Comments Add Comment

काठमाडौंवासीले एकदिने बिदा मनाउने ५ हाइकिङ रुट

काठमाडौं । आकाशबाट हेर्दा काठमाडौं शहर सायद कलात्मक मण्डलजस्तो देखिएला । केन्द्रमा रहेको अस्तव्यस्त शहरलाई घुमाउरो चक्रपथले वरिपरिका हरिया डाँडाबाट छुट्याएको छ । ती डाँडाभन्दा बाहिर अझ रमाइला र स्वर्गीय गाउँ होलान् । तर, भित्रको जनजीवन उकुसमुकुस छ ।

जीविकाका लागि शहरी अस्तव्यस्ततामा खुम्चिन बाध्य अनेकौंले देखेको काठमाडौंको चित्र सबैका लागि करिब समान नै होला । धँुवाधुलो छल्न बेला–बेला पहाडतिर लम्किने रहर पनि होला । तर, बाध्यता त सबैको उही हो, टाढा जाने समय त कसलाई पो छ र ? बरु नजिकैका डाँडाकाँडातिर चढेर हरियालीको प्यास मेट्ने पो हो कि ?

हो, काठमाडौं उपत्यकाकै वरिपरि केही त्यस्ता पदमार्ग (हाइकिङ रुट) छन्, जसले छोटो समयमै हामीलाई लाङटाङ र अन्नपूर्ण पदमार्गमा जस्तो वन्यजन्तु र वनस्पतिका बीच लगेर शान्ति प्रदान गर्छन् । यी रुटहरुबारे थाहा पाउनेबित्तिकै हामीलाई लाग्न सक्छ, कुनै शनिबार बिहान भद्दा कला पस्किने फिल्म हेर्न छाडेर यी डाँडातिर चढ्ने पो हो कि ?

१. सुन्दरीजल–चिसापानी

सुन्दरीजलको सानो बजारबाट शुरु हुने साँघुरो बाटोतिर उकालो चढ्न थाल्नासाथ तपाईंले हाइकिङको मज्जा थाहा पाइहाल्नुहुनेछ । दायाँबायाँ दुवैतिर झ्यालबाहिर पालीमा सुकाइएका फर्सी अनि सुन्तलाका बगैैँचासँगै गाईगोठको समीपबाट तपाईंको यात्रा अगाडि बढ्नेछ ।

तल खोँचबाट बग्ने वागमती शहरको जस्तो फोहोर छैन, सफा, कञ्चन र कल्कल । अलि माथि एउटा झरना भेटिन्छ । मूलखर्क कटेपछि जंगलको यात्रा शुरु हुन्छ र चिसापानी नपुगेसम्म जारी रहन्छ ।


समयः ७–८ घण्टा (बीचमा खाजापानीका लागि विश्रामसमेत)

मुख्य आकर्षणः झरना, सुन्दर गाउँहरु, हिमालको दृश्यावलोकन

स्तरः मध्यम

बजेटः करिब दुई हजार रुपैयाँ

२. टौदह–चम्पादेवी

एकान्तका पारखीहरुका लागि यो एक आदर्श पदमार्ग हुन सक्छ । जाडो याममा जाने हो टौदहमा आएका आप्रवासी चराहरुको अवलोकन गरेर उकालो लाग्नुहोस् । चाल्नाखेलको पक्की सडकबाट शुरु भएको यात्रा ठाडो उकालोतर्फ अगाडि बढ्दै १२ वैशाख ०७२ को भूकम्पमा भत्किएको एउटा गुम्बातर्फ पुग्छ ।

त्यसपछि एउटा सानो गाउँ आउँछ तर फेरि तपाईं जंगलतिर पस्नुपर्ने हुन्छ । अबको डेढ घण्टामा चम्पादेवी मन्दिर नपुगेसम्म तपाईंले मान्छे जातको कुनै प्राणी भेट्नुहुने छैन ।

समयः ३–४ घण्टा

स्तरः लामो नभए पनि निरन्तर उकालो बाटो

मुख्य आकर्षणः घना जंगल र हिमाली दृश्य

बजेटः पाँच सय रुपैयाँ (किनकि, टौदह छाडेपछि खानपिनका लागि केही किन्ने पसल भेटिँदैनन् । पर्याप्त पानी र खाजा आफैंले बोक्नु राम्रो हुन्छ ।)

वैकल्पिक रुटः हिमालयन हाइट रिसोर्टसम्म गाडीमा गएर पैदल यात्रा शुरु गर्न पनि सकिन्छ । साथै, डल्लुबाट साम्ये गुम्बा हुँदै दक्षिणी मोहडाबाट चम्पादेवी डाँडातिर जाने हो भने अलिकति कम समय लाग्न सक्छ ।

३. पानीमुहान–शिवपुरी राष्ट्रिय निकुञ्ज–ककनी

यात्रा रुचाउनेका लागि यो मार्ग एउटा लामो र मिठो सपना हुन सक्छ । पानीमुहानबाट शिवपुरी राष्ट्रिय निकुञ्ज छिर्नेबित्तिकै तपाईंलाई छुट्टै संसारमा पुगेको आभास हुन्छ । चराचुरुंगीका चिर्बिरले तपाईंलाई यात्राभरि साथ दिनेछन् ।

नागी गुम्बा पुगेपछि दोबाटो आउँछ । उकालो लागे तपाईं शिवपुरी डाँडातिर पुग्नुहुन्छ भने ढुंगेछापको बाटो पछ्याउँदा गुम्बा हुँदै अझ घना जंगलतिर पस्नुहुन्छ ।

केही हदसम्म थकाइ लाग्ने गरी हिँडेपछि मात्र तपाईंले विश्रामका लागि सानो चौर भेट्नुहुनेछ । बागमतीको मुहान वागद्वारबाट उकालो लाग्नका लागि तपाईंलाई ठूलै साहस आवश्यक पर्छ ।

तर, त्यसका लागि तयार हुनेबित्तिकै तपाईंले सुन्दर हिमाललाई वारपार १८० डिग्रीमा हेर्न पाउनुहुनेछ । चुचुरामा पुगेपछि ओरालो लाग्दै गर्दा पनि जंगलको घनापनमा कमी आउनेछैन । गुर्जु भञ्ज्याङमा भने तपाईंले केही गाडी पनि भेट्नुहुनेछ । ककनी पुग्न अझै केही समय लाग्नेछ ।

समयः १०–११ घण्टा

स्तरः चुनौतीपूर्ण (करिब ३५ किलोमिटरको यो लामो यात्रा बानी परेकाहरुका लागि मात्र उपयोगी)

मुख्य आकर्षणः लामो समयसम्म संरक्षित जंगल, चराचुरुंगी, जनावर, मानव बस्ती तथा सवारी साधनबिना घण्टौँ बिताउने अवसर

बजेटः दुई हजार रुपैयाँ (निकुञ्ज प्रवेश शुल्क– नेपालीलाई रु. ५७ र विदेशीलाई रु. ५६० । पानीमुहानदेखि ककनीसम्म कुनै पनि पसल नभएकाले पर्याप्त खाजा र पानी बोक्नुपर्छ ।)

विकल्पः पानीमुहानबाट शिवपुरी डाँडासम्म पुगेर फर्किन पनि सकिन्छ ।

४. गोदावरी–फूल्चोकी

काठमाडौँ उपत्यकावरिपरिका डाँडामध्ये सबैभन्दा अग्लो फूल्चोकी पदयात्रीका लागि आकर्षक गन्तव्य रहँदै आएको छ । दूरीमा नजिकै रहेर तथा गोदावरीदेखि चुचुरासम्म घुमाउरो कच्ची बाटो बनाइएको भए पनि यसको चुचुरामा पुग्नु साहसिक मानिन्छ ।

फेदीबाटै यात्रा शुरु गरी करिब एक घण्टा भिरालो बाटो हिँड्नुहोस् । धार्मिक प्रकृतिको हुनुहुन्छ भने नवधारानजिकै फूल्चोकी माताको आशिर्वाद लिनुहोस् ।

यस क्षेत्रमा पनि लामो समयसम्म संरक्षित वन तथा विभिन्न प्रजातिका चरा भेटिन्छन् । चराचुरुंगी नदेखे पनि तिनका मिठा गीतले तपाईंलाई साथ दिनेछन् । भाग्यमानी हुनुहुन्छ भने मृग, भालु तथा चितुवा पनि भेट्न सक्नुहुन्छ ।

एउटा मन्दिर अनि एउटा स्तुप रहेको चुचुरामा पुगेपछि तपाईंले आँखाभरि अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ र गौरीशंकरलगायत हिमशिखर देख्नुहुनेछ ।

समयः ४–५ घण्टा

स्तरः अघिल्लो आधा भाग चुनौतीपूर्ण

मुख्य आकर्षणः चराचुरुंगी, वन्यजन्तु, हिमाल तथा काठमाडौँ उपत्यकाको दृश्यावलोकन

बजेटः पाँच हजार रुपैयाँ (प्रवेश शुल्क– नेपालीलाई रु. १० र विदेशीलाई रु. १००, खाजापानी आफैँले बोक्नुहोला ।)

५. गोदावरी–फूल्चोकी–पनौती

फूल्चोकीको चुचुरामा पुगेपछि प्रायः यात्रीको दिमागले सोच्छ कि काठमाडौँ उपत्यका कंक्रिटको जंगलमा परिणत हुनुअघि कस्तो थियो होला ? यसको जवाफ नजिकैको शहर पनौती पुग्दा पाउन सक्नुहुनेछ ।

फूल्चोकी पुगिसकेपछि पूर्वतिर ओरालो लागेर थप केही किलोमिटर छिचोल्नुभए तपाईं मध्ययुगीन नेवारी वास्तुकलाको राजधानी पनौती पुग्नुहुनेछ ।

कहिले वन तथा कहिले स–साना गाउँबस्ती पार गर्दा यात्रा लामै पनि लाग्न सक्छ । तर, इन्द्रेश्वर महादेव मन्दिरलगायत ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको अवलोकन गर्न पाउँदा तपाईंको थकान हराउँछ । स्थानीय नेवार समुदायको कला तथा सम्पदा जोगाउने क्षमताको प्रशंसा गर्न करै लाग्छ ।

समयः ४–५ घण्टा

स्तरः फूल्चोकीदेखि पनौतीसम्मको बाटो सम्पूर्णतः ओरालो भए पनि केही लामो लाग्न सक्छ र आक्कलझुक्कल पदयात्रा गर्नेका लागि उपयोगी नहुन सक्छ ।

मुख्य आकर्षणः घना जंगल र टाकुरा हुँदै यात्रा गर्ने अवसर, खेतका फाँट र पहाडी हरियाली, गाउँबस्ती, हिमालको दृश्यावलोकन, पुराना नेवार बस्ती, प्राचीन मन्दिर तथा घाट

बजेटः हजार रुपैयाँ

विकल्पः पनौतीबाट फर्किनुको साटो अझ पूर्व लागेर नमोबुद्धसम्म पुग्न पनि सकिन्छ । यसका लागि थप २/३ घण्टा आवश्यक पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment