Comments Add Comment

प्रदेशसभामा भेटिए पूर्वमन्त्रीदेखि वडाध्यक्षसम्मका अनुभवी नेता

सबैभन्दा जेठ डोरमणि पौडेल, सबैभन्दा कान्छी सिर्जना सैंजु

१८ माघ, हेटौंडा । देशको सबैभन्दा ठूलो प्रदेशसभामा सबैभन्दा धेरै अनुभवी र जनप्रतिनिधि भएर लामो समय काम गरेका नेताहरु देखिएका छन् । प्रदेश ३ को पहिलो प्रदेशसभा बैठकमा पूर्वमन्त्रीदेखि पू्र्वमेयर, सभापति र गाविस अध्यक्षसम्मको अनुभव बोकेका सांसदहरु देखिए ।

प्रदेश ३ को प्रदेशसभामा चारजना त पूर्वमन्त्री छन् । अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे पूर्वमन्त्री हुन् भने इन्द्र बानियाँ र राधिका तामाङ पूर्वराज्यमन्त्री हुन् । पूर्व सांसद करीब एक दर्जन छन् ।

यी हुन् पूर्वमन्त्री र सांसदहरु

दुई पटक मन्त्री भइसकेकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य एक पटक राष्ट्रियसभा, एकपटक प्रतिनिधिसभा र एकपटक संविधानसभा सदस्य भइसकेकी वरिष्ठ नेतृ हुन् । उनी मुख्यमन्त्रीको प्रतिस्पर्धामा छिन् ।

त्यस्तै एमालेकै अर्का नेता राजेन्द्र पाण्डे संसदीय र जनप्रतिनिधिको मोर्चामा सबैभन्दा अनुभवी नेता हुन् । एकपटक मन्त्री भइसकेका पाण्डे पाँच पटक सांसद र एमाले संसदीय दलको प्रमुख सचेतक समेत भइसकेका नेता हुन् । पन्चायतकालमै जिल्ला पन्चायत उपसभापति भएका पाण्डे पनि मुख्यमन्त्रीका प्रत्याशी हुन् ।

वामगठबन्धनको प्रदेश सरकार बन्दा प्रमुख विपक्षी दलको नेता बन्दै गरेका इन्द्र बानियाँ पनि पूर्वराज्यमन्त्री हुन् । दोस्रो संविधानसभामा मकवानपुर १ बाट चुनाव जितेका बानियाँ पनि अनुभवी नेता भइसकेका छन् । कांग्रेसबाटै गीता वाग्ले पनि पूर्वसांसद हुन् ।

एमालेका पोलिटव्यूरो सदस्य पशुपति चौलागाई दुई पटक सांसद र संविधानसभा सदस्य भइसकेका नेता हुन् । त्यस्तै रामेश्वर फुयाल पनि एकपटक सांसद र एकपटक जिल्ला विकास समितिको उपसभापति तथा गाविस अध्यक्ष भइसकेका अनुभवी नेता हुन् । फुयाल संसदको राज्य व्यवस्था समितिमा धेरैपटक उपसमितिमा बसेर काम गरेका अनुभवी सांसद हुन् ।

माओवादीबाट पनि धेरै पूर्वसांसदहरु प्रदेशसभामा भेटिएका छन् । पूर्वराज्यमन्त्री राधिका तामाङ प्रदेशसभामा भेटिइन् । उनीसहित शालिकराम जमरकट्टेल, कुमारी मोक्तान, राजकाजी महर्जन पनि पूर्व सांसद हुन् । नयाँ शक्तिका प्रेम तामाङ पनि पूर्वसभासद हुन् ।

वडाध्यक्षदेखि जिविस सभापतिसम्म

१० वर्ष हेटौंडाको मेयर र १५ वर्ष नगरपालिका संघको अध्यक्ष बनेका अनुभवी नेता डोरमणि पौडेल जेष्ठ सदस्यका हिसाबले सभामुख छन् । सम्भवतः प्रदेश संसदको सभामुख उनै हुनेछन् । काठमाडौं महानगरपालिकाका मेयर केशव स्थापित पनि प्रदेशसभा सदस्यको हैसियतले मुख्यमन्त्री दाबी गरिरहेका छन् ।

यी दुई पटक ललितपुर जिल्ला विकास समितिको सभापति र जिविस महासंघको अध्यक्ष भएका माधव पौडेल पनि प्रदेशसभा सदस्य छन् । पूर्व जिविस सभापतिहरु रामेछापका कैलाश ढुंगेल, काठमाडौंका सानुकुमार श्रेष्ठ, सिन्धुपाल्चोकका सरेश नेपाल, नुवाकोटका नारायण खतिवडा पनि यही प्रदेशसभामा छन् । उनीहरु सबै एमालेका हुन् ।

काठमाडौंका कुसुम कार्की, योगेन्द्र संग्रौला, मणिराम फुयाल, केशव पोखरेल, ज्ञानेन्द्र शाक्य पनि गाविस अध्यक्ष, महानगरको वडाध्यक्ष भइसकेको अनुभवी हुन् । कांग्रेसका न्हुच्ेछनारायण श्रेष्ठ पनि जनप्रतिनिधि भइसकेका नेता हुन् ।

मन्त्री, सांसद लगायत जनप्रतिनिधिको भूमिकामा लामो समय काम गरेका अनुभवी नेताहरु प्रदेशसभामा आउँदा यसको गरिमा बढेको प्रदेशसभा सचिवालयमा काजमा खटिएका संसद सचिवालयका उपसचिव अधिराज राईले बताए ।

जनप्रतिनिधिको अनुभव लिएकाहरुको उल्लेख्य संख्या रहेका प्रदेश संसदमा नयाँ र युवा अनुहार पनि उत्तिकै छन् । उमेरको हिसाबले प्रदेशको सबैभन्दा कान्छी सांसद भक्तपुरकी सिर्जना सैंजु हुन् । २७ वर्षीया सैंजु नेपाल मजदूर किसान पार्टीबाट समानुपातिक कोटामा परेकी हुन् । त्यस्तै ३० वर्षीया रामेछापकी रिता माझी सैंजुपछिकी कान्छी सांसद हुन् । उनी राप्रपाकी सांसद हुन् ।

सबैभन्दा जेठा सांसद नेकपा एमालेका ७२ वर्षीया डोरमणि पौडेल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment