Comments Add Comment

ससुराले दिएको काँक्रो झाडीमा लुकाएँ: माग्ने बुढा

ससुराली अर्थात हरेक विवाहित पुरुषले विशेष मान सम्मान पाउने घर । श्रीमतीको माइतीघरमा जब ‘ज्वाइँ साहेब’ पुग्छन्, तब उनको विशेष खातिरदारी हुन्छ । सारा देशले मान्नुपर्ने राजाले समेत आफ्ना ज्वाइँको गोडामा ढोगिदिने चलन हामी कहाँ कुनैबेला थियो । नेपाली समाजमा सासु-ससुरालाई आफ्नै माता-पिता सरह आदर र प्रेम गर्ने चलन छ आजभोलि । हालसम्म मैले भोगेको ससुराली अनुभव पनि कम्ती रोचक र अनौठो छैन ।

म कानुन पढेकाले ‘कोर्ट म्यारिज’ गर्ने सोंच थियो । ससुराबाले मान्दैमान्नु भएन । ‘आँगन त पोल्नैपर्छ’ भन्नुभयो । बज्रबाराही मन्दिरमा विवाह भयो । म पहिल्यैदेखि दाइजो बिरोधी । दाइजो केही पनि ल्याइएन ।

मेरो ससुराली ललितपुरको भट्टेडाँडा हो । घरबाट ससुराली करिब २५ किलोमिटर टाढा थियो । पहिलोपटक ससुराली जाँदा मेरो सवारीसाधन थिएन । लोकल गाडी चढेर ओर्लिएपछि पनि केहीबेर हिँड्नुपथ्र्यो ।

म पहिलो दिन ससुराली जाँदा नौलो थिएँ । जानेबित्तिकै ससुराबाले गोडामा ढोग्न खोज्नुभयो । मैले ‘पर्दैन-पर्दैन’ भनें । सासुआमा त एकदम आत्तिनु भयो । अहिले पनि त्यस्तै हुनुहुन्छ । ज्वाइँ आइसक्नु भयो के-के न भयो भनेझैं गर्नुहुन्छ ।

भात खान बस्दा त आपतै पर्‍यो । के-के हो के-के । घ्यु, अचार, तरकारी तीन-चार थोक । दही, दूध, केरा, सबथोक खानुपर्ने । पहिलो दिन लाज पनि लाग्यो । पुरै खाइनँ । ससुरालीमा तीन साला र एक साली छन् । राम्रो केयर गर्छन् ।

पहिला त म ससुराली धेरै जान्नथेँ । ससुराली भनेको धेरै जान हुँदैन भन्ने थियो । अहिले त्यस्तो लाग्दैन । मेरो बा-आमा र सासु-ससुरा उस्तै हुन् जस्तो लाग्छ । ससुराली गइरहन्छु । भूकम्प गएको बेला तीन दिन ससुराली बसेको छु । सबैभन्दा धेरै दिन बसेको त्यसैबेला हो ।

भूकम्पमा मेरो घर केही भएन । भाइहरुको घर पनि केही भएन । ससुराली घर पुरै भताभुङ्ग भएको थियो । हामी चार बजे विभिन्न अवरोध छिचोल्दै ससुराली पुगेका थियौं । गाईबस्तु पुरिएका थिए । घरको हालत पूरै खराब थियो । सबको घरमा उस्तै समस्या भएकाले दोस्रो व्यक्तिलाई सहयोग गर्ने अवस्था थिएन । हामीले तीन दिन लगाएर एउटा टहरो बनायौं र फर्कियौं ।

दशैंमा टीका थाप्न धेरै घर पुग्नुपर्छ । त्यसैले हरेक घरमा १०/१५ मिनेटभन्दा धेरै बस्नै भ्याइन्नँ । ससुराली घरमा चाहीँ अन्य घरमा भन्दा अलि धेरैबेर बस्ने चलन छ ।

बाइक किनेपछि ससुराली आवतजावत गर्न सहज भयो । ससुराली जाँदा स्याउ, सुन्तला, केरालगायतका फलफूल लाने चलन थियो । बाइकको लेग गार्डमा बाँधेर लैजाँदा कतिपटक त झोला चुँडेर बाटैमा झथ्र्यो । पछिपछि फलफूल लान छाडें । आवश्यकता हेरेर थोरै, तर महंगो कोसेली लैजान थालें । अहिले पनि त्यसै गर्छु ।

पहिला-पहिला ससुरालीबाट फर्किने बेलामा सासु-ससुरा असाध्यै धेरै कोसेली बोकाउनुहुन्थ्यो । काँक्रो, फर्सीलगायत घरमा भएका सबै चिज ठीक पारिदिने । म ‘बोक्न सकिँदैन’ भन्थें । मेरी श्रीमती चाहीँ आफ्ना मातापिताकै कुरामा सपोर्ट गर्दै ‘लैजाम् लैजामु’ भन्थिन् । दोहोरो दबाव भएपछि ति कोसेली बोक्नैपथ्र्यो ।

एकपटक ससुरालीबाट तीवटा पाकेको काँक्रो बोकेर आएको थिएँ । अलि माथी पुगेपछि बोक्न अल्छि लाग्यो, झाडीमा लुकाएर हिँडें । पछि ससुराबाले भेट्नुभएछ । घरमा आएपछि श्रीमती ‘काँक्रो खै ?’ भन्थिन् । म हाँस्दै भन्थें ‘काँक्रो त झाडीमा छ ।’

ससुरालीमा एकपटक झण्डै लज्जित हुनुपरेको थियो । बिहे गरेकै वर्षको प्रसंग हो । दशैंमा जेठो ससुराको घरमा भात खाने कुरा भयो । भात खाँदै थिएँ, परिकार असाध्यै धेरै । कचौरामा घ्यु रहेछ, मज्जाले जमेको । जति कोट्याए पनि नझर्ने । कचौरालाई बिस्तारै हिर्काएँ । घ्यु त झर्‍यो तर भुइँमा । अरुले नदेख्ने गरी भुइँमा झरेको घ्युलाई थालले छोपें । भात खाइसकेपछि हड्डीको टुक्रामा भुइँमा झरेको घ्यु पनि मिसाइदिएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment