Comments Add Comment

संविधान संशोधन गर्न तयार भए सरकारमा जान्छौं : उपेन्द्र यादव

फाइल फोटो

१४ माघ, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि वाम गठबन्धन तयार भए आफूहरु सरकारमा सहभागी हुने बताएका छन् ।

माओवादी र कांग्रेस विगतमा नै संविधान संशोधनका लागि तयार रहेको भन्दै उनले एमालेको धारणा माग गरे ।

आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा यादवले भने, ‘बल एमालेको कोर्टमा छ, एमालेभित्र पनि केपी ओलीजीको कोर्टमा बल छ, कसले गोल हान्नुहुन्छ हेर्न बाँकी छ ।’

विगतमा संशोधनको विरोध गर्‍यो भन्दैमा अहिले पनि गर्छ भन्ने नभएको भन्दै उनले भने, ‘एमालेको स्पष्ट धारणा के हो ? त्यो धारणासँग हाम्रो धारणा मेल खान्छ कि खाँदैन ?’

यद्यपी एमाले-माओवादी नेतृत्वको वाम गठबन्धनले सरकार चलाउने जनादेश पाएकाले आफूहरु सरकारमा जान आवश्यक भने नरहेको जिकिर गरे । ‘हाम्रो पार्टीले सरकारमा जाने जनादेश पाएको छैन । तर, गठबन्धनले हाम्रो आवश्यकता महशुस गर्‍यो हामी सहभागी हुन तयार छौं’ यादवले भने ।

आफूहरु अहिले पनि आन्दोलनरत पक्ष भएकाले संविधान संशोधनको मुद्दा छिनोफानो नभएसम्म केन्द्र सरकारमा सहभागी हुन नसक्ने उनको भनाइ थियो ।

प्रदेश २ मा भने फोरमको नेतृत्वमा सरकार बन्ने उनले दाबी गरे । उनले भने, ‘राजपासँगको सहकार्यमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्छ, यसमा कुनै दुईमत छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment