Comments Add Comment

कान्छी बेगमः मनु ब्राजाकीको अधुरो उपन्यास

 

करिब १५ वर्षदेखि मनु ब्राजाकीले प्रायः मधुशालामा भेटिने गरेका आफ्ना शुभचिन्तकहरूसँग भन्ने गर्दै आउनुभएको थियो, ‘मलाई आफ्नो जीवनको एउटा लामो कथा लेख्ने रहर छ । मानिसले जबसम्म एउटा गतिलो उपन्यास लेख्दैन, तबसम्म उसलाई साहित्यकार नभने पनि हुन्छ । हेर्दै गर्नुहोला म मर्नुभन्दा अघि कान्छी बेगम लेख्छु-लेख्छु । उपन्यास पूरा गरेरै छाड्छु ।

न्वारानको नाम चेतमानसिंह भण्डारी, गाउँलेहरूका लागि श्यामबाबु जन्म १९९९ साल साउन १९ गते सोमबार राशि मेष, नक्षत्र अश्विनी, पोखराका एक जना नाम चलेका ज्योतिषले ८३ वर्षसम्म बाँच्ने आयुसहित चिना बनाइएका नेपाली कथा-साहित्यमा कोसेढङ्गा, उहाँ ६० पुग्न लाग्नुभएको थियो । मनले केही गलेको देखिनुहुन्थ्यो । थुप्रै कृतिका धनी, धेरै पुरस्कारका हकदार, बेस्ट सेलिङ पुस्तकका लेखक, गजलकार, उहाँलाई २०१८ सालमा कक्षा १० को नेपाली विषयको टेस्ट परीक्षामा सोधिएको ‘पिँजडाको सुगाा’को कवितांश ‘गुणका वैरी मानुष जाति…’ को सप्रसङ्ग व्याख्या लेख्दा-लेख्दै २२ पाना भरिएको र तीन घण्टा समय बितेको थाहै भएनछ ।

‘कान्छी बेगम’ त्यस्तै एउटा लामो शृङ्खला हो । कति लामो ? यसको जवाफ उपन्यासकार बन्ने महत्त्वाकाङ्क्षा बोकी प्रस्तुत हुन लाग्नुभएका उहाँलाई नै थाहा भएन । तर, पहिलो उपन्यास कान्छी बेगमको सम्पूर्ण ‘प्लट’ उहाँको मनमा कुनै संवेदनशील चलचित्रको बाकसमा राखिएको तयारी रिलजस्तो घुमेर बसेको थियो । कलमको प्रोजेक्टर चल्दै जाँदा पर्दामा स्त्री-पुरुषको सम्बन्धको गहिरो छायाङ्कन देखिन्थ्यो । ‘अश्लीलता होइन, मान्छेको पारदर्शिता उघ्रँदै जान्छ, पाना-पाना र त्यसपछि रहलपहल बाँकी जे छ जम्मै देखिन्छ,’ कान्छी बेगमबारे उहाँ भन्नुहुन्थ्यो ।

उहाँ मजैले जाँड खानुहुन्थ्यो । ‘मलाई मात्र जँड्याहा देख्छन् मान्छेहरू तर संसारका धेरै मान्छे ‘नशा’ मा डुबेका छन् । क्रमशः लेख्दै जाँदा कान्छी बेगममा म त्यो कुरा कतै बोल्छु,’ त्यसपछि उहाँले एउटा सामान्य ‘गाली’ ओकल्नुभयो र हामीलाई भन्नुभयो, ‘पाखण्डी समाज !’

‘मान्छेहरू बाँचुञ्जेल अवगुण मात्र खोज्छन्, मरेपछि देख्लान् गुणैगुण,’ उहाँभित्र समाजप्रति तीव्र आक्रोश थियो र आफैँप्रति व्यङ्ग्य – ‘मरेपछि सायद प्रतिस्पर्धा सकिएला र मान्छेको मप्रतिको घृणा-विद्वेष समाप्त भएर जाला…!

‘केटीको मामलामा चाहिँ म अगाडि बढिनँ… वेश्यालयहरू थुप्रै चहारेँ, अध्ययनका लागि, अनुभवका लागि होइन । ‘कान्छी बेगम’ मेरो ‘आत्मकथा’ होइन, तर मेरा कतिपय अनुभव यसले बोक्न सक्छ,’ उहाँले भन्नुभएको थियो ।

कान्छी बेगम स्वयम् पात्रको आफूमाथि व्यङ्ग्य हो । तर, त्यो को थिई ? कसरी भई कान्छी बेगम ?

०००

०५७ साल माघ २८ गते शनिबार नेपाल समाचारपत्रको परिशिष्टाङ्क ‘सौगात’मा उल्लेखित प्रोमो सार्वजनिक गर्दै सुरु भएको थियो, कान्छी बेगमको कथा सुनाउने विशेष सिलसिला । नेपाली साहित्यका जिज्ञासु पाठकलाई थाहा छ, यसरी लगातार ४० हप्ता कान्छी बेगमको कथा सुनिसकेपछि अचानक सूत्रधारले, ०५८ साल पुस ७ गते शनिबार एउटा अनपेक्षित सूचना दियो ।

सूचना थियो, ‘मनु ब्राजाकी अस्वस्थ हुनुभयो, तपाईलाई कान्छी बेगमको बाँकी कथा सुनाउन नसक्ने हुनुभयो ।’ तर, स्पष्ट थिएन, पहिलोपटक एउटा लामो कथावाचक भएर प्रस्तुत हुने महत्त्वाकाङ्क्षामा अचानक आइलागेको अस्वस्थता के थियो ? कुन भाइरसले सङ्क्रमित, थिल्थिलो बनायो, नेपाली साहित्यमा थपिन लागेको एउटा विशिष्ट दस्तावेजको फाइल ?

प्रश्न यो होइन कि कान्छी बेगमको कथा किन अधुरो भयो ? प्रश्न यो हो कि कान्छी बेगमको कथा अझ कतिदिनसम्म अधुरै रहिरहला ? अथवा, कहिले आउला त्यस्तो साहसी पथ-प्रदर्शक, जसले बीच बाटोमा छुटेकी कान्छी बेगमलाई उसको लक्ष्यमा पुर्‍याउला ?

यसरी क्लाइमेक्समा जाँदाजाँदै सन्तुष्ट हुन बाँकी आरोहीको नियति, पीडा र मनोदशा नेपाली साहित्यका जिज्ञासु पाठकले व्योहोर्नुपरेको आज १५ वर्ष भयो । पृष्ठभूमिमा कोही स्रष्टा जीवितै छँदा उसलाई सम्मान गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै बगर फाउन्डेसनले यतिबेला मनु ब्राजाकीका बारेमा सोधीखोजी थालेको रहेछ । त्यही सिलसिलामा मलाई ‘सौगात’ परिशिष्टाङ्कको तत्कालीन सम्पादन-संयोजक भएको नाताले सोधियो, ‘कान्छी बेगमको कथा किन अधुरो भयो ?’

त्योबेला म मनु ब्राजाकी दाइसँग धोबीघाटमा एउटै फ्ल्याटमा पेइङ-गेस्ट थिएँ । घरदेखि पुल्चोकको चेतन गल्ली र कहिलेकाहीं धर्मपथसम्म साथसाथै हुन्थें । लाग्थ्यो, सेरोफेरोमा मनु ब्राजाकीले नचाखेको मर्चा बाँकी छैन । तिनै तीनपाने स्वादिला दिनहरूमा बनेको हो, कान्छी बेगमको लामो कथा धारावाहिक रूपमा सार्वजनिक गर्ने योजना ।

फलतः मनु ब्राजाकीलाई प्रत्येक अङ्कमा दुई-अढाई सय रुपैयाँ पारिश्रमिक दिने, उनले कान्छी बेगमको कथा नियमित लेख्दै समाचारपत्रमा उपलब्ध गराउने भद्र सहमति भयो । योजना मेरा हाकिमहरू कपिल काफ्ले र पुस्करलाल श्रेष्ठलाई पनि मनपर्‍यो । सम्भवतः नेपाली साहित्यमा भूतो न भविष्यति, कुनै बेस्ट-सेलर लेखकबाट उपन्यास लेखाउँदै-छाप्दै गरिएको एउटा नितान्त भर्जिन प्रयोग थियो यो ।

तर, लेखाइ जतिसुकै राम्रो, मन छुने भए पनि बेला-कुबेला मातेर कार्यालय आउने, रचना छाप्नुअघि नै पारिश्रमिक माग्ने, एउटै सर्तमा टिकिरहन गाह्रो हुने आदि गुणहरूसँग सम्पादकहरू परिचित थिए । त्यसैगरी, पारिश्रमिक माग्न जाँदा गएको दिन यो मिलेन, त्यो मिलेन भन्दै फर्काइदिने, एक वर्ष पुगेपछि समय सकियो भनेर दिँदै-नदिने, लेखक-कविलाई सकेसम्म पारिश्रमिक दिन नपाए हुन्थ्यो भनेर सोच्ने मिडिया हाउसहरूको मनोरोगसँग मनु ब्राजाकी पनि भलिभाँती जानकार थिए ।

यस्तो धरातलीय यथार्थबीच कान्छी बेगम लेखन सिलसिलाले निरन्तरता पाउने कुरामा सम्पादक कपिल काफ्ले सुरुमै आशङ्कित थिए । एकदिन छाप्न दिएको गजलको तत्काल पारिश्रमिक नदिए फिर्ता लैजान्छु भन्दै टेबुलबाटै कागज तानेको घटना खेपेका थिए उनले । मलाई भने मनु ब्राजाकीबाट यो उपन्यास लेखेर पूरा गराउन सक्छु भन्ने विश्वास थियो । खासगरी नेपाली साहित्यमा एउटा नौलो र राम्रो काम गरेको जस पाउने लालसा थियो ।

तर, उत्कर्षमा पुग्नुअगावै परिदृश्य बदलियो । ३५ अङ्क जति छापिइसकेको थियो । थप केही अङ्कका लागि छाप्न पुग्ने प्लेन-म्याटर हातमा थियो । कालगतिले गर्दा म घर फर्किनुपर्ने भो । फर्कनुअघि व्याकुल पाठकलाई बाँकी म्याटर बरबुझारथ गर्दै भनेको थिएँ – ‘कृपया, यदि यसलाई पूरा गर्न सकियो भने नेपाली साहित्यमा हामीद्वारा एउटा ऐतिहासिक काम हुनेछ ।’

‘हुन्छ, हुन्छ, यस्तो राम्रो काममा म किन चुक्थें !’ मित्र व्याकुललाई समीचीन दायित्वबोध भएको थियो ।

तर, हुने हुनामी टारेर टरेन ।

०००

त्यसयता, बाग्मतीमा चोभार गल्छी हुँदै कति ढल मधेसतिर बग्यो ? कसैले हेक्का राखेन । बल्ल डेढ दशकपछि खरिबोटको छेऊमा बाँस फुलेको सुन्न पाइयो । मनु ब्राजाकी मनपराउने शुभेच्छुकहरूले कान्छी वेगम के भई, कहाँ गई ? भनेर चासो राखे । उनीहरूले मलाई सोधे, ‘साँच्ची, के भयो हँ ?’

खासमा त्यो बेला सूत्रधारले सूचना के दिएको थियो, के भएको थियो ? मलाई केही थाहा थिएन । पछि उधिन्दै जाँदा थाहा भयो, मेरो जुन काम गर्दा पनि दिल लगाउने र अरू प्रायः सरोकारवालाहरूले दिमाग लगाउने बानीको फाइदा-बेफाइदा । धन्न ! ०७२ वैशाख १२ को भुँइचालोले सबैथोक नास भइसकेको रहेनछ ।

त्रिवि पुस्तकालयको धूलो टक्टक्याउँदा ३८ औं बाहेक सबै पत्रहरू भेटिए । नभेटिएको पत्रबाट चाहिँ पक्कै पनि कोही विद्वान चोर अनुग्रहित भएको हुनुपर्छ ।

०००

यहाँनेर, तपाईहरुको सजिलोका लागि कान्छी बेगमको कथा अलिकति रिक्याप गरुँ ।

रातभरिको अनिँदो र थकाइको भारी बोकेर मदन काठमाडौंको कलङ्की चोकमा बसबाट ओर्लियो । सरला अर्थात् कान्छी बेगम वीरगन्जदेखि सँगसँगै थिई । उसले चिनी, मदनले चिनेन ।

चिनी मात्र होइन, ऊ मदनसँग लिसोझैं टाँसिई । टेम्पोमा टाँसिँदै तीनकुने, मदनको घर गई । गुरु-चेलीको साइनो थियो । घरमा श्रीमती मदन अर्थात् उर्मिलाले थाहा नपाउने गरी आफू त्यही सानीकान्छी भएको, जसलाई गाउँको स्कुलमा शिक्षक हुँदा मदनले नाम परिवर्तन गरेर सरला बनाइदिएका थिए, प्रमाणित गर्न सरलाले निःसङ्कोच कुर्ताको अघिल्तिरको तीनवटै टाँक फुकालेर देब्रेपट्टकिो स्तन देखाइदिई । त्यहाँ, ब्रेसियरले ढाक्न नसकेको भागमा एउटा ठुलै कालो कोठी टल्किरहेको थियो ।

कथा-कथन यहाँसम्म पुग्दा मदनले सरला कसरी कान्छी बेगम भई भन्ने थाहा पाएको थिएन । त्यसपछि उर्मिलालाई आफूले उसको लोग्नेमाथि कुनै हस्तक्षेप नगर्नेमा आश्वस्त पार्दै घरसम्म जाने बाटो देखाइदिन, गाइड बन्न मदनलाई राजी गराई । आमालाई गोडामा ढोगी र मदनलाई जावलाखेल चिडियाखाना लिएर गई । चिडियाखानामा बर्डस् सेक्सननजिकै पुगेपछि मदनले सरलालाई सोध्यो –

‘तिम्रो बिहे भैसक्यो, सरला ?’

‘कोसित ?’

‘मलाई के थाहा, कोसित ?’

‘एउटा कुरा त तपाईलाई पक्कै थाहा छ,’ सरलाले मदनसामु उभिएर आँखामा हेर्दै भनी, ‘तपाईसित मेरो बिहे भएको छैन भने मेरो बिहे भएकै छैन ।’

त्यसपछि, गुरुसँग चेली नारिएर बसी र आफू कान्छी बेगम हुनुको कारण सुनाउन थाली ।

यसपछि फ्ल्यासब्याक सुरु हुन्छ । सानीकान्छीको कथा ।

यता यो गोठको अँध्यारो कुनामा सानीकान्छीको जन्म भयो । उता त्यो गोठमा पण्डित लालप्रसादको भैंसीले पाडी ब्याई । सानीकान्छी जब सूँडिनी बूढीका हातमा आई उपस्थित टोलभरिका आइमाईहरू थक्थकाउन थाले । लालप्रसादको भैंसीले पाडी ब्याएको घटनाले भने चारैतिर खुसीयाली छायो । धामी-झाँक्री, सुढिनी सबै यतै लाग्छन् । यता सानीकान्छीकी आमा, बिर्खमानकी घरिना एक-घुट्को पानी पनि खान नपाई मर्छे । कथानक अगाडि बढ्दै जाँदा सन्तु परियारकी स्वास्नीले सानीकान्छीलाई दूध चुसाउँछे ।

बाबुकै पालादेखि मर्दा-पर्दा काम लाग्ने छिमेकी पण्डित लालप्रसाद र ‘जए महाकाली ! खप्परवाली ! हुम्-फट्-चट् !’ भन्दै डुक्रिने सैनज्यू धामीहरू त्यसको विपक्षमा र उसलाई आमाको कोखबाट झिकेर माइलीको काखमा राखिदिने सुँढिनी बुढी पक्षमा उभिन्छन् । सोझो बिर्खमान चेपुवामा पर्छ । परिदृश्यमा पानवीरे कान्छो, जगनाथ जस्ता टोलेहरू आउँछन्, जो तत्कालीन सामन्ती अवशेषलाई पृष्ठपोषण गर्ने अनुयायीको भूमिकामा हुन्छन् ।

सँगसँगै सानीकान्छीकी आमाको मलामी जुटाउने, काजक्रिया गर्ने सन्दर्भ अगाडि आउँछ । त्यसका लागि बिर्खमानसँग खर्च छैन । भएको पाखो र करेसाबारी तमसुकमा हालेर बिर्खमानलाई पण्डित लालप्रसाद ऋण दिन सहमत हुन्छन् । पण्डित-बाजेको इशारा पाएर पण्डितनी बजै भित्र पसिन् र फर्किएर एउटा हजारी-नोट टाढैबाट चङ्गा उडाएझैं बिर्खतिर उडाइदिइन् ।

लाम्चोगरी पट्टिएको लामो नोट हावामा तरेलिँदै आफूतिर आएको देखेपछि बिर्खले टयाप्प समायो र हत्केलामा फिँजाएर ओर्काइ-फर्काई हेर्न थाल्यो । किनभने उसले हजारको नोट टाढैबाट अर्काको हातमा देखेको थियो, आफ्नो हातमा नजिकबाट देखेको थिएन ।

०००

अन्तिम पाना सुनेपछि मनु ब्राजाकीले सोधे – ‘यत्ति हो ?’

‘हो !’

‘बल्ल मुक्ति पाएँ यो गनगन सुन्नबाट ।’

‘कस्तो हुँदोरहेछ थाहा पाउनुभो आज ? हामीलाई मन नलाग्दा-नलाग्दै पनि सुन्नुपर्दा कस्तो हुन्थ्यो ?’ मैले ब्राजाकीलाई विस्मृतिमा पुगेको कथा स्मरण गराउँदै गर्दा भाउजू ज्ञानुलाई मनु दाइका रचनाहरू जबर्जस्ती सुन्नु पर्दाका दिनको सकस सम्झना आएछ ।

मेरो मनमा कान्छी बेगमको अधुरो कथासँग जोडिएर केही जिज्ञासाहरू तुल्बुलाइरहेका थिए । सरलाले सहरमा कसलाई खोज्दै थिई ? लोग्नेले सन्तान जन्माउन किन मानेन भनी उर्मिलाले ? सरलाका सन्तान कति जना थिए ? छोरा कि छोरी ? उर्मिलाले तिम्रो भन्नुको अर्थ उनीहरूको लभ म्यारेज थियो ? सरलाको लोग्ने को थियो ? सरलाले किन आˆनो घर छोडी ?

आदि-इत्यादि जिज्ञासाहरूको घेराबन्दीमा अन्तर्वार्ता सुरु भयो ।

‘यति कथा सुनाएपछि तपाईलाई कस्तो लाग्यो ?’

यो कथा सुनेपछि मलाई के अनुमान लाग्यो भने, सरला अर्थात् सानीकान्छीको जन्मको विवरण त आयो, अब जन्मपछि त्यसको बाल्यकालको विवरण आउँछ, किशोरावस्थाको यौन विवरण आउँछ । अनि, किशोर अवस्थामा ऊ पढ्न स्कुल कसरी जान्छे ? जबकि उसको बाउको आर्थिक हालत त्यस्तो छ ! त्यसैले यो कथामा अनेक उपकथाहरू जोडिन्छन् जस्तो लाग्छ ।

त्यसपछि के कारणले गर्दा ऊ सहर भित्रिई ? उसको बिहा कोसित भयो ? कि, बाध्यतावश भयो ? त्यो कुरा पनि सक्किएपछि तेस्रो फेज आउँछ । शिक्षक मदन र उसको सम्बन्ध कस्तो हुन्छ ? अनि, अन्त्य कसरी हुन्छ ? किनकि मेरा कथाहरूमा जस्तो प्रकारको अन्त्य देखापर्छ, त्यो अनुसार भन्ने हो भने कान्छी बेगमको अन्त्य पक्कै पनि अप्रत्यासित नै हुन्छ । आशा गरिएजस्तो हुँदैन ।

‘सरला कसरी कान्छी बेगम भई ?’

यो पनि एउटा रहस्य छ । त्यो पक्कै मैले केही सोचें हुँला । किनभने बेगम भन्नुको अर्थ, त्यो मुस्लिम शब्द यसकारण आयो कि यौन व्यवसायमा कसैले उसलाई होमेको हुनुपर्छ । हुनसक्छ उसको बाउद्वारा वा उसको पतिद्वारा होमिएको होस्, त्यसकारणले ऊ कान्छी बेगम भई । बेगम भन्नु फुक्र्याउने शब्द हो । फारसी या उर्दूमा श्रीमतीलाई बेगम भनिन्छ । तर, सबैकी साझा श्रीमती भनिँदा वेश्यालाई पनि बेगम भनेर फुक्र्याइन्छ ।

‘कान्छीजस्तो मौलिक नेपाली शब्दसँग उर्दूको बेगम शब्द जोड्नुको अर्थ ?’

जसरी नेपाली युवाहरूलाई भारतमा बहादुर भनेर मूर्खको अर्थमा पनि लिइन्छ, त्यसैगरी त्यहाँ नेपाली वेश्याहरूलाई कान्छी भनेर होच्याएर बोल्छन् । मैले त्यसबेलामा लेख्दा कान्छी वेगम कुन अर्थमा प्रयुक्त भयो यो उपन्यासमा ? त्यसको अहिलेसम्म चर्चा गरिएको छैन ।

मलाई लाग्छ, सरलाको विद्यार्थी जीवनमा भेटघाट र आत्मीयता भएपछि मदन त्यहाँबाट सरुवा भएर गयो । सरुवा भएर गए पनि उसले सरलालाई लिएर गएन । उसलाई लिएर जाने परिस्थिति भएन अथवा यौन शोषण गरेर छोडेर हिँड्यो । बाउ सोझो र गरिब थियो । आमा ऊ जन्मिनासाथै मरिसकेकी थिई । यो अवस्थामा कसले उसलाई पढायो ? त्यहाँ एउटा नयाँ कथाको माग हुन्छ । साथसाथै, उसलाई कान्छी बेगम कसले बनायो ? उसलाई भारतमा लगेर वेश्यावृत्ति गर्न कसले बाध्य गरायो ? एक त वेश्या, दोस्रो कस्ती वेश्या, जसकी पनि स्वास्नी हुने वेश्या । यस अर्थमा त्यो कान्छी बेगम हो ।

‘सरला वीरगञ्जबाट बस चढेर काठमाडौं आउँछे । उसको बिहे वीरगञ्जतिरको कुनै केटासँग भएको अनुमान गर्न सकिन्छ ?’ या वीरगञ्जतिर घर भएको हुनुपर्छ या भारतमा बेचिएर, फर्केर आएकी हुनुपर्छ । फेरि भारतमा बेचिन टाढा जानै पर्दैन । त्यही वीरगञ्ज छेउको रक्सौलमा वेश्यालयहरू छन् । बेतियामा पनि नेपालीहरू छन् । पहिला बेतिया नेपालमै थियो । तर, यो प्रसङ्गमा मैले के सोचेको थिएँ, त्यो अहिले केही पनि सम्झना छैन ।

‘एक ठाउँमा सरलाले आफ्नो लोग्ने सम्झी भनिएको छ । को थियो त्यो लोग्ने ?’

मलाई लाग्छ कि त्यो लोग्ने नै भँडुवा हो । त्यो एउटा भिन्दै कथा हुन्छ त्यहाँ । त्यो कथा संलग्न नगरिकन कान्छी बेगमको अर्थ खुल्दैन । त्यसले कान्छी बेगम बन्ने परिस्थिति मदनकै सम्बन्धबाट उत्पन्न भएको भन्ने पनि आउँछ । उसको समाजमा आर्थिक स्थिति के थियो भन्ने कुरा उसको जन्मकै प्रसङ्गबाट आइहाल्यो । यसप्रकार हेर्दा आम सामान्य नेपाली जनजीवन जुन थियो, त्यो अहिले आएर कुन स्थितिमा पुगेको छ ? भनौं न नेपालको अस्तित्व, पारम्परिक अवस्थाप्रति विद्रोह गर्ने परिस्थिति हुन्छ यसमा ।

नेपाललाई ‘रन्डी’ हरूको देश भनेर भन्छन् । नेपाललाई ‘रन्डी’हरूको देश बनाउने परिस्थितिहरू के-के थिए ? कसरी उत्पन्न भो त्यो परिस्थिति ? यहाँको दारुण अनि विपन्नताको फाइदा कसले लिए ? यो कथा जबसम्म त्यसमा जोडिँदैन, तबसम्म यो उपन्यास पूरा हुँदैन । मलाई लाग्छ, मेरो देशको दरिद्रता र मेरो देशलाई रन्डीको देश भन्नु, मेरो देशलाई भडुँवाको देश भन्नु, मेरो देशलाई भाडाका टट्टुहरूको देश भन्नु, के कारणले यो भयो त भन्ने विषयमै आधारित रहेर मैले त्यो उपन्यास लेख्न खोजेको हुँ । हाम्रो देशलाई वेश्या र भाडाका टट्टु उत्पादक देश भनिनुपर्ने परिस्थितिहरू कसले नेपालमा उत्पन्न गर्‍यो ? ती कुन तत्व हुन् ? तिनलाई नङ्ग्याउनका लागि नै मैले यो उपन्यास लेख्न खोज्दै थिएँ ।

‘सरला र मदन चिडियाखानाभित्र पसेका थिए । सरला आफ्नो कथा सुनाउन लागेकी थिई । सरलाले आफ्नो कथा भनिसकेपछि उनीहरू त्यहाँबाट निस्केलान् । निस्केर कता जान्छन्, के गर्छन् ?’

कान्छी बेगमको मूल कथा उसको जन्मबाट सुरु भएको छ । कान्छी बेगम त अहिले भर्खरै जन्मिएकी छ । त्यस्ता कान्छी बेगमहरू नेपालमा कसरी जन्मिँदा रहेछन् भन्ने त्यसले देखाइरहेछ, अहिले प्रारम्भले । नेपालमा कान्छी बेगमहरू यसरी नै जन्मिँदा रहेछन्, यही घोर दरिद्रताले जन्माउँदो रहेछ । र, यो दरिद्रताको नियामक को हो ? दरिद्रता बनाउने नियामक तत्व के हो ? त्यसको त अहिले खुलासा भएकै छैन । यो लेख्न खोजिएको मूल आधार त्यही हो । किनकि देश दरिद्र हुनुमा कसको हात छ ? यो नदेखाइकन त्यो कान्छी बेगमको कथाले पूर्णता पाउँदैन ।

अनि, कान्छी बेगमको साथसाथै ती भँडुवाहरू पनि आउँछन् । ती भँडुवाहरूका साथसाथै ती भाडाका टट्टुहरू पनि आउँछन्, जो अहिले देश-विदेशमा बेचिइरहेका छन् । कोही इङ्ल्यान्डमा बेचिउन्, कोही इन्डियामा बेचिउन् । चाहे खाडीमा बेचिउन्, चाहे ब्रुनाईमा ।

अहिले इन्डियाले गोर्खे सैनिकहरूलाई ब्रनाईमा बेच्छु भनिरहेछ, भाडामा दिन्छु भनेर । आखिर नेपाल देश यति भ्रष्टतामा किन उत्रियो ? यसको मूल कारण के हो ? यसको जरो के हो ? कान्छी बेगम त एउटा उपन्यास लेख्ने आधारशिला मात्रै बन्यो । मैले यी सम्पूर्ण कुरा समाविष्ट गरेर लेख्छु भनेर त्यो बेलामा मैले प्रयत्न गरेको हो ।

तर, अब म यो पूरा गर्ने स्थितिमा छैन । एक त ती कथानकहरू जम्मै बिर्सिसकें । सम्झनामा पनि छैनन् । र, दुई-दुईपल्ट मलाई हाइ ब्लडप्रेसरले गर्दा ‘स्ट्रोक’ भएको हुँदा मेरो स्मरणशक्ति क्षीण भएको छ । एक प्रकारले भन्ने हो भने म मस्तिष्कघातले गर्दा विभ्रमको स्थितिमा छु । पछिल्लो समय एउटा लेख लेखौं भन्ने इच्छा हुँदाहुँदै पनि लेख्न सकिरहेको छैन । नेपालका पहाडे बाहुनहरूलाई आर्य भनेर अहिले कोकोहोलो मच्चाइएको छ । यस्तो मपाइँवाद त ब्राहृमणवादबाटै सुरु भएको हो । त्यही मपाइँवादले अहिले आफूलाई आर्य भनेर हिँडिरहेछ । मैले त्यही लेख्न खोजेको छु आखिर को हुन् आर्य, को हुन खस ?

‘तपाईलाई यस्तो गम्भीर विषय सम्झना छ । तर, कान्छी बेगमको कथाचाहिँ किन सम्झना नभएको ?’

यो कुनै गम्भीर विषय भनेर मलाई याद रहेको होइन । यो चाहिँ एउटा लेख लेखौं कि भनेर म यसै चिन्तनमा रहिराखेको हुनाले याद भएको । कान्छी बेगम धेरै वर्ष पुरानो कुरा भयो । त्यो मेरो चाहनाअन्तर्गतको कुरा पनि होइन । किनभने म मूलतः कथाकार हुँ । गजल जतिसुकै लेखे पनि म आफूलाई कथाकार नै भन्न रुचाउँछु । मैले नेपाली साहित्यमा जे पनि योगदान गरेको छु, कथाकै माध्यमबाट गरेको छु ।

‘कान्छी बेगम, मदन, उर्मिला वा यो उपन्यासका कुनै पात्रलाई तपाईले भेट्नुभएको छ ?’

यिनीहरूलाई पूर्णतः काल्पनिक भन्न मिल्दैन । हाम्रो समाजमा यस्ता पात्रहरू प्रशस्तै छन् । अर्को कुरा, पूर्णतः काल्पनिक पात्र भएको भए मैले तिनीहरूको सम्पूर्ण चरित्रको विषयमा लेख्नसक्नु सम्भव हुने थिएन । त्यसो हुनाले सामान्यतयाः चाहे उपन्यासकार होस् या कथाकार होस्, उसले पात्रको आˆनो ढङ्गले नामकरण गरे पनि त्यो पात्र, त्यो चरित्र समाजमा जीवित नै रहेको हुन्छ ।

‘कान्छी बेगमको कथा अब पूरा हुन्छ कि हुँदैन ? के हुन्छ यो अधुरो कथा ?’

कान्छी बेगमको कथा त अब म पूरा गर्न सक्दिनँ । यदि कसैले यसलाई अगाडि बढाउँछ भने उसले आफ्नो ढङ्गले अगाडि बढाउन सक्छ । किनभने मैले के सोचेको थिएँ, त्यो अरूलाई थाहा हुन सक्दैन । र, अब यो कथा पूरा गर्न चाहनेले के सोचेको हुन्छ त्यो पनि म जान्दिनँ । त्यसमा मैले हस्तक्षेप गर्ने कुरा पनि आउँदैन । त्यो त अब जसले त्यसलाई पूरा गर्न चाहन्छ, उसैको इच्छा र अधिकारको कुरा हो ।

‘तपाईले भनेजस्तो हाम्रो देशलाई वेश्या र भाडाका टट्टु उत्पादक देश बनाउने तत्वलाई नङ्ग्याउन सरलाले के गर्छे ?’

त्यसबारेमा म अहिले एक शब्द पनि बोल्न चाहन्नँ । किनकि त्यो बेलामा मैले के सोचेको थिएँ ? मैले यो निस्कर्ष मात्रै तपाईलाई भनेको हो कि मैले के कारणले यो लेख्न खोजेको थिएँ । म सानो चित्तले, मात्र मनोरञ्जनका लागि मदनले सरलालाई यौन खेलौना बनाएर छोडेर हिँड्यो, त्यत्तिमा कथा टुङ्गियो भने जस्तो सस्तो खालको कथानक लेख्ने मान्छे होइन । म कथा त त्यस्तो खालको लेख्दिनँ भने उपन्यास त्यस्तो खालको लेख्ने कुरै आउँदैन । निरुद्देश्य, यौनिक दुराचार मात्रै लेख्नु हो त्यो । यौनिक दुराचार लेख्दा पनि एउटा सामाजिक रूपमा, सम्पूर्ण देशै बद्नाम हुने रूपमा किन छ त ? त्यो लेख्नु पो गम्भीर कुरा हो ।

‘कान्छी बेगमले अन्तिममा के गर्छे ? उसको नियति के हुन्छ भन्ने त बाँकी नै छ नि फेरि ?’

त्यो अनुमान म अहिले गर्न सक्दिनँ । किनभने मैले जे उद्देश्यले त्यो लेख्न खोज्दै थिएँ, त्यसमा म अहिले स्पष्ट छैन । त्यसलाई मार्न पनि सकिन्छ । त्यसलाई पुरानो ठाउँमा फर्काउन पनि सकिन्छ । त्यो त अब लेख्ने जसले हो, उसले सोच्ने कुरा हो, मैले होइन । त्यसलाई जुन अर्थ दिएर लेखे पनि हुन्छ ।

०००

सारमा, प्रश्न यो होइन कि कान्छी बेगमको कथा किन अधुरो भयो ? प्रश्न यो हो कि कान्छी बेगमको कथा अझ कतिदिनसम्म अधुरै रहिरहला ? अथवा, कहिले आउला त्यस्तो साहसी पथ-प्रदर्शक, जसले बीच बाटोमा छुटेकी कान्छी बेगमलाई उसको लक्ष्यमा पुर्‍याउला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment