Comments Add Comment

प्रदेशको सपथमा ९ पूर्वप्रधानमन्त्रीको तस्वीर, सगरमाथादेखि भोजपुरे खुकुरीसम्म !

७ माघ, बिराटनगर । प्रदेश नम्बर १ का नवनिर्वाचित प्रदेश सभा सांसदहरुको सपथ ग्रहण कार्यक्रम समारोहमा ९ जना पूर्व प्रधानमन्त्रीहरुको तस्वीर सजाइएको छ । साथै सपथ ग्रहण समारोहस्थलमा प्रदेश नम्बर १ को पहिचान झल्काउने सगरमाथादेखि भोजपुरे खुकुरीसम्मका तस्वीरहरु राखिएको छ ।

सपथ ग्रहणका लागि तयार पारिएको मञ्चमा काठमाडौंमा जन्मिएका शाहीकालीन उपाध्यक्ष एवम् पूर्वप्रधानमन्त्री स्व. कीर्तिनिधि विष्टको समेत तस्वीर राखिएको छ । ‘१ नम्बर प्रदेशका विशिष्ट व्यक्तित्वहरु’ देखिएको तुलमा पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालादेखि केपी ओलीसम्मको तस्वीर समेटिएको छ ।

तस्वीरमा पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइराला, वीपी कोइराला, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, नगेन्द्रप्रसाद रिजाल, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, झलनाथ खनाल र केपी ओलीलाई समेटिएको छ ।

सपथ ग्रहणस्थलमा प्रदेश ९ का पर्यटकीय एवं पहिचान झल्काउने ठाउँमा तस्वीरसमेत राखिएका छन् । सगरमाथादेखि अन्य हिमालहरु र भोजपुरे खुकुरी एवं बराहक्षेत्रका तस्वीरहरुले सपथ ग्रहणस्थल झकिझकाऊ पारिएको छ ।

सपथ स्थलमा ‘प्रदेश १ का विशिष्ट पहिचानहरु’ अन्तरगत सगरमाथा, मकालु हिमाल, कञ्चनजंघा हिमाल, मोरङका बिराट दरबार, बिराटनगर प्रवेशद्वार, बिराटनगर रथ यात्रा, खोटाङको हलेसी मन्दिर, सुनसरीको सप्तकोशी र बराहक्षेत्रलाई समेटिएको छ ।

त्यसैगरी झापाको अर्जुनधारा र चिया बगानका तस्वीरहरु राखिएका छन् । धरानको पञ्चकन्या, दन्तकाली र बूढासुब्बा मन्दिरका तस्वीरहरु पनि सपथ ग्रहणस्थलमा राखिएका छन् ।

त्यस्तै ओखलढुंगा जिल्ला, भोजपुरे खुकुरी, धनकुटाको नमस्ते झरना र छिन्ताङदेवी, ताप्लेजुङको पाथीभरा माता र संखुवासभाको मनकामना मन्दिरका तस्वीरहरु पनि राखिएका छन् ।

सपथ ग्रहणस्थलमा किरात धर्मगुरु फाल्गुनन्द, बुद्ध स्तुपा, उदयपुरको गढी र मस्जिदको तस्वीर पनि सजाइएका छन् ।

बिराटनगरस्थित वीरेन्द्र सभागृहलाई रातारात सजाएर झकिझकाउ पारिएको छ । शनिबारसम्म माकुराको जालो र फोहोर भरिएको सभागृहमा कपडा र तुलहरु टाँगिएका छन् । सभागृहभित्र ५२ जना प्रदेशसभा सांसदहरु अट्ने कुर्सीहरुको व्यवस्थगा गरिएको छ । मञ्चको दायाँवायाँ राष्ट्रिय झण्डा र राष्ट्रपतिको तस्वीर टाँगिएको छ ।

याे पनि पढ्नुहाेस्

माकुराको जालो पन्छाउँदै प्रदेश सदस्यलाई सपथ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment