दिएको छ ।

एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले रक्तदान कार्यक्रममा सहयोग पुर्याउने सम्पूर्ण रक्तदाता, नेपाली संघसंस्थाका प्रतिनिधि, नेपाली राजदुतावास र अबुधाबी नेसनल हस्पिटल, ब्लड बैंकलाई धन्यवाद व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment