Comments Add Comment

‘मुख्यमन्त्रीमा राजपाको पनि दाबी छ’

फोरमको एकाधिकार हुँदैन, मुख्यमन्त्रीमा छलफल भएकै छैन

फाइल फोटो

१६ माघ काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा राजपाको समेत दाबी रहेको बताएका छन् । मुख्यमन्त्रीमा फोरमको मात्रै एकाधिकार नहुने भन्दै यादवले सक्षम व्यक्तिलाई २ नम्बर प्रदेशको मुख्यमन्त्री बनाइनुपर्ने बताए ।

सिराहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसदसमेत रहेका राजपा नेता यादवले अनलाइनबरसँग भने- ‘अहिले बाहिर जसरी चर्चा आयो कि मुख्यमन्त्रीमा राजपाले दाबी नै गरेको छैन र यसमा फोरमको एकाधिकार हो, यो साँचो होइन । राजपाको पनि दाबी छ ।’

केपी ओली संविधान संशोधनका लागि तयार रहेको अवस्थामा वाम गठबन्धनको सरकारमा मधेसकेन्द्रित दलहरु पनि सहभागी हुन सक्ने राजपाको अध्यक्ष मण्डलका सदस्यसमेत रहेका यादवले बताए ।

सांसद यादवसँग समसामयिक विषयमा अनलाइनखबरले गरेको संक्षिप्त कुराकानीः

प्रदेश नम्बर २ मा राजपाले मुख्यमन्त्रीको दाबी किन नगरेको ?

हैन, अहिले बाहिरजस्तो प्रचार आएको छ, त्यस्तो होइन । हाम्रो कुरो के हो भने मधेसी गठबन्धनको नेतृत्वमा २ नम्बरमा सरकार बन्नुपर्छ । राजपा र फोरमको वीचमा कुनै पनि कारणले गठबन्धनमा संकट आउनुहुँदैन । अब मुख्यमन्त्रीदेखि लिएर सरकारको जुन फर्मेसन हुन्छ, त्यो सहमतिकै आधारमा हुन्छ ।

अहिले हामीसँग चुनौती पनि छ । जनताका अपेक्षा पनि धेरै छ । त्यसैले हामीले लिडर छान्दा ऊ आफ्नो टीमलाई ड्राइभ गर्न सक्ने क्याप्टेनका रुपमा होस्. । ऊ अलि परिपक्व, अलि भिजनरी होस् । ताकि उसले जनताको आशा र भरोसालाई साकार गर्न सकोस् । त्यस्तो मान्छे फोरम या राजपा जोबाट भए पनि स्वीकार्य हुन्छ । त्यो भयो भने हामीलाई आपत्ति हुँदैन ।

तर, अहिले बाहिर जसरी चर्चा आयो कि राजपाले दाबी नै गरेको छैन र यसमा फोरमको एकाधिकार हो, यो साँचो होइन ।

तर, दुई नम्बरको मुख्यमन्त्रीका लागि संघीय फोरमका तर्फबाट विजय यादवको नाम चर्चामा आइरहेको छ नि ?

हैन हैन, हामीसँग औपचारिक रुपमा कुरै भएको छैन ।

अहिले बाहिर जसरी चर्चा आयो कि राजपाले दाबी नै गरेको छैन र यसमा फोरमको एकाधिकार हो, यो साँचो होइन ।

राजपाबाट चाहिँ मुख्यमन्त्रीका दाबेदार को त ?

अहिले व्यक्तितिर नजाऔं । राजपाभित्र धेरै नेताहरु छन् ।

उसोेभए प्रदेश २ मा फोरमलाई मुख्यमन्त्री दिने भन्नेबारे दुई पार्टीवीचमा छलफल भएको छैन र राजपाले आफ्नो दाबी छाडेको छैन भनेर बुझ्दा हुन्छ ?

हामीले दाबी छाडेको छैन । मलाई लाग्छ, हामी दुई/तीन दिनभित्र औपचारिकरुपमा बसेर यसलाई टुंग्याउँछौं ।

फोरमसँग मुख्यमन्त्री, सभामुख उपसभामुख र मन्त्रीहरुको पनि भागवण्डा हुन्छ कि ?

सबै विषयमा छलफल हुन्छ । २ नम्बरको सरकार गठनदेखि लिएर राष्ट्रिय राजनीतिमा पनि सँगसँगै छलफल होस् भन्ने हाम्रो चाहना हो । ताकि राष्ट्रिय राजनीतिमा पनि आफ्नो ढंगले अघि बढ्न सकियोस् ।

राष्ट्रिय राजनीतिको कुरा गर्दाखेरि तपाईहरु एमाले नेतृत्वको वाम सरकारमा जाने कि नजाने ?

यसमा दुई/तीनवटा कुरा क्लियर नभइसकेको स्थिति छ । पहिलो कुरा त वाम गठबन्धनको सरकार निर्माण हुने भन्ने छ । वाम गठबन्धनको कसको नेतृत्वमा सरकार गठन हुन्छ, त्यो निश्चित नभइसकेको अवस्था छ । दोस्रो, वाम गठबन्धनकै सरकार बन्छ भन्ने पनि अहिलेसम्म निश्चित भइनसकेको अवस्था छ । यस्तो अवस्थामा राजपाले अगावै बोल्नु उचित हुँदैन ।

तर, राजपा के कुरामा स्पष्ट छ भने राष्ट्रिय राजनीतिमा जनताले जुनप्रकारको मतादेश दिए, मधेस र पहाडका यी दुईवटै शक्तिलाई बीचको बाटो खोजेर एउटा सहमति कायम गरी अगाडि बढ्यो भने राष्ट्रिय एकता गर्न सजिलो हुन्छ ।

जस्तो- हामी संविधानमा केही कमजोरीहरु छन् र यसलाई संशोधन गराउँछौं भनेर चुनावमा गएका हौं । मधेसका जनताले यो एजेण्डालाई अनुमोदन गरे । पहाडतिरका जनताले संविधान संशोधन गर्नुहुँदैन भन्ने वामपन्थीलाई अनुमोदन गरे । अब यी दुईवटा शक्तिहरु आफ्नै लाइनमा अगाडि बढे भने मधेस र पहाडबीच जुन सामञ्जस्यता कायम गुर्नपर्ने हो, त्यसमा अप्ठ्यारो हुन्छ । यसले राष्ट्रलाई हित गर्दैन ।

हामी आ-आफ्ना एजेण्डा लिएर चुनावमा गयौं, अब हाम्रो काँधमा आएको थप जिम्मेवारी के हो भने अब यी दुईवटै लाइनलाई मिलाएर राष्ट्रलाई एक ढिक्का बनाएर अगाडि बढ्नुपर्छ । यसका लागि अब वीचको बाटो खोज्नुपर्ने स्थिति देखिन्छ ।

वाम गठबन्धनकै सरकार बन्छ भन्ने पनि अहिलेसम्म निश्चित भइनसकेको अवस्था छ । यस्तो अवस्थामा राजपाले अगावै बोल्नु उचित हुँदैन ।

निकट भविश्यमा केपी ओली प्रधानमन्त्री बने र संविधान संशोधन गर्न मानेनन् भने तपाईहरु सरकार जानुहुन्छ ?

जाँदैनौं । मधेसी मोर्चा वा राजपा आत्मसमर्पण गर्न किमार्थ तयार छैन । दुईटैले आफ्नो स्थिति स्वीकारेर सम्मानजनक रुपमा निर्णय भयो भने एउटा वातावरण बन्छ । हैन भने, राजपा त्यतिकै सरकारमा जाँदैन ।
तर, हामीले कांग्रेसलेजस्तो सरकारमै नजाने भनेका छैनौं । हाम्रो मूल एजेण्डा भनेको संविधान संशोधन नै हो ।

राजपा र फोरमबीच पार्टी एकता कहिले हुन्छ ?

राजपाको मान्यता के हो भने राष्ट्रिय राजनीतिमा हामी एउटा पक्ष हौं । राजपा र फोरम मिलेपछि यो पक्षलाई अझै दरिलो र बलियो बनाउन सकिन्छ । यो पक्षलाई बलियो बनाउनका लागि संघीय समाजवादी फोरम र राजपाका बीचमा एकता हुनुपर्छ ।

यो काम हामीले केवल सार्वजनिक खपतका लागि मात्रै भनेका होइनौं । हामीले ६ वटा पार्टी मिलेर राजपा बनायौं, अब सातौं भनेको फोरम छ । अब यो पनि मिल्यो भने यो धार निकै बलियो हुन्छ ।

अहिले चुनावमा गठबन्धन गरेर जाँदा एकप्रकारको विश्वासको वातावरण बनेको छ । अर्को, यसले सकारात्मक परिणाम पनि दिएको छ । र, यो प्रयोग सफल रह्यो । त्यसैले यसलाई अझै मजबुद बनाएर जानुपर्छ भन्ने हाम्रो मान्यता हो ।

फोरमका तर्फबाट पार्टी एकताका लागि कस्तो रेस्पोन्स आएको छ ?

फोरमका तर्फबाट औपचारिकरुपमा कुरा नआइसकेको हुनाले हामी यसमा औपचारिक ढंगमै कुराकानी गर्ने तयारीमा छौं । पार्टी एकता हुनुपर्छ भन्ने हाम्रो मान्यता हो, व्यवहारिकरुपमा कति दिन लाग्छ, अहिले नै भन्न सकिँदैन ।

अलिकति व्यक्तिगत प्रशंगतिर जाऔं, तपाईले सिराहा क्षेत्र नम्बर ४ मा वाम गठबन्धनका माओवादी उम्मेदवार अजयशंकर नायकलाई हराउनुभयो । त्यहाँ राजपाको संगठन खासै बलियो थिएन, तर, कमजोर संगठन भएको ठाउँबाट कसरी जित्नुभो ?

हामीले ६ वटा पार्टी मिलेर राजपा बनायौं, अब सातौं भनेको फोरम छ । अब यो पनि मिल्यो भने यो धार निकै बलियो हुन्छ ।

मैले चुनाव जित्छु भनेर नै त्यहाँबाट टिकट लिएको हुँ । राजपाको अध्यक्ष मण्डलको सदस्य हुनुको नाताले म आफैं पनि टिकट लिने निर्णायक मण्डलीमा थिएँ । त्यसैले जित्छु भनेर नै टिकट लिएको हो ।

तर, त्यहाँ राजपाको संगठन त निकै कमजोर थियो नि हैन ?

तपाईले भनेजस्तै स्थानीय तहको चुनावी परिणाम हाम्रो पक्षमा थिएन । त्यहाँका दुईवटै नगरपालिका माओवादीले जितेको थियो । अर्को एउटा गाउँपालिका एमालेले जितेको थियो । यो डाटालाई आधार मान्ने हो भने वाम गठबन्धनको पक्षमा थियो । तर, मैले चुनावमा जाँदैगर्दा अपोजिसनका उम्मेदवार को छन् भनेर हेरें । उनको व्यक्तित्वलाई हेरें ।

मैले चुनावमा केही नयाँ चिज लिएर त्यहाँका युवामा, जनतामा गएको थिएँ । जनताले यो कुरामा विश्वास गरे । परम्परागत राजनीतिमा जुन सपना बाँड्ने काम भइरहेको थियो, मैलेचाहिँ यस निर्वाचन क्षेत्रलाई नमूना क्षेत्रका रुपमा विकास गर्ने प्रस्ताव जनताका वीचमा राखें । जनताले मलाई विश्वास गरे र विजयी गराए ।

अर्को कुरा, सिराहाको यो क्षेत्र जहिले पनि वामपन्थीहरुको हातमा थियो । तर, त्यो क्षेत्रको समुचित विकासमा अहिलेसम्म तिनीहरुले केही गरेनन् । उनीहरुले खाली जनता-जनतालाई भिडाउने र जहिले पनि त्यहाँको अन्तरविरोधमा मात्रै खेलेर अहिलेसम्म राजनीति गरिरहेका थिए । मैले फरक ढंगमा, राजनीति भनेको विपक्षीलाई सिध्याउने हैन, राजनीति भनेको अन्तरविरोधमा खेल्ने चिजमात्रै हैन, समाजलाई कसरी मिलाएर सकारात्मक दिशातिर लान सकिन्छ भन्नेबारेमा जनतासँग आफ्ना कुरा राखेंं ।

चुनाव जितेपछि तपाई काठमाडौंमा खासै देखिनुभएको छैन नि ?

चुनावजितेपछि दुई हस्तासम्म घरदैलो गरेर जनतालाई धन्यवाद दिन गयौं । यो वीचमा मैले त्यो क्षेत्रमा शीतलहरीमा परेकाहरुलाई कम्मल वितरण गरेर आएको छु । र, अहिले त्यहाँ नमूना क्षेत्रका लागि के-के गर्न सकिन्छ भन्नेबारे अल्पकालीन र दीर्घकालीन योजनाहरु बनाउँदैछु । यसअघि चुनाव जितेर जानेहरुले जसरी जनतालाई ठग्ने गरेका थिए, मैले त्यसलाई तोड्ने योजना बुन्दैछु ।

यसका साथै राष्ट्रिय राजनीतिमा राजापाले कसरी भूमिका खेल्नुपर्छ भन्नेबारेमा पनि गृहकार्य गर्दैछौं ।

यो चुनावपछि पार्टीमा उत्साह थपिएको छ । हामीले अहिले उत्साहका साथसाथ जिम्मेवारी पनि थपिएको महसुस गरेका छौं । त्यो जिम्मेवारी हो- पार्टीलाई रिफर्म गर्ने ।

६ वटा पार्टी जोडिएर बनेको राजपामा अहिले निराशा छ कि उत्साह ?

राजपा निर्माण हुनु आफैंमा यो एउटा ऐतिहासिक परिघटना हो । ६ वटा पार्टीहरु एउटै संगठनमा एउटै झण्डा र चुनावचिन्ह लिएर आउनु आफैंमा ऐतिहासिक परिघटना हो, यसको परिणाम पनि चुनावमा देखियो । अहिले देशमा ६ वटा राष्ट्रिय पार्टी छन्, त्यसमा राजपा चौथो पार्टी भएर आएको छ । त्यसैले यो चुनावपछि पार्टीमा उत्साह थपिएको छ । हामीले अहिले उत्साहका साथसाथ जिम्मेवारी पििन थपिएको महसुस गरेका छौं । त्यो जिम्मेवारी हो- पार्टीलाई रिर्फम गर्ने । पार्टीलाई बैचारिकरुपमै व्यवस्थित गरेर सिस्टमेटिक बनाउने ।

अर्को कुरा, चुनावको परिणामपछि राष्ट्रिय राजनीतिमा जुन प्रकारको ग्याप देखिएको छ, त्यसलाई भर्नका लागि हामीले अझै आफ्नो दायरालाई विस्तार र विकास गर्नुपर्ने आवश्यकता महसुस भएको छ ।

तर, चुनावअघि नै ५ नम्बर प्रदेशबाट राजपाका शीर्षनेता हृदयेश त्रिपाठी नै एमालेको चिन्ह लिएर गए । अब उनलाई राजपामा फर्काउनुहुन्छ ?

हामीले राजपालाई एउटा वैकल्पिक शक्तिका रुपमा स्थापित गर्ने सोचका साथ निर्माण गरेका हौं । तर, चुनावको बेलामा भर्खरै पार्टी एकता भएको थियो, त्यसैले ५, ६ र ७ नम्बर प्रदेशमा हामी अगाडि बढ्न सकेनौं । त्यसैले अब पार्टीलाई शुद्धीकरण गर्दै हामी विकास र विस्तारतिर लानेछौं ।

जीवन्त पार्टीभित्र छलफल र बहस हुनु स्वाभाविकै हो । तर, यसले राजपाभित्र नकारात्मक असर पार्ने म देख्तिनँ ।

अर्को कुरा, ५ नम्बर प्रदेशमा हामीले स्थानीय चुनावमा भाग लिन सकेनौं । चुनावको मुखमा पनि पार्टीका सिनियर नेताहरु पार्टी छाडेर हिँड्नुभयो । अब वैकल्पिक शक्तिका रुपमा हामीले ५ नम्बर प्रदेशमा पनि संगठन निर्माण गर्छौं । यसको परिणाम तपाईहरुले छिट्टै देख्न पाउनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment