Comments Add Comment

राष्ट्रियसभाको एक सिट जित्न सानालाई फकाउँदै ठूला दल

प्रदेश नम्बर ३ मा कति छन् साना दलका मतदाता ?

१२ माघ, काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनलाई सघाउन नेपाल मजदूर किसान पार्टीसँग आग्रह गरेको छ । एमाले नेताहरुले नेमिकपा अध्यक्ष नारायणमान बिजुक्छेलाई भेटेरै वाम गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरेका हुन् ।

भक्तपुरस्थित बिजुक्छे निवासमा एमाले बरिष्ठ नेता माधवकुमार नेपाल, सुवास नेम्वाङ र सुरेन्द्र पाण्डेले छलफल गरेका हुन् । नेमकिपाले पनि राष्ट्रियसभामा ३ नम्बर प्रदेशबाट उम्मेदवारी दिएको छ ।

एमाले नेताहरुले भने नेमकिपाले जित्ने अवस्था नरहेकाले वाम गठबन्धनका खुला समूहका तीनै उम्मेदवार जिताउन उसको मत मागेका हुन् । बिजुक्छेले पार्टीमा सल्लाह गर्ने जवाफ दिएको भेटमा सहभागी एमाले नेता नेम्वाङले बताए ।

प्रदेश नम्बर ३ बाट वाम गठबन्धनले प्राथमिकता क्रम अनुसार क्रमशः बलराम बास्कोटा, रामवहादुर थापा बादल र बेदुराम भुसाललाई उम्मेदवार बनाएको छ । पहिलो र दोस्रो प्राथमिकताका उम्मेदवार जित्ने निश्चित भए पनि तेस्रो नम्बरका उम्मेदवारलाई मत नपुग्न सक्छ ।

कांग्रेसका राधेश्याम अधिकारीलाई नयाँ शक्ति र विवेकशील साझा पार्टीले समर्थन गरिसकेकाले पनि वाम गठबन्धनलाई तेस्रो उम्मेदवार जिताउन केही मत नपुग्न सक्छ ।

त्यसका लागि एमाले नेताहरुले नेमकिपा र राप्रपासँग वार्ता गरेका छन् । राप्रपा वामपन्थी गठबन्धनका उम्मेदवार सघाउन सकारात्मक रहेको स्रोतले जनाएको छ ।

झापामा वामपन्थी गठबन्धनकै कारण राप्रपाका राजेन्द्र लिङ्देन जितेर राप्रपाको नाम जोगिएकाले पनि लिङ्देन आफैं राष्ट्रियसभामा वाम गठबन्धनलाई सघाउन सक्रिय भएका छन् ।

साना दलका मतदाता कति ?

३ नम्बर प्रदेशबाट राष्ट्रियसभामा नेपाल मजदूर किसान पार्टीका ४ मतदाता छन् । भक्तपुर नगरपालिकाका मेयर उपमेयरको मत ३६ गणना हुन्छ । त्यस्तै भक्तपुरबाटै एक प्रत्यक्ष निर्वाचित र एक समानुपातिक सहित दुई प्रदेशसभा सदस्यको मत ९६ गणना हुन्छ ।

त्यस्तै राप्रपाका ३ नम्बर प्रदेशबाट ३ जना मतदाता छन् । धादिङको रुबी भ्याली गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको मत ३६ गणना हुनेछ भने एक समानुपातिक प्रदेशसभा सदस्यको मत ४८ हुन्छ ।

३ नम्बर प्रदेशबाट विवेकशील साझाका ३ जना समानुपातिक सांसद छन् । त्यस्तै नयाँ शक्तिका २ मतदाता छन् । जसमा रसुवाका गाउँपालिका अध्यक्ष र प्रत्यक्ष निर्वाचित प्रदेश सांसद छन् । राप्रपा प्रजातान्त्रिकबाट एकजना प्रदेशसभामा समानुपातिक सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment