Comments Add Comment

बाख्राको घाँटीमा झुण्डिएको लुर्कोजस्तै प्रचण्डको सचिवालय !

प्रचण्डलाई फोन लगाउन सचिवालयलाई तीन घण्टा लाग्छ

१६ माघ, काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डको निजी सचिवालय चुस्त र प्रभावकारी बनाउने समाचार केही साताअघि माओवादीवृत्तबाटै सार्वजनिक गरिएको थियो । तर, अहिले प्रचण्डको सचिवालय यति झूर बनेको छ कि सचिवालयकै सदस्यले जरुरी काम पर्दा प्रचण्डसँग फोन सम्पर्क गर्न तीन घण्टा कुर्नुपर्छ ।

विगतमा पुत्र प्रकाश दाहालले प्रचण्डको निजी सचिवालयमा काम गर्दा कसैले चाहेमा तत्कालै प्रचण्डसँग सम्पर्क गर्न सक्थे र आफ्नो कुराहरु राख्न सक्थे । तर, प्रकाशको निधनपछि प्रचण्डको सचिलावय लठीबज्र बनेको छ । यस्तो हुनुमा स्वयं प्रचण्डको व्यक्तिवादी कार्यशैली र सचिवालयका सदस्यहरुको लोसेपनले काम गरेको नेताहरु बताउँछन् ।

पेरिसडाँडास्थित पार्टी हेडक्वार्टरमा भेटभाटलाई व्यवस्थित गर्न भन्दै गठन गरिएको प्रचण्डको सचिवालय बाख्राको घाँटीमा झुण्डिएको लुर्कोजस्तै प्रयोजनविहीन बनेको छ ।

माओवादी अध्यक्ष प्रचण्ड यतिबेला लाजिम्पाट छाडेर खुमलटारमा डेरा सरेका छन् । खुमलटार सरेलगत्तै भनिएको थियो कि अब प्रचण्डले महत्वपूर्ण भेटघाटहरु खुमलटारमा नभई पार्टी हेडक्वार्टर पेरिसडाँडामै गर्ने छन् र यसका लागि सचिवालय टीम गठन गरिएको छ ।

पेरिसडाँडामा प्रचण्डको भेटघाटलाई व्यवस्थित गर्न बनाइएको तीन सदस्यीय सचिवालयमा माओवादी नेता प्रल्हाद बूढाथोकी, प्रकाश पोखरेल र श्रीराम ढकाल छन् । तर, उनीहरुलाई प्रचण्डको दिनभरिको कार्यक्रमबारे कुनै जानकारी गराइँदैन ।

जरुरी काम परेर प्रचण्डसँग सचिवालयका सदस्यले फोन सम्पर्क गर्दा तीन घण्टासम्म सम्पर्क नदिइएको गुनासो एक माओवादी नेताले अनलाइनखबरसँग गरे । उनले भने– ‘प्रचण्डको सचिवालय कति व्यवस्थित छ भन्ने त यहीँबाट थाहा हुन्छ ।’

प्रचण्डको सचिवालयमा रहेका भनिएका ढकाल, बूढाथोकी र पोखरेल बाहेक निजी सहयोगीका रुपमा जोखबहादुर महरा पनि कार्यरत छन् । प्रायः बाक्लो डायरी बोकेर प्रचण्डसँगसँगै हिँड्ने उनी आफ्नो माबोइलमा बज्ने टेलिफोनको खासै वास्ता गर्दैनन् । कलब्याक त परै जाओस्, उनी आएका फोनहरु पनि रिसिभ गर्दैनन् ।

त्यसैगरी प्रचण्डको सचिवालयमा मिडिया कोअर्डिनेटरका रुपमा मनहरि तिम्सिनालाई राखिएको छ । प्रचण्डका कतिपय सार्वजनिक कार्यक्रम र भेटघाटका समाचारहरु बनाएर मिडियालाई इमेल गर्न बाहेक उनले थप भूमिका पाएका छैनन् । तिम्सिनालाई प्रचण्डको सचिवालयको ‘मिडिया म्यानेजर’का रुपमा नभएर ‘म्यासेन्जर’ का रुपमा मात्रै प्रयोग गरिएको छ ।

तथापि फोन उठाउने र मिडियालाई रेस्पोन्स गर्ने सवालमा तिम्सिनाको भूमिका पनि जोखबहादुर महराकै रोग सल्किन थालिसकेको छ । उनको पनि प्रायः फोन उठ्दैन ।

आफ्ना विभिन्न मागहरु लिएर जाने पार्टीभित्रका नेता कार्यकर्ता र अन्य स्वार्थ समूहका व्यक्तिहरु प्रचण्ड निकटका पार्टी नेताहरुको माध्यमबाट पनि उनी निकट पुग्ने गरेका छन् । र, उनीहरु सचिवालयको माध्यमबाट नभई सोझै पहुँचका आधारमा प्रचण्डसम्म पुग्छन् ।

त्यसो त प्रचण्डका नाममा ट्विटर, वेबसाइट र एपसमेत नभएको हो । प्रचण्डले कार्यक्रममा बोलेका कुराहरु समाचारका रुपमा सीएमप्रचण्ड नामक निजी वेबसाइट र कामरेड प्रचण्ड नामक ट्विटरमा अक्सर पोस्ट भएको देखिन्छ । तर, मोबाइल एप भने गत जेठदेखि नै खासै एक्टिभ देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment