Comments Add Comment

बादललाई राष्ट्रियसभामा पठाउने तयारी, नारायणकाजी चुनाव नलड्ने !

८ माघ, काठमाडौं । माओवादी केन्द्रले नेता रामबहादुर थापा बादललाई राष्ट्रियसभामा पठाउने तयारी गरेको छ ।

वाम गठबन्धनको भागवण्डामा माओवादीले १४ सिट पाएको छ, जसमध्ये प्रदेश ३ को खुलातर्फ एक सिट उसको मागमा परेको छ ।

माओवादी नेताहरुका अनुसार त्यही सिटमा वादललाई पठाउने तयारी भइरहेको एक नेताले अनलाइनखबरलाई बताए । ‘उहाँलाई राष्ट्रियसभामा पठाउने तयारी छ, यसमा लगभग सहमति छ’ एक नेताले भने ।

अर्का नेता नारायणकाजी श्रेष्ठ प्रकाशलाई पनि राष्ट्रियसभामा जान पार्टी नेतृत्वले प्रस्ताव गरेको छ । माओवादी अध्यक्ष प्रचण्डले पार्टी बैठकमा मात्र होइन, एमाले र

माओवादी शीर्ष नेताहरु रहेको पार्टी एकता संयोजन समितिमा नै श्रेष्ठलाई राष्ट्रियसभामा जाने प्रस्ताव गरेका छन् ।

तर, गोरखा २ मा प्रत्यक्ष चुनाव लडेका श्रेष्ठ रष्ट्रियसभाको चुनाव नलड्ने मुडमा देखिएको एक नेताले बताएका छन् ।

नाम टुंगो लगाउने जिम्मा शीर्ष नेताहरुलाई

माओवादीले प्रत्येक प्रदेशलाई आफूले पाएको सिटमा तीन जान सिफारिस गर्न प्रदेश इन्चार्जहरुलाई निर्देशन दिएको थियो ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश ईन्चार्जहरु सहितको बैठकमा प्रस्तावित नामबारे छलफल भएको छ । तर, उम्मेद्वारको अन्तिम टुंगो लगाउने अधिकार शीर्ष तीन नेतालाई दिएको छ ।

मंगलबार बस्ने शीर्ष नेताहरुको बैठकले १४ उम्मेदवारको टुंगो लगाउनेछ । प्रदेशबाट सिफारिस भएका नामसहित प्रदेशको सिफारिसमा नपरेका तर, केन्द्रीय भूमिकामा रहेका नेताहरुको नाममाथि समेत छलफल गरेर उम्मेदवारको अन्तिम नामावली तयार गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment