८ माघ, काठमाडौं । समायोजनमा जान नचाहने कर्मचारीका लागि सरकारले खुलाएको स्वेच्छिक अवकाश योजनामा सचिवले नै निवेदन दिएका छन् ।
कर्मचारी अभाव रहेका बेला सचिवहरु नै स्वेच्छिक अवकाशमा आकर्षित भएपछि संसद सचिवालयमा खैलाबैला मच्चिएको छ । २५० कर्मचारी रहेको संसद सचिवालयमा सोमबारसम्म एक दर्जनभन्दा बढीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन् ।
स्वेच्छिक अवकाशका लागि निवेदन दिनेमा सचिव हिमलाल सुवेदी र वीरेन्द्रबहादुर कार्की समेत छन् । सोमबारसम्म १३ जनाले निवेदन दिइसकेको र एक महिनाभन्दा बढी म्याद रहेकाले यो संख्या ३० नाघ्ने अनुमान गरिएको सचिवालयका उच्च अधिकारीले बताए ।
जागिरको अवधि पुग्न लागेका तथा ५० वर्ष उमेर कटेका कर्मचारीहरु स्वेच्छिक अवकाशमा आकर्षित भएको देखिन्छ । उनीहरुले ७ वर्षको पेन्सन बराबर सुविधा पाउनेछन् ।
दुई सचिवले स्वेच्छिक अवकाश लिए वरिष्ठताका आधारमा सहसचिवहरू भरतराज गौतम र ध्रुव घिमिरेको बढुवा हुनेछ ।
तर, संसद सचिवालयमा सभामुखको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने एक सचिव पद अहिले नै खाली छ ।
यसैबीच प्रदेश संसदहरुमा सामान्य प्रशासन मन्त्रालयले नै कर्मचारी व्यवस्थापन गर्ने भएको छ । उनीहरुलाई प्राबिधिक सहयोग गर्न संसद सचिवालयले केही कर्मचारी पठाउने भएको छ ।