Comments Add Comment

धमाधम निर्माण हुँदै होटेल सेराटन, डेढ वर्षभित्र सञ्चालनमा आउने

१६ माघ, काठमाडौंं । एमआईटी ग्रुप होल्डिङ्सको लगानीमा ठमेलमा निर्माणाधीन पाँचतारे डिलक्स होटेल सेराटन करिब डेढ वर्षपछि सञ्चालनमा आउने भएको छ ।

बेसमेन्ट निर्माण भइरहेका बेला भूकम्प र नाकाबन्दीका कारण सञ्चालनको तिथि डेढ वर्षपछि धकेलिएको हो ।

यसअघि फेब्रुअरी २०१८ मा सञ्चालन गर्ने एमआईटीको लक्ष्य थियो । अब जुन २०१९ देखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको एमआईटीका म्यानेजर सुरेश चित्रकारले जानकारी दिए ।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङको लगानी छ, उक्त होटेलमा । उनीहरु दुवै अस्ट्रेलियाका धनाढ्यहरुको सूचीमा रहेका नेपाली मूलका व्यवसायी हुन् ।

संरचना नै परिवर्तन गर्नुपरेकाले निर्माणमा ढिलाइ भएको चित्रकारले बताए ।

‘भूकम्पको जोखिमलाई मध्यनजर गर्दै थप संरचनाहरु बनाउनुपर्‍यो,’ म्यानेजर चित्रकारले भने ।

उनका अनुसार सबैभन्दा चुनौतीपूर्ण मानिएको बेसमेन्ट निर्माण सकिएर अहिले तेस्रो तलाको ढलान भइरहेको छ ।

‘अब धमाधम तला थप्नेछौं, मुख्य चुनौतीपूर्ण काम सकिएको छ । अब निर्माणमा कुनै अवरोध नहुने देखेका छौं,’ चित्रकारले भने ।

कान्तिपथस्थित केशरमहलसँगै करिब १४ रोपनीमा उक्त होटेल निर्माणाधीन छ । दुई सय २५ वटा गेस्ट र सुइट रुम रहने छन् । शतप्रतिशत वैदेशिक लगानी छ । शुरुमा आठ अर्ब रुपैयाँ लागत अनुमान गरिएकामा निर्माणमा ढिलाइका कारण करिब १३ अर्ब पुग्ने देखिएको छ ।

होटेलभित्रै रिटेल सपिङ सुविधा लिन सकिनेछ । हेल्थ क्लब, स्विमिङ पुल र फिटनेस सेन्टरको पनि यो होटेलमा सुविधा राख्न लागिएको छ । १७ तलाको यो होटलमा दुई तलामा पार्किङ रहनेछ ।  बेसमेन्ट, लबीसहित १३ वटा तलामा भने गेस्टरुम रहनेछन् ।

उक्त होटेलमा विवाह र सभा-समारोहका लागि करिब एक हजार सिट क्षमताको सभाकक्ष निर्माण हुँदैछ, जुन काठमाडौंमा हालसम्म उपलब्धमध्ये सबैभन्दा ठूलो हुनेछ । त्यसमा तीन वटा मिटिङ, बोर्ड रुम  र थप दुई सभाकक्ष पनि निर्माण गरिने चित्रकारले जानकारी दिए ।

देशभरमा अहिले १० वटा पाँचतारे होटेल सञ्चालनमा छन् । सन् २०१९ सम्ममा १० वटा पाँचतारे होटेल थपिँदै छन् । त्यसमध्ये सेराटन सबैभन्दा ठूलो लगानीमा आउन लागेको होटेल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment