Comments Add Comment

रात दिन नभनी तयार हुँदैछ पोखरामा मुख्यमन्त्रीको कार्यालय

प्रदेश प्रमुखलाई निवास हस्तान्तरण गरी क्षेत्रीय प्रशासक सरे राष्ट्र बैंकको गेस्ट हाउस

१० माघ पोखरा । प्रदेश सांसदले सपथ लिएलगत्तै प्रादेशिक मन्त्रालय तयार पार्न प्रदेश ४ को अस्थायी मुकाम पोखरामा रातदिन काम भइरहेको छ ।

प्रदेश प्रमुखको कार्यालय, निवास, प्रदेश सभा, प्रदेश सभा सचिवालय, सभामुखको निवास तयार भएपछि अहिले मुख्यमन्त्रीको कार्यालय तयार गर्न द्रुतगतिमा काम भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए ।

निर्माणाधीन सीप विकास केन्द्रलाई मुख्यमन्त्रीको कार्यालय, गृह र अर्थ मन्त्रालय राख्ने गरी तयारी भइरहेको हो । ‘सीप विकास केन्द्रको भवन निर्माणाधीन भएकाले जिल्ला समन्वय समितिमा मुख्यमन्त्रीको कार्यालय राख्ने तयारी थियो,’ प्रजिअ अधिकारीले भने, ‘तर मुख्यमन्त्री निर्वाचित हुँदासम्म सीप विकासकै भवन तयार गर्ने गरी काम भइरहेको छ ।’

प्रादेशिक संरचना तयार पार्न कर्मचारीलाई हम्मेहम्मे छ । अध्यागमन कार्यालयलाई पर्यटन बोर्ड पोखरामा सारेर प्रदेश प्रमुख बाबुराम कुँवरको कार्यालय बनाइएको छ भने क्षेत्रीय प्रशासकको निवासलाई प्रदेश प्रमुखको निवास बनाइएको छ । प्रदेश प्रमुखलाई निवास हस्तान्तरण गरेर क्षेत्रीय प्रशासक राष्ट्र बैंकको अधिकृत गेस्ट हाउसमा पुगेका छन् ।

सभामुखका लागि एयरपोर्टस्थित पोखरा महानगरपालिकाको गेस्ट हाउसलाई एक हप्ताभित्र तयार पारिदिन महानगरपालिकालाई अनुरोध गरेको प्रजिअ अधिकारीले बताए ।

प्रदेश सरकार गठन हुँदासम्म सबै अस्थायी संरचना तयार पार्ने गरी काम भइरहेको भवन निर्माण डिभिजन कार्यालय प्रमुख किशोरलाल महाजुले बताए ।

‘अपर्झट तयार गर्नुपर्दा समस्या भएको हो । कतिपय कुरा निर्णय नहुँदा हामीलाई समस्या भइरहेको छ,’ महाजुले भने, ‘सबै मन्त्रालय आउँदा यहाँयहाँ राख्न सकिन्छ भन्ने तयारी चाहिँ गरिरहेका छौं । ठेकेदारलाई रातदिन नभनी काम गर्नु भनेर भनिरहेका छौं ।’

समयमा बजेटसमेत निकासा नआएकाले निर्माण तथा मर्मतमा ढिलाइ भएको हो । निर्माण तथा मर्मतका लागि २८ करोड रुपैयाँ माग गरी पठाइएकोमा ७ करोड रुपैयाँ मात्र निकासा भएको छ ।

प्रदेश ४ मा १२ वटासम्म मन्त्रालय रहने बताइए पनि कुन कुन मन्त्रालय र कति मन्त्रालय रहन्छन् भन्ने कुरा यकीन भएको छैन । कृषि, शिक्षा, सिञ्चाइ, सडक, पशु, वन लगायतका क्षेत्रीय कार्यालयलाई एकएक मन्त्रालय र एकएक सचिवको कार्यालय राख्ने तयारी भइरहेको छ । भू-संरक्षण कार्यालयमा प्रदेश मन्त्रिपरिषदको मुख्य सचिवको निवास राख्ने तयारी छ ।

प्रदेशसभा तयारी पारिएको छ तर प्रदेश सभा र सचिवालयका लागि कर्मचारी भने केन्द्रबाट ७ जना खटिए पनि सबै आइसकेका छैनन् । निर्वाचन परिणाम घोषणा भएको २० दिनभित्र प्रदेशसभाको पहिलो वैठक बसिसक्नुपर्ने व्यवस्था छ ।

अब १७/१८ गतेतिर प्रदेशसभाको बैठक बस्ने गरी सल्लाह भइरहेको प्रदेश प्रमुख बाबुराम कुँवरले जानकारी दिए । प्रदेश नम्बर ४ को प्रदेशसभामा एमालेको बहुमत छ । मुख्यमन्त्री बन्न पृथ्वीसुुब्बा गुरुङ र किरण गुरुङ आकांक्षी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment