Comments Add Comment

प्रदेश प्रमुख आए, पशु कार्यालयका हाकिम भर्‍याङमुनि छिरे !

'हामी चिन्दैनौं, को हो सचिव सचिव !

९ माघ, विराटनगर । सरकारले अस्थायी मुकाममा हतार-हतार प्रदेश प्रमुखको कार्यालय छनोट गर्दा त्यहाँ बस्दै आएका खास कार्यालय प्रमुख भने भर्‍याङमुनि बस्नुपर्ने अवस्था आएको छ ।

कुरा हो, प्रदेश १ को प्रदेश प्रमुखको कार्यालय राखिएको विराटनगरस्थित क्षेत्रीय पशुसेवा निर्देशनालयको ।

बिराटनगरस्थित पशु निर्देशनालयमा प्रदेश प्रमुख गोविन्द सुब्ब्ााको कार्यालय राखिएपछि सोही कार्यालयका प्रमुख डा. तेजबहादुर रिजाल अहिले कार्यकक्षविहीन भएका छन् । उनको कार्यकक्ष रहेको कोठामा प्रदेश प्रमुख सुब्बाको कार्यकक्ष बनाइएको छ ।

डा. रिजाल कार्यकक्षविहीन भएपछि तीन दिनदेखि कार्यालयको भुइँ तल्लाको भर्‍याङको प्यासेजमा बस्दै आएका छन् ।

मंगलबार बिहान ११ बजे पशु सेवा निर्देशनालयमा पुग्दा कार्यालय डा. रिजाल भुईं तल्लाको भर्‍याङ नजिकै प्यासेजमा कर्मचारीसँग गफिइरहेका थिए ।

कर्मचारीलाई प्रदेश प्रमुखको सचिवालयका सचिव को हुनु हुनुहुन्छ ? भनी जिज्ञासा राख्दा कार्यालय प्रमुख डा. रिजालले आक्रोश व्यक्त गर्दै भने ‘हामी चिन्दैनौं, को हो सचिव सचिव !’

किन रिसाए भनेर बुझ्दा पो थाहा भयो, उनी कार्यकक्षविहीन बनाइएपछि आक्रोशित भएका रहेछन् ।

‘शहरी विकास मन्त्रालयबाट परिपत्र आइतबार आयो, तपाईको कार्यालयमा प्रदेश प्रमुखको कार्यालय राखिँदैछ भनियो, आइतबार मेरो कार्याकक्षलाई प्रदेश प्रमुखको कार्यकक्ष बनाइयो, बाहिर नेमप्लेटसमेत झुन्डाइएको छ, मेरो त कार्यकक्ष नै हरायो’ रिजालले भने, ‘अब प्रदेश प्रमुखको कार्यकक्षमा प्रवेश गर्ने कुरा भएन ।’

हतारमा आफ्नो कार्यकक्षलाई नै प्रदेश प्रमुखका लागि प्रयोगमा ल्याइँदा दराजमा रहेका कागजपत्रसमेत झिक्न नपाएको डा. रिजालले गुनासो गरे ।

कार्यालयका सबै कोठामा अरु कर्मचारीका कार्यकक्ष रहेकाले आफू भर्‍याङ नजिकैको प्यासेजमा कुर्सी राखेर बस्नुपरेको उनले बताए ।

प्रदेश प्रमुख सुब्बा भने आइतबार सो कार्यकक्षमा केहीबेर बसेपछि काठमाडौं फर्किएका छन् । यहाँ प्रदेश प्रमुखको सचिवालय भने सञ्चालनमा छैन ।

पशु सेवा निर्देशनालयका निर्देशकको कार्यकक्षलाई प्रदेश प्रमुखको कार्यकक्ष बनाउनुबाहेक अरु काम केही भएको छैन । तीनतले भवनका अन्य कोठा पशु सेवा निर्देशनालका कर्मचारीले नै प्रयोग गर्दै आएका छन् ।

भवनअगाडिको पूर्वतिर निर्देशनालयको साइनबोर्ड छ भने अर्कोतिर प्रदेश प्रमुखको कार्यालयको बोर्ड राखिएको छ । क्षेत्रीय निर्देशक रिजालका अनुसार सो कार्यालयमा १७ कर्मचारी कार्यरत छन् ।

शहरी विकास डिभिजन कार्यालय विराटनगरका प्रमुख श्यामकिशोर सिंहले पशु सेवा निर्देशनालयका क्षेत्रीय निर्देशक डा. रिजाललाई कार्यालयको अन्य कोठा प्रयोग गर्न भनिएको जानकारी दिए ।

‘डा. रिजाललाई कार्यकक्षविहीन बनाएको छैन, उहाँलाई तत्कालका लागि अन्य कोठा प्रयोगका लागि भनिएको छ,’ सिंहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment