Comments Add Comment

‘१२ वर्षपछि ५० लाख पर्यटक भित्र्याउन सम्भव छ’

'नीतिगत जटिलताहरुमा सुधार आवश्यक'

नेपाल पर्यटन बोर्डले सन् २०१७ मा १० लाख पर्यटक भित्रिएको दाबी गरिरहँदा होटेल व्यवसायीहरुले भने राम्रो नाफा गर्न नसकेको बताइरहेका छन् । उनीहरु गुणस्तरीय पर्यटकको अभाव औंल्याइरहेका छन् ।

केही व्यवसायी भने थप होटेल सञ्चालनमा ल्याउने तयारीमा छन् । तिनैमध्येका हुन्, प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका पूर्वअध्यक्ष सुमन पाण्डे । उनी ठमेलमा सञ्चालनमा आउने तयारीमा रहेको अलफ्ट होटेलका निर्देशक हुन् ।

के नेपालमा होटेल खोलेर मनग्य नाफा कमाउने स्थिति छ त ? होटेल व्यवसाय र पर्यटन क्षेत्रको विकासमा केन्द्रित रहेर पाण्डेसँग गरिएको कुराकानीः

व्यवसायीहरुले राम्रो नाफा हुन नसकेको बताइरहेका छन् । तपाईंहरु भने नयाँ होटेल सञ्चालनमा जुट्नुभएको छ । के यो क्षेत्रमा नाफा नभएकै हो त ?

अध्ययन नगरी कसैले पनि लगानी गर्दैन । र, नाफा नहुने क्षेत्रमा त झन् लगानी गर्ने कुरै भएन । केही व्यवसायी नाफा भए पनि लुकाउँछन् । किनकि, नाफा छ भन्यो भने नयाँ लगानी आउला र आफ्नो व्यवसाय खस्केला भन्ने डर उनीहरुमा देखिन्छ । तर, हामीले अध्ययनपछि यो क्षेत्रमा नाफा भएको पाएरै लगानी गरेका हौं ।

सन् २०३० सम्ममा ५० लाख पर्यटक भित्र्याउन सकिन्छ भनेर लागेको मान्छे हुँ म । त्यो सम्भव पनि छ । पाँच लाख पर्यटक पनि आउँदैनन् भनेर लगानीलाई निरुत्साहन गर्नेहरु पनि नभएका होइनन् ।

सन् २०१७ मा १० लाख पर्यटक आएको पर्यटन बोर्डको दाबी छ । के यो संख्या नेपालका लागि पर्याप्त हो ?

यो आँकडामा १०-२० हजार तलमाथि पर्न सक्छ । तर, मचाहीं यो आँकडासँग सन्तुष्ट छु । भूकम्पपछि हामीले एउटा योजना बनाएका थियौं, सन् २०१५ भित्र घट्दो क्रमलाई रोक्ने र डिसेम्बर २०१६ मा सन् २०१४ को सोही अवधिको आगमनबराबर पर्यटक भित्र्याउने ।

त्यसबीचमा पर्यटन क्षेत्रमा सकारात्मक सन्देश दिन सकियो भने सन् २०१७ मा अझ बढाउने हाम्रो योजना थियो । त्यो लक्ष्य ‘मिट’ भएको पाएका छौं ।

सशस्त्र द्वन्द्व सकिएको केही वर्षपछि देशले अस्थिरताबाट पनि पार पाउँदैछ । भर्खरै तीन तहका निर्वाचन सम्पन्न भएका छन्, र स्थिर सरकार बन्दैछ । देश अब आर्थिक विकासतर्फ लम्कने छ ।

अन्तर्राष्ट्रिय पर्यटन बजारलाई हेर्ने हो भने के यो आँकडासँग सन्तुष्ट हुन सकिन्छ त ?

विश्व पर्यटन बजारलाई नियाल्ने हो भने नेपालमा अहिले आइरहेका पर्यटकको संख्या कम हो । किनकि, अहिले हाम्रो देशमा कम्तिमा २५ लाख पर्यटक आउनुपर्ने हो । हामीले वास्तविक पर्यटक भित्र्याउन सकेका छैनौं । र, हाम्रा पर्यटकीय गन्तव्यसम्म पुग्ने पूर्वाधार निर्माण भएको छैन ।

पर्यटन क्षेत्रको विकासका लागि पाटा नेपालले ‘भिजन पाँच मिलियन’ अवधारणा घोषणा गरेको छ । त्यो भनेको सन् २०३० सम्ममा ५० लाख पर्यटक भित्र्याउने योजना हो ।

कम्बोडिया सन् १९९८ देखि विदेशी पर्यटकका लागि खुला भएको हो । हामीजस्तै मुलुक कम्बोडियाले अहिले वार्षिक ५० लाख पर्यटक भित्र्याउँछ ।

यस्तै, म्यानमारले सात वर्षअघि मात्रै पर्यटक भित्र्याउन थालेको हो । तर, वाषिर्क करिब ४० लाख विदेशीलाई स्वागत गर्न थालिसकेको छ ।

भारतले १५ वर्ष अघिसम्म २१ लाख मात्रै भित्र्याउँथ्यो । अहिले एक करोडभन्दा बढीले बर्सेनि भारत भ्रमण गर्छन् ।

अन्य मुलुकमा पर्यटनलाई दृष्टिगत गरी नीति निर्माण गरिन्छ । नेपालमा भने अहिलेसम्म त्यस्तो हुन सकेको छैन । १० वर्षको बजेट विश्लेषण गर्दा कुनै वर्षमा पनि पर्यटनलाई प्राथमिकता दिएको देखिँदैन ।

५० लाख पर्यटक भित्र्याउन कसरी सम्भव छ ?

यो हाम्रो भिजन हो । र, अब यसलाई मिसन बनाउनुपर्छ । हामीले ६ वटा क्षेत्रमा काम गरिरहेका छौं । पूर्वाधार, नीतिगत सुधार, उडान क्षेत्र, मार्केटिङ र प्रोडक्ट तथा दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो योजना छ ।

योजना बनाएर मात्रै हुँदैन, सेवा प्रदान गर्ने जनशक्ति पनि आवश्यक पर्छ । अहिले ५० लाख युवा वैदेशिक रोजगारीमा छन् । ५० लाख पर्यटक भित्र्याउन सक्दा कुनै नेपाली कामको खोजीमा बिदेसिनु पर्दैन । सबै क्षेत्रमा रोजगारी सिर्जना हुन्छ । उत्पादन र उद्योगसँगै व्यापार पनि फस्टाउँछ । जलविद्युत् र यातायात क्षेत्र पनि फस्टाउँछन् ।

पूर्वाधार क्षेत्रमध्ये हामीले पर्यटनका हिसाबले मूलतः सडक र विमानस्थललाई प्राथमिकतामा राख्नुपर्छ ।

विश्व पर्यटन बजारमा अबको १० वर्षमा एक करोड ४० लाख कामदारको अभाव हुन्छ । र, पर्यटन बजारले साढे ६ अर्ब अमेरिकी डलर गुमाउने देखिन्छ । त्यसलाई हामी ‘क्यास’ गर्नसक्छौं ।

सन् २०३० सम्मको लक्ष्य थेग्ने गरी भौतिक संरचनाहरु तयार हुने सम्भावना कत्तिको देख्नु हुन्छ ?

नेपालमा राम्रा होटेल भएकाले पर्यटक आएका होइनन् । हामीसँग हिमाल छन्, त्यही हेर्न विदेशी नागरिक आएका हुन् ।

पर्यटक आएपछि बजार बढ्छ । र, त्यसपछि आफैं यो क्षेत्रमा लगानी बढ्छ । बजार बढेसँगै आवश्यक संरचनाहरु तयार हुन्छन् । यसमा सरकारले विमानस्थल र सडक निर्माण गरिदिनुपर्छ । होटेल र पर्यटकलाई आकर्षण गर्ने गन्तव्यहरु निजी क्षेत्रले आफैं निर्माण गर्छ ।

गुणस्तरीय पर्यटक आएनन् भन्ने गुनासो सुनिन्छ । धेरै खर्च गर्ने पर्यटक मात्रै नेपालका आवश्यकता हुन् त ?

काठमाडौंमा हिँड्ने ठाउँ छैन । हिँड्नु पर्दा मास्क लगाउनै पर्छ । ग्रामीण सडकको उस्तै दुर्दशा छ । पर्यटक मात्रै गुणस्तरीय खोजेर हुन्छ ? उनीहरुलाई प्रदान गर्ने सेवाहरु गुणस्तरीय हुनुपर्दैन ?

दैनिक हजार डलर खर्च गर्ने पर्यटक मात्रै ल्याउनुपर्छ भन्ने व्यक्तिवादी सोच हो । हामीले आफ्नो व्यवसाय मात्रै होइन, राष्ट्रको बारेमा पनि सोच्नुपर्छ ।

अहिले हामीलाई महँगा पर्यटक, मध्यमखालका ट्रेकर र ब्यागप्याकर उत्तिकै आवश्यक छन् । किनकि, अन्नपूर्ण र सगरमाथा क्षेत्र ब्यागप्याकरका कारण नै माथि उठेका हुन् ।

संख्या ठूलो मात्रामा बढ्यो भने मात्र हामीले खर्च गर्ने पर्यटकबारेमा सोच्नुपर्छ । हामी आफैं अस्तव्यस्त छौं, जताततै धुलो छ, हिँड्ने वातावरणसम्म छैन । अनि, गुणस्तरीय पर्यटक चाहेर मात्र हुन्छ ?

ब्यागप्याकर भित्र्याउन नहुने केही व्यवसायीको मान्यता छ, जुन गलत मानसिकता हो । ब्यागप्याकर अर्थतन्त्र होइन, संस्कृतिसँग सम्बन्धित पर्यटक हो । जसले ग्रामीण क्षेत्रमा पुगेर अनुभव संकलन गर्छ ।

र, उनीहरुकै कारण अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो प्रचारप्रसार भइरहेको छ । नेपालको संस्कृति र जनजीवनबारे महँगो पर्यटकले बुझ्ने चाहना कमै राख्छ ।

सरकारले होमस्टेलाई जथाभावी अनुमति दियो भन्नेे होटेल व्यवसायीहरुको भनाइ छ । के होमस्टे नेपालको आवश्यकता होइन ?

होटेल र होमस्टेमा फरक छ । दुवै मुलुकका लागि आवश्यक छन् । होमस्टेले हाम्रो जनजीवनबारे पर्यटकहरुलाई जानकारी दिन्छ । र, त्यो अन्तर्राष्ट्रियस्तरसम्म पुग्छ ।

होटेलले भने राज्यलाई ठूलो मात्रामा कर तिर्छन् । आम्दानी मात्रै ठूलो कुरा होइन, हाम्रोबारेमा अन्तर्राष्ट्रिय समुदायसम्म जानकारी गराउनु पनि त्यत्तिकै महत्वपूर्ण छ ।

ब्यागप्याकरका रुपमा ठूला अनुसन्धाता र लेखकहरु नेपाल आइरहेका छन् । र, उनीहरु होमस्टेमा बस्ने गरेका छन् । अध्ययन गर्दै लेखेका छन् । त्यही भएर नेपालको प्रचारप्रसार भएको छ ।

पर्यटक बढाउन के के जटिलता छन् ?

नेपालमा सरकारका कारण होइन, निजी क्षेत्रको प्रयासमा पर्यटक भित्रिइरहेका छन् । र, पर्यटन बोर्डले निजी क्षेत्रलाई साथ दिएको छ ।

सरकार पनि निजी क्षेत्रसँगै लाग्यो भने अहिलेभन्दा धेरै पर्यटक निश्चय नै भित्र्याउन सकिन्छ । १० बाट ५० बनाउन सन् २०३० सम्ममा १३ दशमलव दुई प्रतिशतको वृद्धि चाहिन्छ । राज्यसमेत लाग्यो भने यो सम्भव छ ।

केही नीतिगत जटिलता छन्, जसले पर्यटक बढाउन रोकिरहेका छन् । विमानस्थल र सडक निर्माण सरकारको दायित्व हो । लगानीयोग्य वातावरण सिर्जना भएमा निजी क्षेत्रले लगानी बढाउँछ । र, त्यसका लागि सरकारले नीतिगत सुधार गर्नुपर्छ ।

सुधार गर्नुपर्ने विषय केके हुन् ?

श्रव्यदृष्य प्रविधिमार्फत् प्रचारप्रसार गर्न कानुन नै अवरोधका रुपमा खडा छ । तस्बिर खिच्ने दुई सय डलरको ड्रोनलाई रकेटजस्तो संवेदनशील बनाएर त्यही सूचीमा राखिएको छ ।

उडानका लागि १४ वटा निकायमा जानुपर्ने बाध्यता छ । ड्रोनले राम्रो तस्बिर खिचेर सामाजिक सञ्जालमा राख्दा नेपालकै पर्यटन गन्तव्यहरुको प्रचारप्रसार हुने हो ।

यस्तै, विदेशी फिल्म निर्माताहरुलाई नेपालमा आएर छायांकन गर्न सहज छैन । हाम्रा नीति नै त्यसमा बाधक छन् । एउटा फिल्म कैयन मानिसले हेर्छन् । र, त्यसबाट नेपालकै प्रचारप्रसार हुने हो ।

उदाहरणका लागि सन् १९९०को दशकमा हिन्दी कथानक चलचित्र ‘खुदागवाह’को सुटिङ जोमसोममा भएको थियो । त्यसपछि नै हो, भारतीयहरु नेपालमा आउन थालेको छ ।

जोमसोम आउने क्रममा उनीहरुले मुक्तिनाथ देखे । र, मुक्तिनाथ धामसम्म उनीहरुको पहुँच बढ्यो । अहिले मुक्तिनाथका होटेलहरु भारतीय पर्यटककै कारण भरिभराउ रहन्छन् ।

त्यसैले सरकारले विभिन्न छुट दिएर भारतका ठूला निर्माताहरुलाई फिल्म खिच्न आग्रह गर्नुपर्छ ।

यस्तै, १९७० मा भएको खम्पा विद्रोहका कारण चीनतर्फका केही क्षेत्र अझै प्रतिबन्धित सूचीमा छन् । चीनको स्वार्थका कारण हामीले आफ्नो क्षेत्रलाई त्यस्तो सूचीमा राखिरहनु हुँदैन । यस्ता केही विषय सच्याइयो भने सन् २०३० सम्ममा ५० लाख पर्यटक भित्र्याउनु कुनै ठूलो कुरा होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment