Comments Add Comment

पर्यटकको रोजाइमा असन र बुङ्मतीः नयाँ गन्तव्यको खोजीमा विदेशी

ग्रामीण भेग र पुराना बस्तीतिर आकर्षण


१८ माघ, काठमाडौं । काठका ढोका भएका पुराना घर, बाहिर टाँगेको पालमुनिका पसल र तिनै पसलमा ग्राहकको घुइँचो । काठमाडौंवासीका लागि यो कुनै अनौठो दृश्य होइन । देशाटनमा निस्किएका विदेशी नागरिकहरु भने असन बजारको यो दृश्यमा रमाउन थालेका छन्, आजकाल ।

असन मात्र होइन, ललितपुरको बुङमती पनि विदेशी पर्यटकको रोजाइमा पर्न थालेको छ । बाह्य पर्यटकको मुख्य उद्देश्य दुवै क्षेत्रको जीवनशैली बुझ्नु रहेको पाइएको छ ।

सन् २०१७मा आएका पर्यटकमध्ये २० प्रतिशतले यस्तै नयाँ गन्तव्यमा आफूलाई केन्द्रित गरेको पाइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक जोशी बताउँछन् ।

नयाँ–नयाँ गन्तव्य पहिल्याउनु विश्व पर्यटन बजारकै ट्रेन्ड हो, अहिले । र, नेपालमा पनि त्यही ट्रेन्ड देखिन थालेको छ ।

‘लक्जरी र कम्फर्टभन्दा अहिले नयाँ अनुभव हासिल गर्न देशाटनमा निस्किनेहरुको संख्या बढ्दै गएको छ,’ जोशी भन्छन्, ‘नेपालमा पनि वसन्तपुर दरबार क्षेत्रबाट बाहिर निस्केर असन घुम्न खोज्नेहरु बढेका छन् ।’

त्यसको सोझो अर्थ हो, सुविधासम्पन्न र आलिसान भवनहरु भन्दा विदेशी पर्यटकले ग्रामीण भेग र पुरानो शैलीका बस्ती रोज्न थालेका छन् ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)का पूर्वअध्यक्ष मधुसुदन आचार्य असन घुमाउँदा पर्यटकहरु अचम्ममा पर्ने गरेको अनुभव सुनाउँछन् ।

पुराना घरहरुमा बसेको बजार भएका कारण विदेशी पर्यटक असनसँग आकर्षित भएका हुन् । दुवै ठाउँ पुग्नेमध्ये युरोपेली मुलुक र अमेरिकी नागरिक बढी पाइएको छ ।

आचार्यको भनाइमा विदेशमा यस्ता घरहरुको बजार छैन । युरोपेली र अमेरिकीहरु असन पुग्दा अचम्ममा पर्छन् । ‘अनि, यस्ता घरहरु भएका ठाउँमा पनि बजार भनेर रमाइलो मान्दै असन घुम्छन्,’ उनी भन्छन् ।

आधुनिक शहरको बीचमा पुराना घरहरु अब युरोप र अमेरिकामा पनि इतिहास बन्दैछन् । त्यस्ता अधिकांश शहर आधुनिकताको जालोमा बेरिइसकेका छन् ।

विकासमा फड्को मार्दै जाँदा आधुनिक शैलीका भवनकै वर्चश्व बढ्न थालेको छ ।

आचार्य आफैं अग्रसर हुन्छन्, विदेशीलाई असन घुमाउन । भन्छन्, ‘उनीहरु रमाएको देखेर आफैं जाउँ–जाउँ लाग्छ ।’

कोरियाली पर्यटकहरु भने असनप्रति चाख राख्दैनन् । किनकि, उनीहरुलाई यो नौलो विषय होइन । कोरियामा यस्ता बजार संरक्षण गरेर राख्ने चलन अद्यापि छ ।

सीईओ जोशीका अनुसार पछिल्लो समय पर्यटकहरु संस्कृति बुझ्न र नयाँ अनुभव गर्न आतुर देखिन्छन् । खासगरी, अमेरिका र युरोपका अहिलेको पुस्ताले अत्याधुनिक विकास मात्रै अनुभव गरेको छ ।

फरक अनुभव लिन आतुर विदेशी नागरिक तनहुँको बन्दीपुर र चितवनको अमलटारी पनि पुग्ने गरेका छन् । र, त्यस क्षेत्रका होमस्टे फस्टाउनुको कारण पनि त्यही हो । होमस्टे पुगेर गाउँको अनुभव हासिल गर्ने शहरीया आन्तरिक पर्यटक पनि कम छैनन् ।

पर्यटन व्यवसायीहरुले असनमा ठूलो मात्रामा पर्यटकहरु भित्र्याउन सकिने देखेका छन् । राज्यको अग्रसरतामा त्यहाँ पर्यटक मैत्री संरचनाहरु तयार पार्नुपर्ने नाटाका पूर्वअध्यक्ष आचार्य बताउँछन् ।

नयाँ गन्तव्यहरुमा पर्यटक प्रहरी तथा हेल्प डेस्क आवश्यक रहेको उनको भनाइ छ ।

‘सवारी साधन चलाउन निषेध गरिएपछि असन घुम्न पनि सहज भएको छ,’ आचार्य भन्छन् ।

इन्द्रजात्रा, शिवरात्रि र होलीको अवसर पारेर आउने पर्यटकको संख्या बढ्दो क्रममा छ । युरोपेली पर्यटकहरुले नेपालका जात्रा तथा पर्वलाई मन पराउने बोर्डका सीईओ जोशी बताउँछन् । भन्छन्, ‘स्थानीय रहनसहन र फोटोग्राफीका लागि पर्यटक आउने क्रम बढेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment