Comments Add Comment

यसकारण फेरि संसदीय दलको नेता हुन चाहन्छन् देउवा

रामचन्द्र पौडेल पनि तयार छैनन् नेतृत्व छाड्न

८ माघ, काठमाडौं । दुई दिनसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकमा आलोचनाको केन्द्रमा परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘तपाईहरु जबरजस्ती घचेट्नुहुन्छ भने हामी पनि अड्नुपर्ला नि! ‘

कांग्रेस बैठकको सुरुदेखि अन्तिमसम्म देउवा र पार्टी नेतृत्वको आलोचना भएको थियो । नेतृत्व हस्तान्तरणको बहस चलाउने गगन थापा, प्रदीप पौडेलहरु मात्र होइन, अन्य नेताहरुले पनि नेतृत्वको आलोचना गरे ।

प्रदीपले अहिलेको नेतृत्वमाथि विश्वास नै नभएको बताए भने गगनले ‘विश्राम लिएको घोषणा गर्नुस् र यसको प्रारम्भ संसदीय दलबाट गर्नुस्’ भने ।

तर, देउवा मात्र होइन, रामचन्द्र पौडेल पनि नेतृत्व नछाड्ने पक्षमा उभिएका छन् । वरिष्ठ नेता पौडेलले ‘मलाई छोड् भन्ने ? म छोडेर कहाँ जाने ? मेरो नशा-नशामा कांग्रेस छ’ भनेको एक केन्द्रीय सदस्यले बताए ।

पार्टी सभापति देउवाले भने ‘सुझाव राख्न पाइन्छ, मान्नुपर्छ भन्ने छैन’ भन्ने टर्रो जवाफ दिएका छन् । उनले यदि आफूहरुलाई जबरजस्ती घचेट्दै जाने हो भने हामीले पनि अड्नुपर्ला नि भनेको एक नेताले बताए ।

कांग्रेस नेताहरुका अनुसार देउवा नेतृत्व हस्तान्तरण होइन, अझ आफूमा केन्दि्रत गर्न चाहन्छन् । उनी संसदीय दलको नेतामा आफ्नै लड्ने मुडमा छन् ।

प्रत्यक्षतर्फ निर्वाचित २३ प्रतिनिधिसभा सदस्यमा देउवा केही कमजोर देखिएका छन् । तर, समानुपातिक सांसद चयनसागै देउवाको प्रष्ट बहुमत हुनेछ ।

एक नेता भन्छन्, ‘अहिले देउवाको आलोचना भयो भन्ने कुरा मात्र आएको छ । भोलि संसदीय दलको नेतामा प्रचण्ड बहुमत ल्याएर सबैलाई उत्तर दिनेछन् ।’

यसका लागि उनले सिटौला समूहलाई पनि आफ्नो साथमा लिने प्रयास थालिसकेका छन् ।

महामन्त्री शशांक कोइराला, जो रामचन्द्र पौडेल समूहका हुन्, उनको पोजिसन प्रष्ट छैन । तर, केन्द्रीय समितिमा देउवाबारे चर्को आलोचना हुादा पनि उनले मुख खोलेनन्, जसलाई अर्थपूर्ण मानिएको छ ।

किन दलको नेता हुन चाहन्छन् देउवा ?

देउवा चार पटक प्रधानमन्त्री भइसके । तर उनकै नेतृत्वमा कांग्रेस दोस्रो, त्यो पनि पहिलो दल एमाले भन्दा निकै सानो हैसियतमा पुगेको छ ।

केन्द्रमा मात्र होइन, सात वटै प्रदेशमा कांग्रेसको सरकार बन्ने अवस्था छैन । त्यसो भए किन देउवा संसदीय दलको नेता बन्न मरिहत्ते गर्दैछन् त ?

सूत्रहरुका अनुसार यसका दुई कारण छन्ः पहिलो, देउवा एमाले र माओवादी एकता हुन्छ र उनीहरुले ५ वर्ष सरकार चलाउँछन् भन्ने मान्न तयार छैनन् । त्यसैले अहिले दलको नेता भएर भोलि प्रधानमन्त्री हुने बाटो खुला राख्न चाहन्छन् ।

दोस्रो, उनी चुनावी हार स्वीकार गर्न तयार छैनन् । एक नेता भन्छन्, ‘संसदीय दलको नेता छाड्नु भनेको हार स्वीकार गर्नु हो, जुन मान्न उनी तयार छैनन् ।’

देउवाको बुझाइ छ कि कांग्रेसले चुनाव आफू वा पार्टी नेतृत्वका कारण हारेको होइन । दोस्रो र तेस्रो ठूला दल मिलेकाले मात्र कांग्रेस पछि परेको मात्र हो ।

पौडेल समूहले गुमाएको अवसर

‘पावर हङ्गर’को परिचय बनाएका देउवाले संसदीय दलको नेता र प्रधानमन्त्री हुने चाहना राख्नुलाई कांग्रेस नेताहरु नै अस्वभाविक मान्दैनन् ।

तर, यो पटक संसदीय दलमा नै उनलाई रोक्ने मौका भने रामचन्द्र पौडेल समूहले गुमाएको छ ।

केन्द्रीय कार्यसमितिको बैठकमा अधिकांश नेताहरुले समानुपातिक सांसदको सूचीमा विरोध गरेका थिए । किनकी प्रतिनिधिसभाको समानुपातिकको बन्दसूची बनाउने क्रममा सुजाता कोइराला वाहेक अन्यलाई नदोहोर्‍याउने केन्द्रीय समितिको निर्णय उल्लंघन भएको थियो ।

यदि पौडेल समूहले समानुपातिकको सूची सच्याउन पहल गरेको भए अवस्था अर्कै हुने थियो ।

अहिले सूचीको सुरुवाती चरणमा देउवा समूहका नेताहरु नै छन्, जो यसअघि पनि समानुपातिक सांसद भइसकेका छन् । यदि उनीहरुको नाम काटिने हो भने त्यसपछि रहेका पौडेल समूहका नेताहरु सांसद हुने मौका पाउने थिए । र, यो सम्भव पनि थियो ।

कांग्रेसमा केन्द्रीय कार्यसमितिले गरेको निर्णय उल्टाउने अधिकार महासमिति वा महाधिवेशन बाहेक अरुलाई हुँदैन । र, केन्द्रीय समितिको निर्णय कार्यान्वयन गर्दै दोहोरिएकाहरुले ‘म सांसद बन्दिन’ भनेर निवेदन दिन लगाउने हो भने यो सम्भव पनि छ ।

तर, पौडेल समूहले मुद्दा उठाए पनि कुनै निर्णय गराउन नसकेको एक नेताले बताए ।

अब चुनावी समीक्षाका लागि राष्ट्रियसभा निर्वाचनपछि मात्र बैठक बस्ने भनिएको छ । त्यो बैठक बस्दासम्म समानुपातिकको सांसद छनोट भइसकेको हुनेछ, जसले संसदीय दलमा फेरि देउवाको सहज बहुमत पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment